सल्यानमा किसानले लगाएको बर्खे आलुमा पुतली किराको प्रकोप देखिएको छ । बनगाड कुपिण्डे नगरपालिका– १२ निगालचुलाका ६८ घरले लगाएको करिब १७ हेक्टर आलु खेतीमा पुतली किराको प्रकोप देखिएको हो । भण्डारणका क्रममा देखिने पुतली किरा अहिले आलुबारीमा देखिन थालेपछि किसान चिन्तित भएका छन् । आलु रोप्ने समयमा पानी नपरेको र अहिले किराको समस्या देखिँदा उत्पादन घट्ने सम्भावना देखिएको निगांलचुलाका किसान जितबहादुर ओलीले बताए ।
तीन सय ४० रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको आलु खेतीमा रोग किरा देखापरेको बनगाड कुपिण्डे नगरपालिका कृषि विकास शाख प्रमुख नारायण बेलवासेले जानकारी दिए । आलुको बिउमा भएको लार्भा वयस्कमा परिणत हुन गई वयस्क पुतलीले आलुबालीको पातमा फुल पारी सोबाट निस्किएको लार्भाले आक्रामक रूप लिएको उनको भनाइ छ । आलुखेतीमा किराको प्रकोप देखिएपछि कर्णाली प्रदेशको एकीकृत कृषि प्रयोगशालाबाट विज्ञसहितको टोलीले स्थलगत अनुगमन गरी उपचार सुरु गरेको छ ।
तत्काल समस्या समाधानका लागि एकीकृत कृषि प्रयोगशाला सुर्खेतले निम तेल, पिटिएम ल्युर र विषादी छर्न स्प्रेयर ट्यांकीसमेत किसानलाई निःशुल्क प्रदान गरेको छ । प्राविधिक निरीक्षणपछि किराको प्रकोप रोकथामका लागि आवश्यक उपाय अपनाउन सुझाव दिइएको छ । किसानलाई सचेत गराउँदै कृषि प्राविधिकहरूले रोग फैलन नदिन खेतमै क्षतिग्रस्त बोट हटाउने, पुराना बिउ प्रयोग नगर्ने र उचित जैविक नियन्त्रण उपाय अपनाउने सुझाव दिएका छन् ।
निगांलचुलाका अधिकांश किसानको जीवनयापन कृषिमा आधारित रहेकाले यस्तो समस्या दीर्घकालीन रूपमा दोहोरिन नदिन उचित बिउ छनोट, भण्डारण विधि सुधार र वैज्ञानिक कृषि पद्धतिमा ध्यान दिनुपर्ने आवश्यकता रहेको कृषिविज्ञको भनाइ छ । कर्णाली प्रदेशको एकीकृत कृषि प्रयोगशालाका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकायाले जलवायु परिवर्तनको प्रत्यक्ष असरले यो समस्या देखापरेको बताए । पुतली किराको प्रकोपसँगै फेद काट्ने किराको पनि समस्या देखिएको उनको भनाइ छ ।