ऊर्जामन्त्री खड्काको अर्को बदनियतपूर्ण निर्णय : ऊर्जासचिव आचार्यलाई बक्यौता पुनरावलोकनको जिम्मेवारी

शनिबार, २९ चैत, २०८१
डिजिटल संस्करण

विद्युत् प्राधिकरणको शुक्रबार बिहान बसेको सञ्चालक समिति बैठकले उद्योगीबाट बिजुलीको बक्यौता उठाउन अवरोध गर्दै आएका ऊर्जासचिव सुरेश आचार्यलाई ‘बक्यौता पुनरावलोकन समिति’ संयोजकको जिम्मेवारी दिएको छ । ऊर्जामन्त्री दीपक खड्काको सबै बेइमानमा सतिसाल बन्दै आएका सचिव आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनबाट बिजुली प्रयोग गरेका उद्योगीलाई बक्यौता नतिर्न ‘सुविधा दिने’ नियतका साथ पुनरावलोकन समिति संयोजकको जिम्मेवारी लिएका हुन् ।

ऊर्जामन्त्री दीपक खड्काले आह्वान गरेको शुक्रबार बिहानको बैठकले बक्यौताबारे चित्त नबुझे तोकिएको बिलको २५ प्रतिशत हुन आउने रकम धरौटी राखेर प्रशासनिक पुनरावलोकनमा जानुपर्ने व्यवस्थालाई संशोधन गरेर ५ पतिशत बनाउने निर्णयसमेत भएको छ । यो व्यवस्था लागू गर्न विद्युत् वितरण नियमावली, २०७८ संशोधन गर्ने निर्णय पनि भएको छ । प्राधिकरणको इतिहासमा पुनरावलोकन समितिको संयोजकमा पहिलोपटक ‘ऊर्जासचिव’लाई राखिएको हो । यसअघि सरकारले नियुक्त गरेका विज्ञ सदस्यमध्येबाटै संयोजक राख्ने गरिन्थ्यो ।

सचिव आचार्यको संयोजकत्वमा पुनरावलोकन समिति बन्नासाथ शुक्रबार दिउँसो नै प्राधिकरणमा बक्यौता तिर्नुपर्ने उद्योगीसँग एक चरण छलफलसमेत भइसकेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार नै उद्योगीहरूलाई बोलाएर प्रशासनिक पुनरावलोकनमा आउन आग्रह गरेका हुन् । छलफलमा सहभागी उद्योगीहरू पनि प्राधिकरणको प्रस्तावमा सहमत भएका छन् । 

प्राधिकरणका उपकार्यकारी निर्देशक तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख दीर्घायुकमार श्रेष्ठले बक्यौताको विषयमा उद्योगीसँग छलफल गरिएको बताए । 

‘शुक्रबारको सञ्चालक समितिको बैठकमा प्रशासनिक पुनरावलोकनमा राख्नुपर्ने धरौटी २५ प्रतिशतबाट ५ प्रतिशतमा घटाउने भनेर छलफल भएको भन्ने छ । यसले उद्योगीलाई राहत हुन्छजस्तो लाग्छ । त्यसपछि शुक्रबार नै उद्योगीलाई बोलाएर यसबारे छलफल गरेका हौँ । तपाईँहरूको असहमति के–केमा छ, प्रशासनिक पुनरावलोकनमा आउन भनेका छौँ,’ उनले भने, ‘त्यसलाई उहाँहरूले सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिनुभएको छ । सम्बन्धित उद्योगीहरूसँग छलफल गरेर यसबारे निर्णय दिने उहाँहरूको जवाफ छ । यो प्रक्रियामा हुने निर्णय चित्त नबुझेमा उहाँहरूलाई अदालत जान पनि बाटो खुला हुन्छ ।’

५ प्रतिशत धरौटी बुझाएर पुनरावलोकनमा जान पाउने सुविधा यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङकै पालामा सञ्चालक समिति बैठकबाट निर्णय भएको थियो । त्यतिवेला घिसिङलाई हरहालतमा असहयोग गर्ने नियत राखेका ऊर्जामन्त्री खड्काले उक्त निर्णयको माइन्युट नै हुन दिएनन् । त्यस्तै, किस्ताको सुविधा पनि २८ बाट बढाएर ५६ पुर्याउने निर्णय पनि ऊर्जामन्त्री खड्काले कार्यान्वयन हुन दिएनन् । तर, अहिले प्राधिकरणमा शाक्यलाई ल्याएपछि ऊर्जामन्त्री खड्काले पहिले कार्यान्वयन हुन रोकेका निर्णय लागू गर्न खोजिरहेका छन् ।  

