नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न गृहकार्य सुरु

बुधबार, २७ चैत, २०८१
डिजिटल संस्करण

अर्थमन्त्री नेतृत्वको निर्देशक समिति बैठक 

नेपाललाई फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ)को ग्रे लिस्टबाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ । सम्पत्ति शुद्धीकरण निवारण निर्देशक समितिको मंगलबार बसेको बैठकमा नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउने कार्ययोजनालाई अन्तिम रूप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको छ ।  

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न कार्ययोजनाअनुसार कार्य गर्दै जाने बताए । आगामी दिनमा नेपाल ग्रे लिस्टमा नपर्ने गरी दीर्घकालीन हिसाबले काम गर्न आवश्यक रहेको उनको भनाइ छ । 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न कानुनको कमी नभएको बताए । उनले इच्छाशक्ति लगाएर काम गर्ने हो भने नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सकिने बताए । 

महान्यायाधिवक्ता रमेश बडालले सबै निकायमा संस्थागत सुशासन हुन जरुरी रहेको बताए । मुख्यसचिव एकनारायण अर्यालले सबै निकायबिच समन्वय गरी प्राथमिकताका साथ काम गर्न जरुरी भएको बताए । उनले प्रविधिलाई जोड दिएर कार्ययोजनाअनुसार काम गर्दा नेपाल ग्रे लिस्टबाट बाहिर आउन सक्ने बताए । 

नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले अन्तिम समयमा काम गर्नेभन्दा कार्ययोजनाअनुसार सुरुदेखि नै काम गर्न आवश्यक भएको बताइन् । बैठकमा सहभागीले जोखिम मूल्यांकन, अन्तरनिकाय समन्वय, नियमन तथा सुरपरिवेक्षण, अनुसन्धान तथा अभियोजन, कसुरजन्य सम्पत्तिलगायतका क्षेत्रमा काम गर्न जरुरी रहेको बताउँदै कानुनमा भन्दा कार्यान्वयनमा जोड दिन आवश्यक भएको बताएका थिए । नेपाल गत ९ फागुनमा फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ)को ग्रे लिस्टमा परेको थियो ।

सुझावित समाचार