धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटारबाट २० किलो गाँजासहित दुई महिला पक्राउ परेका छन्। भेडेटारमा चेकजाँचको क्रममा आज मंगलबार प्रहरीले उनीहरूलाई फरक–फरक सवारीसाधनबाट पक्राउ गरेको हो।
सहिदभूमि गाउँपालिका–७ की ४९ वर्षीया सीता कार्की र ४२ वर्षीया इन्दिरा राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।
बिहान करिब ११ बजे अखुवाबाट धरान जाँदै गरेको प्र.१–०२–००१ ख ८५२९ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्दा १० किलो गाँजासहित कार्की पक्राउ परेकी हुन्। त्यस्तै, आजै दिउँसो १२ बजेतिर प्र.१–०२–००२ ज ४३३८ नम्बरको बलेरोमार्फत धरान जाँदै गरेकी राईको साथबाट पनि १० किलो गाँजा बरामद गरिएको डिएसपी खनालले बताए।
उनीहरूलाई आजै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।