स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको शिखर सम्मेलन सुरु

बिहिबार, २७ चैत, २०८१
डिजिटल संस्करण

११औँ राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको शिखर सम्मेलन सुरु भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्थापनाको ३४औँ वर्ष प्रवेश गरेको अवसरमा राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको ११औँ शिखर सम्मेलन आजदेखि सुरु गरेको हो। तीन दिनसम्म चल्ने सम्मेलनमा स्वास्थ्य, जलवायु र जनसंख्यामा परिवर्तन : दिगो र समातामूलक भविष्यका लागि उत्थानशील स्वास्थ्य प्रणाली भन्ने विषयमा बहस र छलफल गरिँदै छ।

सोल्टी होटेलमा आयोजित सम्मेलनको उद्घाटन शिक्षामन्त्री विद्या भट्टराईले गरिन्। उनने स्वास्थ्य क्षेत्रमा भएका तथ्यका आधारमा नीतिगत सुधारका काम हुने बताइन्। कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता, संस्थागत प्रतिनिधिहरू, नीति–निर्माताहरू र विकास साझेदार निकायहरूको सहभागिता रहेको छ ।

स्वास्थ्य र जनसंख्याका क्षेत्रमा अनुसन्धानलाई प्रवर्द्धन गर्नु, प्रमाणमा आधारित निर्णय प्रक्रियालाई सुदृढ गर्नु, वैज्ञानिक अनुसन्धानकर्ता तथा नीति–निर्माताहरूबिच समवन्य र सहकार्यलाई थप मजबुत बनाउनु यस सम्मेलनको मुख्य उद्देश्य रहेको परिषद्ले जनाएको छ । सम्मेलनमा स्वास्थ्य बिमा कार्यक्रम, दक्ष स्वास्थ्यकर्मी र विज्ञहरूको पलायन, जनसंख्याको परिवर्तनसँग सम्बन्धित विविध पक्षहरू मानसिक रोग, सर्ने तथा नसर्ने रोगहरू र अनुसन्धान नियमनजस्ता स्वास्थ्य क्षेत्रका टड्‌कारो विषयवस्तुहरूमा केन्द्रित भएर व्यापक छलफल र प्रस्तुतीकरण गरिँदै छ । 

सम्मेलनमा एक हजार स्वदेशी र सयभन्दा बढी अन्तर्राष्ट्रिय सहभागीहरूको उपस्थिति रहेको छ । जसमा भारत, चीन, युनाइटेड किङडम, स्विट्जरल्यान्ड, जर्मनी, अमेरिकालगायत अन्य देशका विज्ञहरूको भौतिक सहभागिता रहेको छ । सम्मेलनमा स्वास्थ्यसम्बन्धी विभिन्न अनुसन्धान प्रतिवेदन पनि सार्वजनिक गरिनेछ ।

सुझावित समाचार