पर्सामा इँटाभट्टाको खाडलमा डुबेर दुई बालिकाको मृत्यु

सोमबार, १५ बैशाख, २०८२
डिजिटल संस्करण

पर्साको पर्सागढी नगरपालिका–५, बहुअर्वामा इँटाभट्टाको खाडलमा जमेको पानीमा डुबेर सोमबार दुई बालिकाको मृत्यु भएको छ । स्थानीय रुस्तम मियाँकी ५ वर्षीया छोरी नेहा खातुन र मुख्तार मियाँकी ५ वर्षीया छोरी अफसाना खातुनको हिरा इँटाभट्टाले बनाएको खाडलमा डुबेर मृत्यु भएकोे पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।

लम्सालका अनुसार ती बालिकाहरू छिमेकीसँगै सोमबार घरनजिकैको खेतमा बाख्रा चराउन गएका थिए । खाडलमा जमेको पानीमा डुबेका उनीहरूलाई नारायणी अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको हो । मृतक बालिकाको शव पोस्टमार्टमपछि परिवारले बुझेका छन् ।

यस क्षेत्रमा इँटाभट्टाका लागि चार/पाँच फिटसम्म गहिरो खाडल बनाउने गरिन्छ । खाडल नपुर्दा वर्षात्को पानी जम्ने गरेको लम्सालले बताए । ‘आइतबार रातिको पानी जमेको रहेछ, इँटाभट्टाले बनाएको खाडल पुरेको भए घटना हुने थिएन,’ उनले भने ।

पर्सागढी नगरपालिका–५ का वडाध्यक्ष चुनु मिश्राले पनि इँटाभट्टाका सञ्चालकको लापरबाहीले  बालिकाहरूको ज्यान गएको आरोप लगाए ।  इँटाभट्टाका सञ्चालकले भट्टाको पानी बाहिर निकाल्ने वेला लगाएको जेसिबी स्काभेटरले झन् खाल्डो भएकाले घटना घटेको बताए । 

पानीमा डुबेर १० महिनामा १९ जनाको मृत्यु 
पर्सामा १० महिनामा पानीमा डुबेर १९ जनाको मृत्यु भएको छ । पर्सा प्रहरीका अनुसार गत असारदेखि हालसम्म पानीमा डुबेर  ११ बालबालिकासहित १९ जनाको ज्यान गएको हो । 

गत आव ०८०/८१ मा पानीमा डुबेर १० बालबालिकासहित १५ जनाको ज्यान गएको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले बताए । त्यसअघि ०७९/८० मा पानीमा डुबेर चारजनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ । ०७८/७९ मा भने १० बालबालिकासहित १६ जनाको ज्यान गएको थियो । 

See More On

सुझावित समाचार