जम्मु–कस्मिरमा पर्यटकमाथि आतंकवादी हमला, एक नेपालीसहित कम्तीमा २६ को मृत्यु

बुधबार, १० बैशाख, २०८२
डिजिटल संस्करण
जम्मु–कस्मिरमा पर्यटकमाथि आतंकवादी हमला, एक नेपालीसहित कम्तीमा २६ को मृत्यु

उपचारका लागि स्थानीय अस्पताल पुर्‍याइएका घाइते

  • भारतीय सञ्चारमाध्यमले सुरक्षा निकायलाई उद्धृत गर्दै प्रकाशित गरेको मृतकको सूचीमा एक नेपाली र एक युएईका नागरिक पनि

भारतको जम्मु–कस्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि बन्दुकधारीले गरेको आक्रमणमा एक नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु भएको छ । अधिकारीहरूले विभिन्न समाचार एजेन्सीलाई दिएको विवरणअनुसार बन्दुकधारीले पर्यटकमाथि गोली चलाएका थिए, जसमा नेपाली सन्दीप न्यौपानेको मृत्यु भएको छ । 

भारतीय मिडियाहरूले राति अबेरसम्म दिएको तथ्यांकअनुसार घटनामा दुई विदेशीको मृत्यु भएको छ । दुई विदेशीमध्ये एक नेपाली र एक युएईका नागरिक भएको जनाइएको छ । सन्दीपबारे विस्तृत विवरण सार्वजनिक भएको छैन ।

हमलामा कैयौँ पर्यटक घाइते भएका छन्, उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरबको भ्रमणमा रहेका वेला यो आक्रमण भएको छ । 

घटना भएको पहलगामको बैसरन उपत्यका लेकमा अवस्थित घाँसेमैदान हो । गोली चलेको आवाज सुनेका प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले जंगलबाट बाहिर निस्केर अन्धाधुन्ध गोली चलाएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादी आक्रमणलाई ‘क्रूर घटना’ भन्दै दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । प्रत्यक्षदर्शी एक स्थानीय टुर गाइड वाहिदले एएफपीलाई भने, ‘गोली चलेको आवाज सुनेपछि घटनास्थलतिर दौडिएँ । घाइतेमध्ये केहीलाई घोडामा बोकेर अस्पताल पुर्‍याएँ ।’

पहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकमाझ लोकप्रिय गन्तव्यस्थल हो । प्रहरी स्रोतका अनुसार अहिलेसम्म २६ जनाको मृत्यु पुष्टि भइसकेको छ, तर यो संख्या अझै बढ्न सक्ने बताइएको छ ।

आक्रमणस्थल पैदल वा घोडामा मात्र पुग्न सकिने भएकाले आक्रमणपछि घाइतेको उद्धारका लागि सैन्य हेलिकोप्टर परिचालन गरिएको थियो । भारतका केन्द्रीय मन्त्री अमित साह आक्रमणलगत्तै जम्मु–कस्मिरको राजधानी श्रीनगर पुगेका छन् । त्यहाँ साहले सबै एजेन्सीहरू सम्मिलित सुरक्षा समीक्षा बैठक बसाए । साहले घटनास्थलको अवस्थाबारे साउदी अरबको भ्रमणमा रहेका प्रधानमन्त्री मोदीलाई जानकारी गराए । प्रधानमन्त्री मोदीले नै साहलाई आक्रमणस्थल पठाएको भारतीय मिडियाले बताएका छन् ।

आक्रमणको जिम्मा लस्कर–ए–तोएबाले लिएको छ । तर, कस्मिर क्षेत्रमा सन् १९८९ देखि भारतबाट अलग हुने वा पाकिस्तानसँग मिल्न पाउनुपर्ने माग राखेर सशस्त्र विद्रोह चलाइरहेका संगठनमध्ये एक हो यो समूह । जम्मु–कस्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले आक्रमण विगतको भन्दा निकै ठुलो भएको बताए ।

विपक्षी नेता राहुल गान्धीले आक्रमणलाई ‘हृदयविदारक’ भन्दै संघीय सरकारले उत्तरदायित्व लिनुपर्ने माग गरेका छन् । भारत सरकारले पछिल्ला केही वर्षदेखि कस्मिरलाई पर्यटन केन्द्रका रूपमा प्रवद्र्धन गर्दै आएको छ । सन् २०२४ मा झन्डै ३५ लाख पर्यटकले कस्मिर भ्रमण गरेको सरकारी तथ्यांकले देखाउँछ ।

भारतले पाकिस्तानमाथि यस्ता आक्रमणमा सहयोग पुर्‍याएको आरोप लगाउने गरेको छ भने पाकिस्तानले कस्मिरको आत्मनिर्णयको अधिकारको समर्थन मात्र गर्ने बताउँदै आएको छ । योभन्दा पहिले सन् २०१९ मा पुलवामामा भएको आक्रमणमा ४० सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

मृतकको सूचीमा एक नेपाली र एक युएईका नागरिक पनि

सुझावित समाचार