विद्यालयकालमै पाठ्यपुस्तकबाहेक अरू पुस्तक पनि पढ्न रुचि राख्थेँ । मेरो बुबाले भारतबाट हिन्दी उपन्यास किनेर ल्याउनुहुन्थ्यो । ती उपन्यास पनि पढ्थेँ । आफन्त, छिमेकीसँग उपलब्ध सबैजसो पुस्तक सानैदेखि पढ्थेँ । काठमाडौं आएर स्नातकोत्तर पढ्दै गर्दा लोकसेवाको तयारी गरेँ । त्यतिवेला लोकसेवा पास गर्न धेरै पुस्तक पढेँ । तर, लेखपढ नै गर्छु, लेखपढमै मेरो रुचि होला भन्नेचाहिँ थिएन । पढ्दै जाँदा बानी हुन थाल्यो । यही क्रममा ‘काठमाडौंमा मधेशी भोगाइ’ भनेर एउटा लेख लेखेँ । त्यो लेखमा क्याम्पस, तरकारी पसल, बाटोघाटो, सार्वजनिक यातायातमा हुने विभेद उल्लेख गरेकी थिएँ । लेख प्रकाशित भएपछि सबैतिरबाट राम्रो प्रतिक्रिया आयो । त्यसपछि जागिर गर्ने, राजनीति गर्नुभन्दा आफ्नो समुदायका लागि लेखपढ गर्नुपर्छ भनेर लागेँ । विचार निर्माण गर्ने, मधेशको विषयमा अध्ययन, अनुसन्धान, लेखन गर्ने, मधेशको अधिकारबारे सार्वजनिक वृत्तमा बहस गर्ने कमै रहेछन् भनेर लेखन, अनुसन्धान र अभियन्ताको रूपमा काम गर्न थालेँ । यही क्षेत्रमा आउने भनेर निर्णय गरेपछि झन् धेरै पुस्तक पढ्न थालेँ ।
जीवन काँडा कि फूल : यो पुस्तक लेखक झमक घिमिरेले लेख्नुभएको आत्मकथा हो । पुस्तकमा उल्लेख भएअनुसार उनको संघर्ष एकदमै दर्दनाक रहेछ । पुस्तक पढेर म भावुक भएँ । दुईवटै हात अनि एउटा खुट्टा नचल्ने व्यक्ति लेखन कर्ममै लागेर साहित्यिक क्षेत्रमा कसरी स्थापित भइन् भन्नेबारे पुस्तकमा उल्लेख छ । पुस्तकले शारीरिक र मानसिक रूपमा पनि सबल मलाई केही गर्नुपर्छ भनेर उत्प्रेरणा मिल्यो । उनीजस्तो व्यक्तिले यति धेरै संघर्ष गरिन् भने मैले किन नगर्ने भनेर प्रभावित भएँ । पुस्तकले मेरो जीवनमा कतै न कतै परिवर्तन ल्याउन सहयोग गरेको छ ।
फूलको आँखामा : गायिका आनि छोइङ डोल्माले यो पुस्तक लेखेकी हुन् । पुस्तकमा उनी आफ्नै बुबाबाट हिंसामा परेर आनी बनेपछिको अन्तरद्वन्द्व छ । अन्तरद्वन्द्वलाई जितेर कसरी यहाँसम्म आइपुगिन्, यसबारे पुस्तकमा लेखिएको छ ।
नेपालमा क्षेत्रीयता र राष्ट्रिय एकता : सन् १९७५ फ्रेडरिक एच गेजले लेखेको नेपालमा क्षेत्रीयता र राष्ट्रिय एकता नामक पुस्तक पढेँ । पुस्तकमा मधेशी समुदायसँग गरिएको ऐतिहासिक विभेद, नागरिकतामा गरिएको विभेद, संरचनात्मक विभेद, भूमिमाथिको विभेद, नेपालको खस पहाडी राष्ट्रियतालाई कसरी लादिएको छ ? भन्ने उल्लेख छ । एकजना विदेशीले नेपालमै आएर लेखेको यो पुस्तकले मलाई निकै प्रभाव पारेको थियो ।
नेपालको सन्दर्भमा समाजशास्त्रीय चिन्तन : यो पुस्तक मेरी डेसेन र प्रत्यूष वन्तले सम्पादन गरेका हुन् । पुस्तकमा विभिन्न १८ जना लेखकको लेख संग्रहित छन् । जसमध्ये सेरा तामाङको लेख ‘विकासे नारीवाद’ जसले नेपालको नारीवादी आन्दोलन र नारीवादी आन्दोलनको विश्व सन्दर्भमा विभिन्न सैद्धान्तिक दृष्टिकोण उल्लेख छ । त्यो पुस्तक प्रकाशित भएको धेरै भयो, पुस्तकमा अहिलेको अन्तर–लैंगिकताको विषयलाई समेटिएको छैन । तर पनि सैद्धान्तिक हिसाबले यो एकदमै राम्रो पुस्तक हो । अहिले पनि त्यो पुस्तक मेरा लागि उपयोगी हुने गरेको छ ।
उपल्लो थलो : पत्रकार तथा लेखक मोहन मैनालीले यो पुस्तक लेखेका हुन् । लेखनको हिसाबले यो पुस्तक मलाई निकै राम्रो लागेको हो । उनको भाषा एकदमै सरल, छोटा–छोटा वाक्य अनि विश्लेषण पनि निकै राम्रो छ । लेखकले ०५१ देखि ०५९ सम्म विभिन्न ठाउँमा पुगेर गरेको रिपोर्टिङका अनुभवलाई पुस्तकमा पढ्न पाइन्छ ।
समानताको रिले दौड : सावित्री गौतम, कैलाश राई र प्रत्यूष वन्तको सम्पादनमा ११ जना महिलावादीहरूको अनुभवमा आधारित पुस्तक हो । पुस्तकमा मेरो पनि लेख छ । उनीहरूको संघर्ष, योगदान, उनीहरूले भोगेको कठिनाइबारे पुस्तकमा लेखेको छु । अहिलेको युवा जमातका लागि यो पुस्तक महत्वपूर्ण पुस्तक छ । मलाई धेरै मनपर्ने पुस्तकमध्ये यो पनि हो ।
सन्दुक रुइत : यो पुस्तक अस्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेका हुन् । रमन म्यागसेसे पुरस्कार विजेता आँखाका डाक्टर सन्दुक रुइतको जीवनीमा आधारित पुस्तक हो । आँखाको उपचारमा उनले क्रान्ति नै ल्याएका छन् । उनले कम मूल्यमा विश्वस्तरीय लेन्स उत्पादन गरी मोतिबिन्दु शल्यक्रियामा अनुकरणीय काम गरेका छन् ।
पढ्नु पनि एक किसिमको नशा हो । म निरन्तर एक–दुई घन्टा कुनै न कुनै किताब पढ्छु । अहिले पनि राजेन्द्र महतोको जीवनीमा आधारित ‘अधुरा क्रान्तिः संघर्ष मातृभूमिका लागि’ पढिरहेको छु । दुई–चार दिन पढिनँ भने के के गरिनँ जस्तो लाग्छ । अनुसन्धान, लेखनसँगै तालिम पनि दिने गर्छु । तालिमका लागि तालिम म्यानुयल बनाउँछु । यसका लागि पनि नेपालको संविधान, कानुन, अनुसन्धानका विषय, टेक्निकल कुरा पढ्नुपर्ने हुन्छ ।