नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीमा जस्तै महिला पनि ‘प्रो’ लाइसेन्स भएका प्रशिक्षकले जिम्मेवारी पनि सम्भावना देखिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार राष्ट्रिय महिला फुटबल टोलीको रिक्त मुख्य प्रशिक्षकको आवेदन खुला गरेको छ । ‘प्रो’ लाइसेन्स भनेको युइएफएले दिने माथिल्लो स्तरको प्रशिक्षण प्रमाणपत्र हो । गत फागुनमा एन्फाले अस्ट्रेलियनका म्याट रोसलाई पुरुष टोलीमा मुख्य प्रशिक्षकमा नियुक्त दिएको थियो । उनीसँग ‘प्रो’ लाइसेन्स प्रमाणपत्र छ । यसपटक एन्फाले महिला टोलीमा पहिलोपटक ‘प्रो’ लाइसेन्स भएको प्रशिक्षक राख्न लागेको हो ।
एन्फाले गत बिहीबार खेलकुद मन्त्रालयबाट विज्ञापन प्रकाशन गर्ने अनुमति पाएको थियो । खेलकुद मन्त्रालयबाट स्वीकृति पाएपछि एन्फाले महिलातर्फको मुख्य प्रशिक्षक आवेदन खुलाएको हो । मुख्य प्रशिक्षक बन्न एन्फाले दुईवटा आवश्यक सर्त पूरा हुनुपर्ने जनाएको छ । कम्तीमा ‘प्रो’ लाइसेन्स भएकाले सिनियर महिला टोली सम्हालेको वा युथ राष्ट्रिय टोली सम्हालिसकेको हुनुपर्ने एन्फाले जनाएको छ । यसैगरी, ट्याक रेकर्ड पनि राम्रो भएको हुनुपर्ने जनाएको छ । एन्फाले महिला टोलीका लागि पर्फमेन्स एनलाइसिसको आवेदन पनि खुला गरेको छ ।
एन्फाले यसमा फिटनेस कोर्सको प्रमाणपत्र हुनुपर्ने र लेभल वानको डाटा एनलाइसिस गरेको अनुभव हुनुपर्ने जनाएको छ । यसमा कम्तीमा एक वर्षको अनुभव अनिवार्य हुनुपर्नेछ । एन्फाका यी सर्त पूरा गर्न सक्ने प्रशिक्षकले २५ मेसम्म एन्फाको कार्यालयमा आवेदन दिन सक्छन् । एन्फासँग अहिले राष्ट्रियस्तरका ३० जना ‘ए’ लाइसेन्स प्रशिक्षक छन् । तर, उनीहरू कसैसँग पनि ‘प्रो’ लाइसेन्स छैन । यस अवस्थामा एन्फासँग उपलब्ध ‘ए’ लाइसेन्स बोकेका प्रशिक्षकले महिला टोलीको मुख्य प्रशिक्षक बन्न आवदेन दिन नपाउने भएको एन्फा स्रोतले बताएको छ ।
‘हामीसँग भएका कोही पनि प्रशिक्षकसँग ‘प्रो’ लाइसेन्स छैन,’ एन्फा स्रोतले भने, ‘विदेशमा रहेका एकजनासँग मात्र ‘प्रो’ लाइसेन्स छ, तर उसले आवेदन दिन्छ वा दिँदैन थाहा भएन ।’ नेपालमा ‘प्रो’ लाइसेन्सप्राप्त प्रशिक्षक नभएको अवस्थामा अब महिला टोलीको प्रशिक्षक पनि विदेशी नै पक्का हुने भएको छ । प्रशिक्षक सिनियर महिला टोली वा युथ राष्ट्रिय टोलीमा व्यावसायिक स्तरमा सफलता हासिल गरेको हुनुपर्ने एन्फाको भनाइ छ । एएफसीले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हुन ‘प्रो’ लाइसेन्स हुनुपर्ने लागू गरेपछि एन्फाले यसैको खोजी गरेको हो ।
तामाङको प्रशिक्षणमा तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा उपविजेता
‘प्रो’ लाइसेन्सधारी प्रशिक्षक अनिवार्य हुनुअघि नेपाली राष्ट्रिय महिला टोलीलाई राजेन्द्र तामाङले प्रमुख तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रशिक्षण दिलाएका थिए । उनकै प्रशिक्षणमा नेपाल यी तीनवटै प्रतियोगितामा उपविजेता बन्यो । वाफ महिला च्याम्पियनसिप, दक्षिण एसियाली महिला साफ च्याम्पियनसिप र फोर नेसन्स कपमा नेपाल उपविजेता बनेको थियो । गत वर्ष साफ च्याम्पियनसिपमा नेपालले उपाधि जित्न नसक्दा तामाङले राजीनामा दिएका थिए । पछि एन्फाले दशरथ रंगशालामै भएको फोर नेसन्स कपका लागि उनलाई नै मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । दुई वर्षअघि भएको वाफमा नेपालसँगै जोर्डन, लेबनान, इराक, प्यालेस्टाइन, साउदी अरेबिया, सिरिया र गुआमले भाग लिएका थिए ।
नेपालले एएफसी एसिया कप छनोट खेल्दै
नेपालले आगामी २३ जुनमा उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप २०२६ को छनोट खेल्दै छ । नेपाल समूह ‘एफ’मा छ । नेपालको समूहमा उज्वेकिस्तान, लाओस र श्रीलंका छन् । यस समूहका सबै खेल उज्वेकिस्तानमा हुनेछन् । नेपालले छनोटमा भाग लिनुअघि टोली तयार पार्न एन्फाले विदेशी प्रशिक्षक ल्याउने तयारी गरेको स्रोतले बताए । ‘हामीसँग उपलब्ध भएका ‘प्रो’ लाइसेन्स प्रशिक्षक नहुँदा अब एसिया कप छनोटमा विदेशी प्रशिक्षकले नै जिम्मेवारी पाउने सम्भावना छ,’ उनले भने, ‘पुरुषमा जस्तै महिला पनि विदेशी प्रशिक्षक नै हुनेछन् ।’ नेपालले २९ जुनमा लाओसविरुद्ध पहिलो खेल खेल्नेछ । २ जुलाईमा श्रीलंका र ५ जुलाईमा उज्वेकिस्तानको सामना गर्नेछ । समूहको शीर्ष स्थानमा रहने टोली अस्ट्रेलियामा हुने एसिया कपका लागि छनोट हुनेछ । नेपाल फिफा महिला वरीयतामा ९९औँ स्थानमा छ । लाओस १०७औँ स्थानमा छ ।