तेस्रो नेपाल सुपर लिग : शीर्ष स्थानमा उक्लियो धनगढी

समान आठ अंक जोडेको साबिक विजेता ललितपुरसँग गोलअन्तरमा अगाडि रहँदै लिगको शीर्ष स्थानमा धनगढी

शनिबार, ३० चैत, २०८१
डिजिटल संस्करण

लेबनानी अहमद हिजाजीको ह्याट्रिकको सहयोगमा धनगढी एफसी तेस्रो संस्करणको नेपाल सुपर लिगको शीर्ष स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा उत्कृष्ट पुनरागमन गर्दै धनगढीले शुक्रबार पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सलाई ३–१ ले हरायो । धनगढी र साबिक विजेता ललितपुर एफसीले समान आठ अंक जोडेका छन् । तर, हेड टु हेडमा धनगढी अगाडि रहँदै शीर्ष स्थानमा उक्लिएको हो । 

हिजाजीले १० मिनेटको अन्तरमा ह्याट्रिक गरेपछि धनगढीको अपराजित यात्रा सम्भव भयो । चालू लिगमा यो नै पहिलो ह्याट्रिक हो । साबिक दुईपटकको उपविजेता धनगढीले प्ले अफको सम्भावनासमेत बलियो बनाएको छ । दोस्रो हारसँगै काठमाडौंको प्ले अफ सम्भावना कमजोर बनेको छ । काठमाडौंले पाँच खेलबाट पाँच अंक जोडेको छ । धनगढीका हिजाजी उच्च गोलकर्ता बनेका छन् । उनले समग्रमा नौ गोल गरेका छन् । दोस्रो संस्करणमा हिजाजीले चार गोल गरेका थिए । नेपाल सुपर लिगको पहिलो संस्करणमा मेसुक ओलोमोउले आठ गोल गरे । यसैगरी, विदेशी खेलाडी आफिज ओलवालेले पहिलो तथा दोस्रो संस्करणमा समान चार गोल गरेका थिए । 

अग्रता रक्षा गर्न सकेन काठमाडौंले
प्रतिस्पर्धामा काठमाडौंले खेलको २२औँ मिनेटमै १–० को अग्रता लिएको थियो । तर, काठमाडौंले आफ्नो अग्रता रक्षा गर्न नसक्दा महŒवपूर्ण खेल मात्र गुमाएन, प्ले अफको सम्भावनासमेत कमजोर बनाएको छ । अमाउ डियोपले डिबक्सभित्र उत्कृष्ट गोल गर्दा काठमाडौंले बलियो धनगढीविरुद्ध अप्रत्याशित रूपमा अग्रता बनायो । डियोपले मोहमद बुयाको सटीक पासमा गोल गरेका हुन् । त्यसपछि काठमाडौंले धनगढीविरुद्ध स्तरीय खेल प्रदर्शन गर्न सकेन । निरन्तर रूपमा फाइनल थर्डमा काठमाडौं चुकेको देखिन्थ्यो । 

खेलको ३२औँ मिनेटमा धनगढीका गोलरक्षक वालिदले उत्कृष्ट बचाउ गर्दा काठमाडौंले अग्रताको अवसर गुमाएको थियो । काठमाडौंका बुयाको ब्याक पासमा भिनसेन्टले डिबक्सभित्रबाट प्रहार गरेको शक्तिशाली बललाई गोलरक्षक वालिदले उत्कृष्ट बचाउ गरेका थिए । अझ दोस्रो हाफमा काठमाडौं दश खेलाडीमा सीमित भयो । खेलको ८६औँ मिनेटमा काठमाडौंका भिनसेन्ट कोजिएलो र धनगढीका रनदीप पौडेलले रातो कार्ड पाएका थिए । मैदानमा दुवै खेलाडी हात हालाहालको स्थितिमा पुगेपछि रेफ्री प्रज्वल क्षेत्रीले दुवैलाई मैदानबाहिर पठाए । रेफ्री क्षेत्रीले कोजिएलोलाई सीधै रातो कार्ड र रणदीपलाई दोहोरो पहेँलोस्वरूप रातो कार्ड देखाए । रणदीपले मैदान प्रवेश गरेको दोस्रो मिनेटमै कार्डको सामना गरे । 

१० मिनेटको अन्तरमा हिजाजीको ह्याट्रिक 
एक गोलले पछाडि रहेको धनगढीले बराबरी गोल प्रयास गरिरह्यो । उत्कृष्ट फर्ममा रहेका हिजाजीले प्राप्त तीनवटै अवसरमा गोल गरी धनगढीलाई जित दिलाए । उनले खेलको ३५औँ मिनेटमा धनगढीलाई १–१ को बराबरीमा ल्याए । खेलको ४१औँ मिनेटमा काठमाडौं डिबक्सभित्र चलाखीपूर्ण तरिकाले हिजाजीले टोलीलाई २–१ को अग्रता दिलाए । कृतिशरत्न छुन्जूले प्रहार गरेको बल काठमाडौंका डिफेन्डरले ब्लक गरेका थिए । डिफेन्डरबाट रिबाउन्ड भएको बललाई नै हिजाजीले सहजै गोल गरे । पहिलो हाफको इन्जुरी समयमै हिजाजीले ह्याट्रिक लगाए । इन्जुरी समयको दोस्रो मिनेटमा हिजाजीले सर्जियो बारबोजाको पासमा गोल गर्न सफल भए । समग्रमा हिजाजीले जारी लिगमा एकै खेलमा दुईपटक दुई गोलभन्दा बढी गरेका छन् । उनले बुटवल–लुम्बिनीविरुद्ध पहिलो खेलमा पनि दुई गोल गरेका थिए । 

मध्यान्तरपछि एकपक्षीय खेल
दोस्रो हाफमा काठमाडौंमाथि धनगढी हाबी भयो । यद्यपि, काठमाडौंले काउन्टरमा धनगढीको पोस्टमा गोल प्रयास नगरेको होइन । तर, फिनिसिङ कमजोर हुँदा काठमाडौं खेलमा फर्कन सकेन । ५३औँ मिनेटमा काठमाडौंले गोल फर्काउने मौका गुमायो । खेलको ५७औँ मिनेटमा काठमाडौंका गोलरक्षक अभिषेक बरालले उत्कृष्ट बचाउ गरेका थिए । उनले धनगढीका हिजाजीको प्रहारलाई छेकेका थिए । भिन्सेन्टको प्रहार क्रसबारनजिक हुँदै बाहिरिएको थियो । खेलको ७८औँ मिनेटमा काठमाडौंका जिलेस्पीजंग कार्कीको हेडिङले दिशा लिन सकेन । पाँच खेलमा काठमाडौंको यो दोस्रो हार हो । काठमाडौंले लिग चरणको अन्तिम खेलमा चितवन एफसीसँग खेल्नेछ । प्ले अफ सम्भावनालाई कायमै राख्न काठमाडौंलाई जितका साथै अरू नतिजासमेत कुर्नुपर्नेछ ।

See More On

सुझावित समाचार