‘यसमा मन्त्रीज्यूको दोहोरो चरित्र देखिएको छ । कुलमान हुँदा पनि यो निर्णय भएको थियो । कुलमान सर पनि यो प्रक्रियामा जान सहमति हुँदै उद्योगीलाई पनि प्रशासनिक पुनरावलोकनमा आउन भन्नुभएको थियो । तर, मन्त्रीज्यूले कार्यान्वयन गर्न मान्नुभएन,’ एक सञ्चालकले भने ।

उद्योगहरूलाई लोडसेडिङका वेला डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत २४सै घण्टा विद्युत् दिइएको र सो विद्युत्को महसुल तिर्न उद्योगीले अटेर गर्दा बक्यौतासम्बन्धी विवाद अहिलेसम्म लम्बिएको हो । ६५ प्रतिशत थप शुल्क (प्रिमियम) लिएर बिजुली प्रयोग गरेका उद्योगी पैसा तिर्ने वला भएपछि आनाकानी गर्दै आएका छन् । अझै पनि ४९ उद्योगको सवा आठ अर्ब रुपैयाँ बक्यौता छ । त्यसमा ३४ उद्योग भने बक्यौता तिर्ने प्रक्रियामै आएका छैनन् । उनीहरूको मात्रै ६ अर्ब ९३ करोड ९७ लाख रुपैयाँ बक्यौता छ ।

यसकारण आचार्य संयोजक
ऊर्जामन्त्री दीपक खड्काले उद्योगीलाई बक्यौतामा छुट दिन खोजेका छन्, जसमा सचिव आचार्यले निरन्तर साथ दिइरहेका छन् । त्यसैले अहिले बक्यौता पुनरावलोकन समितिको संयोजक पनि सचिव आचार्य बनाइएका हुन् । 

६१ उद्योगको ६ अर्ब ६० करोड ७८ लाख विद्युत् प्रयोग गरेबापतको महसुल र २५ प्रतिशत जरिवानासहित कुल आठ अर्ब २५ करोड ९७ लाख उठाउन प्राधिकरणले गत २७ असारमा ६ ठुला उद्योगको लाइन काटेयता प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङसँग ऊर्जामन्त्री खड्को द्वन्द्व हुँदा सचिव आचार्यले मध्यस्थता गर्नुको सट्टा आगोमा घिउ थप्ने काम गरे ।

बक्यौता उठाउनुपर्छ भन्ने प्राधिकरणका तत्कालीन सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई ऊर्जामन्त्रीले हटाउँदा सचिव आचार्यले साथ दिए । बक्यौता नउठाई बिजुलीको लाइन नकाट्न अडान लिएका कारण सरकारले स्पष्टीकरण सोध्यो । २२ असोजमा ऊर्जामन्त्री खड्काले विभिन्न १५ बुँदामा घिसिङसँग चार–पाँच वर्षयताका कार्य विवरण माग्दा उनैले विवरण तयार गर्न साथ दिएका थिए ।

२२ पुसमा घिसिङलाई ‘तपाईँको नियुक्ति किन अन्त्य नगर्ने ? भनेर ऊर्जामन्त्री खड्काको निर्देशनमा सचिव आचार्यले स्पष्टीकरण सोधे । उनले फेरि दोस्रोपटक मन्त्री खड्काकै निर्देशनमा स्पष्टीकरण सोधेका थिए भने मन्त्रिपरिषद्ले स्पष्टीकरण सोध्ने निर्णय गर्दा पनि सचिव आचार्यले नै तेस्रोपटक पत्र लेखेका थिए ।

बक्यौता उठाउन डटेर लाग्ने कुलमाविरुद्ध मन्त्री खड्काले सचिव आचार्यलाई बारम्बार प्रयोग गरे । मन्त्रीले प्राधिकरणका कर्मचारी सरुवा–बढुवा गर्न खोज्दा, नौ सय ६० मेगावाटको सोलार विद्युत् किन्ने गरी भएको ठेक्कामा मन्त्रीले अनावश्यक हस्तक्षेप गर्दा, प्राधिकरणलाई घाटा हुने गरी पिपिए गर्न खोज्दा, १,९०२ मेगावाटको मुगु–कर्णाली र चार सय ५४ मेगावाटको किमाथांका अरुण प्रतिस्पर्धाविनै व्यापारीलाई सुम्पिन खोज्दासमेत सचिव आचार्यले कानुन देखाएर मन्त्री खड्कालाई कहिल्यै सम्झाउने प्रयास गरेनन् ।
 

सुझावित समाचार