जसपा नेपाल सिराहाको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन

शुक्रबार, १२ बैशाख, २०८२
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिराहाको प्रथम अधिवेशनबाट पुनः अशोककुमार यादवको अध्यक्षतामा नयाँ जिल्ला समिति निर्वाचित भएको छ । सिराहाको गोलबजारमा सम्पन्न जिल्ला अधिवेशनको बन्द सत्रले बिहीबार अपराह्न ५७ सदस्यीय जिल्ला समितिमा अध्यक्ष यादवसहित सात पदाधिकारी सर्वसम्मत रूपमा निर्वाचित गरेको हो । आगामी तीन वर्षका लागि निर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षद्वय लालबहादुर साह (बरियारपट्टी), अशोककुमार मण्डल (कल्याणपुर), सचिव विन्दकुमार मण्डल (गोलबजार) रहेको निर्वाचन समितिले जनाएको छ । 

समितिका अनुसार दुईजना उपसचिवमा दिनेशकुमार महतो र इन्दलकुमार मण्डल, कोषाध्यक्ष लक्ष्मीकुमारी श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएका छन् । उपसचिव महतो जिल्ला समन्वय समिति  सिराहाका प्रमुख र श्रेष्ठ कर्जन्हा नगरपालिकाकी उपप्रमुख हुन् । ८ वैशाखमा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेपछि पाँच सदस्यीय अध्यक्षमण्डल गठन गरी सुरु भएको बन्द सत्रमा राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनमा समूहगत छलफलसहित निष्कर्ष प्रस्तुत गरी पारित गरेपछि नयाँ नेतृत्व छनाेटको प्रक्रिया थालिएको थियो । 

बन्द सत्रमा बुधबार राति अबेरसम्म सहमतिको प्रयास गरिए पनि पदाधिकारीका आकांक्षीहरू बढी हुँदा बिहीबार बिहान मतदानको प्रक्रिया थालिएको थियो । मनोनयन दर्ता, मतपेटिकाको व्यवस्थापनलगायत मतदानका लागि तयारी गरेपछि जिल्लाका नेताहरूले मतदान प्रक्रिया रोकेर सहमति गरेका थिए । 
 

सुझावित समाचार