माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचडण्ले निरंकुशतातिर फर्कने प्रयास संघर्षको आन्दोलन नभएर अपराधपूर्ण कार्य हो भनेका छन् ।
आइतबार विराटनगरबाट प्रकाशित हाम्रोमत दैनिकको वार्षिकोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले परिवर्तनका लागि अगाडि बढ्ने संघर्षलाई मात्र आन्दोलन भन्न सकिने, तर निरंकुशतातिर पछाडि फर्काउन उद्दण्डता मच्चाउने कार्य संघर्ष वा आन्दोलन नभएर अपराध कार्य हो भनेका हुन् ।
उनले देशलाई पुनः तानाशाहीतिर फर्काउने उद्दण्ड कार्य जनहित र लोकतान्त्रविरुद्ध भएकाले त्यो संविधान र कानुनसम्मत नभएकाले अपराध हुने प्रस्ट पारे । अध्यक्ष प्रचण्डले भने, ‘तानाशाही फर्काउन निषेधाज्ञा तोड्छु भन्ने कुरा कदापि पनि संविधान स्वीकार्य हाेइन, यसैले यस्तो उद्दण्ड अराजकता र अपराध हामी लोकतन्त्रवादीहरूलाई कदापि मान्य छैन ।’
पूर्वप्रधानमन्त्री प्रचण्डले संघीय गणतन्त्रलाई संस्थागत गर्दै संविधानको रक्षा गर्ने कुरामा लोकतान्त्रिक दलहरूमा धेरै मतभेद नहरेको प्रस्ट पार्दै सबैले एकपटक आत्मसमीक्षा गरेर आफूलाई सुधार गर्दै अगाडि बढनुपर्ने आग्रह गरे । उनले संविधानको रक्षा गर्दै गणतन्त्रलाई संस्थागत गराउन आमसञ्चारकर्मी, नागरिक समाजले पनि जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिए।
अध्यक्ष प्रचण्डले लोकतान्त्रिक दलहरू एक भएकै कारण बृहत् शान्तिसम्झौता र नयाँ संविधानलेखन कार्य सम्पन्न भएकाले अब गणतन्त्र संस्थागत गराउन पनि सबै एकजुट भएर लागिपर्ने बताए । उनले संविधान लेखिसकेपछि सत्तास्वार्थमा लोकतन्त्रवादी दलहरू मिल्न नसक्दा प्रतिगमनकारीहरूले अवसर छोप्ने मौका पाइरहेकाले अब दश वर्षदेखिको आत्मसमीक्षा गरेर समस्या पहिचान गरी साझा निष्कर्ष बनाएर अगाडि बढ्न लोकतन्त्रवादी दलहरूसँग अनुरोध गरे।
अध्यक्ष प्रचण्डले भने, ‘हामीलाई हाम्रै कारणले अलिअलि रोग त लागेकै हो, यसैले अब वेला आइसकेको छ दश वर्षको समीक्षा गरेर रोग पत्ता लगाएर साझा निष्कर्ष निकाल्ने । समीक्षा गरेर संविधान संशाेधन गरेर शासकीय र निर्वाचन प्रणाली अनि आर्थिक मोडल परिवर्तन गर्न सके मात्र देशले लोकतन्त्रलाई दिगो बनाउन सक्छ ।’
उनले नेताविना लोकतन्त्र फल्न फुल्न नसक्ने भन्दै तीन नेताको वा नेतातन्त्र मात्र भनेर लोकतन्त्रलाई एकोहोरो बदनाम गर्ने कार्यले प्रतिगमनकारीहरूलाई फाइदा पुगिरहेकोले गलत भाष्य सच्याउन नागरिक समाज, सञ्चारमाध्यम र बुद्धिजीवीहरूसँग आग्रह गरे।
प्रचण्डले गणतन्त्र खतरामा नरहेको र त्यसका लागि डराउनुपर्ने कुनै कारण वा अवस्था नभएको भन्दै ७० वर्षसम्म जनताले लडेर निर्माण गरेको संविधानलाई कसैले उद्दण्डता प्रदर्शन गरेकै भरमा नउल्टिने र उल्ट्याउन पनि सम्भव नहुने ठोकुवा गरे । अध्यक्ष प्रचण्डले भने, ‘कसैले वितण्डा मच्याउँछ र खुलेआम निषेधाज्ञा तोड्छ भने त्यो संविधानविरोधी कार्य हो, उसको अपराध क्षम्य हुँदैन ।’