यौन दुर्व्यवहारपीडित सिराहाको नवराजपुर गाउँपालिका– ३ जगतपुरकी २५ वर्षीया आनन्दीदेवी सदाय घरभित्रै मृत भेटिएको घटना प्रकरणमा मधेश प्रदेश प्रहरी कार्यालयले गठन गरेको तीन सदस्यीय छानबिन समितिले अनुसन्धान थालेको छ । मधेश प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्तिराज कोइराला संयोजक रहेको समितिले आइतबार दोनवारी गाउँ पुगेर मृतकका श्रीमान्, माइती, आफन्तलगायतसँग भेटेर सोधपुछसहित अनुसन्धान थालेको हो ।
एसएसपी कोइरालाको नेतृत्वमा प्रहरी निरीक्षक विक्रम साह र एकजना प्रहरी सहायक हवल्दार सदस्य रहेको समितिले महेशपुरपतारस्थित इलाका प्रहरी कार्यालयसँग पनि सोधपुछ गरेको छ । अनुसन्धानका क्रममा घटनाको विषयमा प्रारम्भिक सोधपुछ मात्र गरिएको जानकारी दिँदै संयोजक कोइरालाले त्यसपछि अनुसन्धानात्मक रूपले अगाडि बढ्ने बताए ।
‘घटनाक्रमको विषयमा एक चरण सोधपुछ गरेपछि मात्र अनुसन्धानात्मक चरणमा कानुनी लिखत तयार गर्नेसहित अन्य तथ्य– प्रमाणका कुरा केलाउँछौँ,’ उनले भने । आनन्दीदेवी मृत्यु प्रकरणको छानबिन समितिका संयोजक रहेका एसएसपी कोइराला गत २७ माघमा सामूहिक बलात्कारपछि शंकास्पद अवस्थामा झुन्डिएको भेटिएकी नवराजपुर– १ भगवतीपुरकी करिब १७ वर्षीया रिंकु सदायको घटनाको पनि छानबिन समिति संयोजक थिए । त्यसबाहेक स्थानीय प्रहरी युनिटसमेत परिचालन गरी यौन दुर्व्यवहारका घटनामा संलग्न स्थानीय दुई युवकको खोजी गरिरहेको र पक्राउ परेलगत्तै कानुनी प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
अझै पक्राउ परेनन् आरोपी
गत ९ पुसमा छिमेकी बरियारपट्टी गाउँपालिका– १ कचनारी नरगीस्थित दिदी लक्ष्मीनिया सदायको घर जाने क्रममा गाउँनजिकै आनन्दीदेवी यौन दुव्र्यवहारमा परेकी थिइन् । नवराजपुर– ३ जगतपुर गाउँका सञ्जीवकुमार यादव र श्यामसुन्दर यादवले स्थानीय हरिनारायण यादवको बगैँचानजिक घेरा हालेर परालको टालमा हातपातसहित लुगासमेत च्यात्दै बलात्कार प्रयास गरेका थिए । त्यही दिन आनन्दीदेवीकी आमा बिलटौनदेवीले इलाका प्रहरी कार्यालय महेशपुरपतार पुगेर दुईजनाविरुद्ध जबर्जस्ती करणी उद्योग कसुरमा जाहेरी दिएकी थिइन् ।
महेशपुरपतार प्रहरीले उक्त जाहेरी २५ दिनपछि ४ माघमा दर्ता नम्बर ४० मा दर्ता भयो भने पुर्जी दिएर पठाएलगत्तै पुनः बोलाएर जाहेरी गडबड रहेछ भन्दै खोसेर च्यातिदिएको पीडित परिवारको आरोप छ । त्यसपछि प्रहरीले सोही जाहेरी दुई महिना १६ दिनपछि गत २५ फागुनमा दर्ता गरी अनुसन्धान गरिरहेको बताएको छ । तर, अहिलेसम्म मुख्य आरोपी पक्राउ परेका छैनन् ।
यसबिचमा आरोपी सञ्जीवका बाबु उपेन्द्र यादव, श्यामसुन्दरका बाबु शिवदत्त यादव, उनका आफन्तसमेत रहेका स्थानीय दलित उत्पीडित जनजाति आधारभूत विद्यालयमा राहत कोटामा कार्यरत शिक्षक नरेन्द्र यादवलगायतले एक लाख रुपैयाँमा मिलापत्र गरी जाहेरी फिर्ता लिन दबाब दिँदै आएको मृतक परिवारको गुनासो छ । मुद्दा हेर्ने इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट दुई–तीनपटक गाउँमा आएका प्रहरीले समेत मुद्दा लड्न सक्दैनौ, मिलापत्र गर भन्दै दबाब दिएको मृतकी आमाले सुनाइन् ।