- सत्तासाझेदार कांग्रेस नेताहरूबाटै प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति निरन्तर असन्तुष्टि व्यक्त, सरकारमाथि आन्तरिक र बाह्य दबाब रहेको प्रधानमन्त्रीको जनाउ
सत्तापक्ष र प्रतिपक्ष दुवैतिरका नेताले वर्तमान सरकारको स्थायित्वमाथि प्रश्न उठाएका छन् । काठमाडौंमा बिहीबार भएका छुट्टाछुट्टै कार्यक्रममा प्रधानमन्त्री केपी ओली, विपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सत्तारूढ दल कांग्रेस महामन्त्री गगन थापाका अभिव्यक्ति सरकारको स्थायित्वमा संशय पैदा गराउने खालका छन् । सरकारमाथि विपक्षीको लगातार प्रहार र कांग्रेसकै नेताहरूको प्रधानमन्त्री केपी ओलीको कार्यशैलीमाथि असन्तुष्टि छ ।
प्रमुख प्रतिपक्षी दलका नेता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तारूढ दल कांग्रेसका महामन्त्री गगन थापाले सरकारको स्थायित्वमाथि प्रश्न उठाएका छन् । प्रचण्डले प्रधानमन्त्री ओली बदनियतपूर्ण ढंगले अगाडि बढेको दाबी गर्दै सरकार लामो समय जानु देश र जनताको हितमा नहुने बताए ।
‘समस्या समाधानमा सरकारको ध्यान छैन । प्रधानमन्त्री बदनियत ढंगले अगाडि बढ्नुभएको छ । यो सरकार देशका लागि बोझिलो भएको छ । अब आन्तरिक अन्तरविरोधले नै सरकार ढल्छ,’ माओवादी संसदीय दलको बिहीबारको बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै माओवादी सांसद लेखनाथ दाहालले भने ।
ओली प्रधानमन्त्री रहुन्जेल व्यवस्थामाथि खतरा भइरहने प्रचण्डको दाबी छ । कांग्रेस सभापति शेरबहादुर देउवासँग संवादको ढोका खुलेको र उनी स्वदेश फर्किएपछि थप छलफल हुने प्रचण्डले बताए । ‘शेरबहादुरजी बैंककमा हुनुहुन्छ । उहाँ जाने वेलामा मलाई फोन गर्नुभएको थियो, उहाँ फर्किएपछि छलफल हुन्छ,’ प्रचण्डले भने ।
तराई–मधेश जागरण अभियानमार्फत माओवादीप्रति पुनः जनविश्वास स्थापित भइरहेको उल्लेख गर्दै प्रचण्डले माओवादीलाई सरकारमा जान हतार नभएको पनि बताएका छन् । नयाँ सरकार बन्ने परिस्थितिमा बाहिरै बसेर पनि समर्थन गर्न सकिने उनको भनाइ छ ।
शिक्षक, चिकित्सक र मिटरब्याजपीडितको आन्दोलनलाई सरकारले हल्का रूपमा लिएको प्रचण्डले टिप्पणी गरेका छन् । विद्यालय शिक्षा विधेयक र संघीय निजामती विधेयक अघि बढाउन दबाब दिने रणनीति पनि माओवादीले लिएको छ । अघिल्लो संसद् अधिवेशनमा प्रधानमन्त्रीलाई संसद्मा जवाफ दिन बाध्य पारेको स्मरण गर्दै प्रचण्डले संसद्मा प्रभावकारी भूमिका खेल्न निर्देशन दिए ।
शिक्षक, चिकित्सक तथा लघुवित्तपीडितहरूसँग संवाद गरेर समस्या समाधानमा जानुपर्नेमा सरकार उल्टै जटिलता बढाउने दिशामा गएको प्रचण्डको आरोप छ । प्रधानमन्त्रीले आन्दोलनरत शिक्षकहरूसँगको संवादमा आफ्नो नाम जोडेर टिप्पणी गर्नु दुर्भाग्यपूर्ण रहेको उनले बताए । शिक्षामन्त्रीको राजीनामापछि शिक्षक आन्दोलनप्रति सरकारको संवेदनशीलता घट्दै गएको उनले टिप्पणी गरे ।
