चारदेशीय टी–२० आई सिरिज :दीपेन्द्रसिंहले बनाए अर्को कीर्तिमान

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा धेरै इनिङ्स शून्यमा आउट नहुने वेस्ट इन्डिजका मार्लोन सामुइल्सको रेकर्ड नेपालका दीपेन्द्रसिंह ऐरीले तोडे

शुक्रबार, २८ चैत, २०८१
डिजिटल संस्करण

नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी–२० आई क्रिकेटमा अर्को एउटा रेकर्ड आफ्नो नाममा लेखाएका छन् । ऐरीले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा धेरै इनिङ्स शून्यमा आउट नहुने रेकर्ड आफ्नो नाममा लेखाएका हुन् । उनले यो सफलता हङकङमा चलिरहेको चारदेशीय टी–२० आई सिरिजमा कुवेतविरुद्ध बनाएका हुन् । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को आधिकारिक तथ्यांकअनुसार ऐरी टी–२० आई करिअरमा अहिलेसम्म शून्यमा आउट भएका छैनन् । आइसिसीले सार्वजनिक गरेको तथ्यांकअनुसार उनी ७६ खेलमध्ये ६६ इनिङ्समा नटआउट रहे । उनले १० खेलमा ब्याटिङको अवसर नै पाएनन् । नेपालले कुवेतमाथि ६ विकेटको जित निकाल्दा ऐरीले १२ बलमा ३१ रन बनाउँदै नेपालको रोमाञ्चक जित पक्का पारेका थिए । ऐरीले वेस्ट इन्डिजका मार्लोन सामुइल्सको रेकर्ड तोडेका हुन् । सामुइल्स ६७ मध्ये ६५ इनिङ्समा डकआउट भएनन् । ऐरीले सामुइल्सलाई पछि पारेका छन् ।  

अन्तर्राष्ट्रिय टी–२० आईमा ऐरीको नाममा ६ बलमा ६ छक्का प्रहार गर्ने रेकर्ड पनि छ । यो उनले कतारविरुद्ध प्रहार गरेका थिए । उनले टी–२० आईमा सन् २०१८ देखि ०२५ सम्म ७६ खेलमा एक हजार ७५६ रन बनाएका छन् । यसक्रममा उनले एक शतक तथा नौ अर्धशतकीय इनिङ्स खेले । उनले टी–२० आईको करिअरमा १३४ चौका र ७५ छक्का प्रहार गरेका छन् । यसैगरी, ऐरीको नामा अर्को दुर्लभ विश्व कीर्तिमान छ । उनले सन् २०२३ मा चीनको हाङझाउमा भएको १९औँ एसियन खेलकुदअन्तर्गत क्रिकेट विधामा मंगोलियाविरुद्ध केवल नौ बलमा ५० रन बनाएका थिए ।

नेपालले पछ्यायो ठुलो लक्ष्य 
नेपाली खेलाडीले व्यक्तिगत रेकर्ड बनेको दिनमा नेपाली पुरुष क्रिकेट टोलीले पनि कीर्तिमान बनाएको छ । नेपालले पहिलोपटक १८० रनमाथिको लक्ष्य पछ्याउन सफल भयो । कुवेतले पहिलो ब्याटिङ गरी २० ओभरमा आठ विकेट गुमाएर १८५ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले १८.५ ओभरमा १८६ रन जोड्यो । सन् २०२३ मा नेपालले टी–२० आईमा मलेसियाले दिएको १६६ रन सहजै पाखा लगाएको थियो ।

कुवेतको ब्याटिङ इनिङ्समा चिन्टो अन्टोले ३० बलमा चार चौका र दुई छक्का प्रहार गरी ४१ तथा मित भवसारले २८ बलमा समान दुई चौका र छक्का प्रहार गरी ३५ रनको योगदान दिएका थिए । ओपनर रभिजाले १५ बलमा दुई चौका र एक छक्का प्रहार गरी २६ रन जोडे । मध्यक्रमका विलाल ताहिरले १३ बलमा चार छक्का र एक चौकाको सहयोगमा ३२ रन जोडेका थिए । बलिङमा नेपालका लागि सोमपाल कामीले ३६ रनमा तीन र नन्दन यादवले ३४ रनमा दुई विकेट हात पारे । 

भुर्तेलको धेरै अर्धशतक
दीपेन्द्रसिंहले टी–२० आईमा रेकर्ड राखेकै दिन उनको नाममा रहेको एउटा कीर्तिमान नेपाली खेलाडीले तोडेका छन् । भुर्तेल टी–२० आईमा धेरै अर्धशतकीय इनिङ्स खेल्ने नेपाली खेलाडी बनेका छन् । उनले यो रेकर्ड ऐरीकै तोडेका हुन् । भुर्तेलले ५५ खेलमा ११ अर्धशतक ठोकेका छन् । यसअघि ऐरीको नाममा १० अर्धशतकको रेकर्ड थियो । कुवेतले दिएको १८६ रनको बलियो लक्ष्य पछ्याएको नेपालका ओपनर भुर्तेलले केवल २५ बलमै अर्धशतक पूरा गरेका थिए ।

उनी लगातार दोस्रो खेलमा म्यान अफ दी म्याच भए । सन् २०२५ सिजनको पहिलो अन्तर्राष्ट्रिय सिरिजमा भुर्तेल ब्याटिङ र बलिङमा चम्किरहेका छन् । उनले कुवतेविरुद्ध ५० बलमा समान ६ चौका र छक्का प्रहार गरी सर्वाधिक ८१ रनको योगदान दिए । यसैगरी बलिङमा उनले २७ रन खर्चेर एक विकेट हात पारे । 

भुर्तेल र शेखले तोडे आफ्नै रेकर्ड
चारदेशीय टी–२० आई सिरिजमा नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेख उत्कृष्ट फर्ममा छन् । भुर्तेल र शेखले ओपनिङमा लगातार उत्कृष्ट प्रदर्शन गरेका छन् । कुवेतविरुद्ध उनीहरूले पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गरे । दुवैले १३.५ ओभरमा १२७ रनको साझेदारी गरेका हुन् ।

उनीहरूले पहिलो विकेटका लागि आफूहरूले बनाएको रेकर्ड नै तोडे । सन् २०२१ मा भुर्तेल र शेखले ओपनिङमा नेदरल्यान्ड्सविरुद्ध ११६ रनको रेकर्ड बनाएका थिए । नेपालका लागि कप्तान रोहितकुमार पौडेल र कुशल मल्लले तेस्रो विकेटका लागि अहिलेसम्मकै सर्वाधिक १९३ रनको साझेदारी गरेका छन् । पौडेल र मल्लले सन् २०२३ मा १९औँ एसियाडमा मंगोलियाविरुद्ध रेकर्ड बनाएका थिए । 

शेखले कुवेतविरुद्ध करिअरकै सातौँ अर्धशतक बनाए । यसक्रममा उनले ३८ बलमा दुई चौका र चार छक्का प्रहार गरे । नेपालको ब्याटिङ इनिङ्समा पहिलो विकेट शेखकै गुमेको थियो । १५.३ ओभरमा भुर्तेलले पनि विकेट गुमाएका थिए । कुशल र कप्तान रोहित समान ४ रनमा पेभेलियन फर्के । त्यसपछि दीपेन्द्रसिंह र गुल्सन झाले पाँचौँ विकेटका लागि आवश्यक रन जोडेका थिए । झाले तीन बलमा दुई चौकाको सहयोगमा नौ रन बनाए । 

सुझावित समाचार