सूचीकृत हुन मेटाको अटेरी : साताभित्र फेसबुक दर्ता प्रक्रियामा आउने सञ्चारमन्त्रीको विश्वास

सामाजिक सञ्जाल प्लाटफर्ममध्ये सबैभन्दा धेरै फेसबुक चलाउने १.३५ करोड र म्यासेन्जर चलाउने १.०८ करोड छन्

शनिबार, १३ बैशाख, २०८२
डिजिटल संस्करण

फेसबुकको माउ कम्पनी मेटा सूचीकृत हुन अटेरी गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक साताको म्याद दिएर दर्ता प्रक्रियामा आउन आग्रह गरेको छ । विगतमा टिकटकलाई प्रतिबन्ध लगाएर सूचीकृत गराउन सफल भइसकेकाले फेसबुक दर्ता प्रक्रियामा सामेल हुन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वास व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाललाई गत आइतबारसम्म सूचीकरण हुने समयसीमा तोकिएको थियो । तर, मेटा सूचीकरण हुन नआएपछि थप एक साताको समय थपिएको छ । यसबिचमा मेटाका प्रतिनिधिहरूले काठमाडौं आएर सञ्चार मन्त्रालयका अधिकारीहरूसँग भेटसमेत गरेका छन् । तर, उनीहरूले दर्ता प्रक्रियामा आउनेबारे स्पष्टता दिएका छैनन् ।

राष्ट्रिय सूचना आयोगले शुक्रबार आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक–पटक सूचना जारी गरे पनि नमानेको गुनासो गरे । तेस्रोपटक जारी गरेको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै उनले अबको सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउन बाध्य हुने बताए । मेटाले नेपालमा दर्ता भएर कर तिर्नुपर्ने मन्त्री गुरुङको भनाइ छ ।

‘मेटा भन्नेबित्तिकै फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्रामलगायत बुझिन्छ । यी सबै अहिले निर्बाध चलिरहेका छन् । ठुलो जनसंख्याले चलाइरहेका कारण प्रत्येक घण्टामा यही समाजबाटै दुई–चार हजार पैसा गइरहेको होला मेटाको कार्यालयमा,’ उनले भने, ‘नेपालमा सबैभन्दा बढी प्रयोग हुने फेसबुकले  पलपलमा हाम्रो पैसा लगेको छ । हाम्रो पैसा त्यसरी लुट्ने ? यहाँ हामीसँग दर्ता हुनुपर्दैन, कर तिर्नुपर्दैन ?’ उनले भने । हालसम्म टिकटक, भाइबर र विटक मात्रै दर्ता भएको पनि उनले जानकारी गराए ।

११ मंसिर ०८० मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका लागू गरेको थियो । विद्युतीय कारोबार ऐनको व्यवस्थालाई टेकेर मन्त्रालयले यस्तो निर्देशिका लागू गरेको थियो । नेपालमा सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालन गर्ने कम्पनीले मन्त्रालयमा सूचीकरण गर्नुपर्ने उल्लेख छ । 

तर, सामाजिक सञ्जाल प्लाटफर्ममध्ये सबैभन्दा बढी एक करोड ३५ लाख फेसबुक प्रयोगकर्ता छन् । त्यस्तै, म्यासेन्जर चलाउने एक करोड आठ लाख र इन्स्टाग्राम चलाउने ३६ लाखभन्दा बढी रहेको सरकारी तथ्यांक छ । प्रयोगकर्ता धेरै भएकाले कानुन नमानेको कारण देखाएर सरकारले तत्कालै प्रतिबन्ध लगाउने हिम्मत गर्न सकेको छैन । 

See More On

सुझावित समाचार