विश्वमै सबैभन्दा धेरै खपत हुने अन्न धान तापक्रम र कार्बन डाइअक्साइड उत्सर्जन बढ्दै जाँदा दिनानुदिन विषाक्त बन्दै जाने नयाँ अनुसन्धानले देखाएको छ । जसले अर्बौँ मानिसलाई क्यान्सर र अन्य रोगको जोखिममा पार्न सक्छ । यो अध्ययन १६ अप्रिल, बुधबार द ल्यान्सेटमा प्रकाशित भएको हो । हरेक दिन अर्बौँ मानिसले भात खान्छन् । विश्वभर खेती गरिने धान आधा जनसंख्या विशेषतः विकासशील मुलुकको मुख्य खाद्य स्रोत हो । पानीमा डुबाएर खेती गरिने र छिद्रयुक्त बनोटका कारण चामलले धेरै मात्रामा आर्सेनिक सोस्छ, जुन एक घातक क्यान्सरजन्य तत्व हो र साना बालबालिकाका लागि यो थप जोखिमयुक्त मानिन्छ ।
कोलम्बिया विश्वविद्यालयका वनस्पतिविज्ञ लुइस जिस्का तीन दशकदेखि चामलमा अनुसन्धान गरिरहेका छन् । हाल उनले चीन र अमेरिकाका वैज्ञानिकसँग मिलेर तापक्रम र कार्बन डाइअक्साइडको वृद्धिले चामलका विभिन्न जातमा पार्ने प्रभावको अध्ययन गरेका छन् । वातावरणमा हरितगृह ग्यास बढ्दै जाँदा यस्ता असर हुने वैज्ञानिक अनुमानसँग अध्ययनको नतिजा मेल खान्छ । यो अनुसन्धान द ल्यान्सेट प्लानेटरी हेल्थमा प्रकाशित छ ।
‘अघिल्ला अनुसन्धान तापक्रम वा कार्बन डाइअक्साइड एउटामा मात्रै केन्द्रित थिए र त्यो पनि सीमित धानका जातमा हुने गर्थे,’ जिस्का बताउँछन् । ‘हामीलाई तापक्रम र कार्बन डाइअक्साइडले आर्सेनिकको मात्रा बढाउँछ भन्ने थाहा थियो । तर, जब दुवै एकैठाउँमा आए तब नतिजा एकदमै अप्रत्याशित थियो । र, धान यस्तो अन्न बाली हो, जुन हरेक दिन अर्बौँ मानिसले उपभोग गर्छन् र त्यसको विषाक्ततामा सानो असर परे पनि ठुलो प्रभाव पर्छ,’ जिस्का थप्छन् । ६ वर्षसम्म जिस्का र चीन तथा अमेरिकाका अनुसन्धानकर्ताको टोलीले नियन्त्रित खेतमा विभिन्न स्तरको तापक्रम र कार्बन डाइअक्साइड भएको अवस्थामा धान उब्जाएका थिए । नतिजा चामलका दानामा आर्सेनिक र अजैविक (इनअग्र्यानिक) आर्सेनिकको मात्रासमेत बढेको पाइयो ।
विश्वमै सबैभन्दा धेरै खपत हुने अन्न धान तापक्रम र कार्बनडाइअक्साइड उत्सर्जन बढेसँगै दिनानुदिन विषाक्त बन्दै जानेछ
उसो त आर्सेनिक माछा, सेलफिसजस्ता केही खाद्यवस्तु तथा पानी र माटोमा प्राकृतिक रूपमा पाइन्छ । तर, अजैविक आर्सेनिक औद्योगिक सामग्रीमा हुन्छ र त्यो पानीमा मिसिन्छ । यस्तो पानी भएको खेतमा धान रोपिन्छ । उसो त धानलाई सहजै झारपात र अन्य बालीले ढाक्न सक्छन्, तथापि धान पानीमा राम्रोसँग बढ्छ । त्यसैले, धानको बेर्ना अंकुराएर बेर्ना तयार भएपछि हिले खेतमा रोपिन्छ । त्यसपछि किसानले गर्ने सिँचाइले झारपात नियन्त्रण गर्छ र धानलाई फस्टाउन सहयोग गर्छ ।