प्रधानमन्त्री ओलीको कार्यशैलीसँग असन्तुष्ट कांग्रेस महामन्त्री थापाले आधारभूत कुरामा सम्झौता गर्नुपर्ने अवस्थामा कांग्रेस सरकारबाट बाहिरिन तयार हुनुपर्ने बताए । ‘कांग्रेसको बाध्यता छ । हामी सरकारमा छौँ, तर हामी एक्लै छैनौँ । कतिपय विषयमा कम्पर्माइज गरेका छौँ । तर, आधारभूत कुरामा हामी कम्पर्माइज गर्दैनौँ,’ लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले भने, ‘हामीले भन्न सक्नुपर्छ–पर्यो भने यस्तो सरकारबाट हामी बाहिर जान्छौँ । सरकारैै सबै कुरा, ठुलो कुरा होइन ।
सरकार आन्तरिक र केही बाह्य दबाबमा रहेको ओलीको संकेत

- हामीले राष्ट्रियताको पक्षमा स्पष्ट अडान लिएको हुनाले विदेशी दलाल तत्वहरू अहिले एमालेविरुद्ध खनिएका छन् । उनीहरू हरेक दिन सरकार जान्छ, सरकार जान्छ भनेर कराउन थालेका छन् । दिनैपिच्छे अनेक भ्रम फिँजाउन खोजेका छन् । लोकतन्त्रमा पाँच वर्षका लागि सरकार बन्छ । एमालेले सरकार बनाऊँ, सरकार बचाऊँ भनेर कराएको छैन । एमालेले जहिले पनि चुनाव हेरेको हुन्छ । ढुक्कले मिसन ०८४ मा लाग्नुस् ।
प्रधानमन्त्री केपी ओलीले सरकार आन्तरिक र केही बाह्य दबाबमा रहेको संकेत गर्दै यसको स्थायित्वमाथि आफैँ प्रश्न उठाएका छन् । प्रतिपक्ष र आलोचकबाट ‘सरकार ढल्ने हल्ला’ र ‘भ्रम फिँजाउने’ काम भएको दाबी गरेका ओलीले भूराजनीति सरकारको प्रतिकूल बनिरहेको भने स्पष्ट सन्देश दिए । उनको यस्तो भनाइ कांग्रेस सभापति शेरबहादुर देउवाको विदेश भ्रमणका वेला आएको छ, जसलाई राजनीतिक दृष्टिले अर्थपूर्ण मानिएको छ ।
ओलीले एमालेको राष्ट्रवादी अडान र जनपक्षीय दृष्टिकोणबाट भयभितहरूले दिनैपिच्छे सरकार ढल्ने हल्ला गर्दै भ्रम फिँजाइरहेको दाबी गरे । लोकतन्त्र दिवसका अवसरमा एमालेले बिहीबार आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशी दलाल तत्वहरू एमालेविरुद्ध खनिएको बताए ।
‘हामीले राष्ट्रियताको पक्षमा स्पष्ट अडान लिएको हुनाले विदेशी दलाल तत्वहरू अहिले एमालेविरुद्ध खनिएका छन् । हाम्रो राष्ट्रवादी दृष्टिकोण र अडान, हाम्रो जनपक्षीयता, लोकतान्त्रिक अभ्यास, आचरण र देश अगाडि बढाउने नीतिका कारण विभिन्न प्रकारका शक्ति भयभित छन्,’ ओलीले भने, ‘उनीहरू हरेक दिन सरकार जान्छ, सरकार जान्छ भनेर कराउन थालेका छन् । दिनैपिच्छे अनेक भ्रम फिँजाउन खोजेका छन् । लोकतन्त्रमा ५ वर्षका लागि बन्छ ।’
ओलीले सरकारको जोखिमतर्फ संकेत गर्दै सरकारको चिन्ता गर्न छाडेर निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि मिसन ८४ को चुनावी तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गरे । ‘स्थिरता र स्थायित्वको संकल्पसहित कांग्रेस र एमालेको संयुक्त सरकार बनेको हो । सरकार यसैमा अगाडि बढिरहेकाले सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ,’ उनले भने, ‘एमालेले सरकार बनाऊँ, सरकार बचाऊँ भनेर कराएको छैन । एमालेले जहिले पनि चुनाव हेरेको हुन्छ । ढुक्कले मिसन ०८४ मा लाग्नुस् ।’
देशलाई एकताबद्ध बनाउने र लोकतन्त्र तथा संविधानको रक्षा गर्दै समृद्ध देश निर्माणको अभिभारा पूरा गर्न युवाहरू अग्रसर हुनुपर्नेमा उनले जोड दिए । युवाको नेतृत्व क्षमता, योग्यता र कामबाट नेतृत्व स्थापित हुने भन्दै उनले आफ्नो नेतृत्व क्षमता प्रकट गर्दै अगाडि बढ्न आह्वान पनि गरे ।