धानले सजिलै पानी र त्यसमा भएका सबै तत्व अर्थात् आर्सेनिकसहित प्राकृतिक रूपमा पाइने वा नपाइने तत्वलाई सोस्छ । र, विश्वमा अधिकांशले धान यही विधिबाट उत्पादन गर्छन् । जलवायु परिवर्तनले चामलमा हुने आर्सेनिकको स्तर थप बढाउने नयाँ अनुसन्धानले देखाएको छ । ‘माटोमा हुने जटिल जैविक–रासायनिक प्रक्रियाका कारण जब तापक्रम र कार्बन डाइअक्साइड बढ्छ, त्यससँगै अजैविक आर्सेनिकको मात्रा पनि बढ्छ,’ जिस्का बताउँछन् । ‘र, यिनै अजैविक आर्सेनिकले सबैभन्दा बढी स्वास्थ्य जोखिम उत्पन्न गर्छन्,’ जिस्का थप्छन् । अजैविक आर्सेनिकको प्रभावबाट छाला, मूत्रथैली र फोक्सोको क्यान्सर, मुटुरोग र बालबालिकामा स्नायुसम्बन्धी समस्या सिर्जना हुने गरेको पाइएको छ । अनुसन्धानले जहाँ चामलको अत्यधिक सेवन हुन्छ, त्यस्ता क्षेत्रमा अजैविक आर्सेनिकका कारण हुने क्यान्सरको जोखिम उच्च हुन्छ ।
जिस्का र उनका सहकर्मीले आफ्नो अनुसन्धान क्षेत्रको परीक्षणबाट प्राप्त तथ्यांकलाई उपयोग गरी एसियाका चामल धेरै उपभोग गर्ने सात देशमा प्रतिव्यक्ति खपतका आधारमा रोगको जोखिम कसरी बढ्न सक्छ भन्ने प्रक्षेपण गरेका छन् । अध्ययन गरिएका सात देश अर्थात् भियतनाम, इन्डोनेसिया, चीन, बंगलादेश, फिलिपिन्स, म्यानमार र भारतमा रोगको जोखिम समान रूपले बढी देखिन्छ । ‘विश्वमा सबैभन्दा धेरै खपत हुने खाद्यबालीमध्ये एकमा जलवायु परिवर्तनको विषाक्त प्रभाव देखिएको छ र तपाईं त्यसप्रति कत्तिको संवेदनशील हुनुहुन्छ भन्ने कुरा चामलको खपतसँग सीधा सम्बन्धित छ,’ जिस्का बताउँछन् ।
अनुसन्धानकर्तालाई चामलमा उच्च मात्रामा आर्सेनिक हुन सक्छ भन्ने पहिल्यैदेखि थाहा थियो र नियामक निकायले विशेषतः संवेदनशील हुने र धेरै भात खाने बालबालिकाका लागि सावधानी अपनाउन सिफारिस गर्दै आएका छन् । तर, यो नयाँ अनुसन्धानले नियामक निकायलाई थप कडा मापदण्ड तय गर्न दबाब दिनुपर्ने देखाएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासनले अहिलेसम्म चामल वा अन्य खाद्य पदार्थमा आर्सेनिकको सीमा तय गरेको छैन । अनुसन्धानकर्ताले अजैविक आर्सेनिकको जोखिम घटाउने सम्भावित उपाय पनि औँल्याएका छन्, जसमा कम आर्सेनिक सोस्ने चामलको जात विकास गर्ने र उपभोक्तालाई चामलको विकल्पबारे जानकारी दिने उपाय पनि समावेश छन् ।
‘चामलमा आर्सेनिक सधैँ समस्याका रूपमा रहँदै आएको छ र जलवायु परिवर्तनले यसलाई थप जटिल बनाइरहेको छ,’ अनुसन्धान प्रतिवेदनका सह–लेखक तथा जोन्स हप्किन्स विश्वविद्यालयका प्राध्यापक किभ नाकम्यान बताउँछन् । उनी लामो समयदेखि खाद्य उत्पादन र उपभोगसँग सम्बन्धित स्वास्थ्य जोखिममा अनुसन्धान गरिरहेका छन् । ‘चामलको आर्सेनिक सीमा तय गर्न हस्तक्षेप गर्नुपर्ने अर्को एउटा कारण मानिसमा आर्सेनिकको सम्भावित जोखिम नियन्त्रण गर्नु हो । तर, यति भन्दै गर्दा हामीले गर्न सक्ने सबैभन्दा महत्वपूर्ण काम भनेको जलवायु परिवर्तनलाई सकेसम्म सुस्त बनाउनु हो,’ नाकम्यान थप्छन् ।
(गुस्टिन जलवायु एवं खाद्य सुरक्षामा रिपोर्टिङ गर्ने पत्रकार हुन्) – इनसाइड क्लाइमेट न्युजबाट