भिजन लुम्बिनी ऊर्जा कम्पनीले पायो आइएसओ प्रमाणपत्र

मंगलबार, २५ चैत, २०८१
डिजिटल संस्करण

भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले अन्तर्राष्ट्रिय गुणस्तर चिह्न र प्रमाणपत्र प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गरेपछि कम्पनीले आइएसओ ९००१–२०१५ प्राप्त गरेको हो । 

बेलायतमा रहेको स्टानचुली म्यानेजमेन्ट एन्ड सर्भिसेजको बोर्डले भिजन लुम्बिनीको आर्थिक, प्रशासनिक कार्यसम्पादन, परियाजनाको विकास तथा डिजाइन, निर्माणलगायतको मूल्यांकन गरी प्रमाणपत्र प्रदान गरेको कम्पनीका कार्यकारी निर्देशक जगत पोखरेलले जानकारी दिए । 

प्रमाणपत्र ग्रहणका लागि आइतबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा उनले कम्पनी सञ्चालनमा विश्वस्तरको मूल्य–मान्यता र मापदण्ड पालना गर्न भिजन लुम्बिनी प्रतिबद्ध रहेको बताए । धेरैजनाको लगानी रहेको कम्पनी भएकाले पनि यस कम्पनीले पारदर्शिता र सुशासनलाई केन्द्रमा राखेको उनको भनाइ थियो । 

कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले भिजन लुम्बिनीले झैँ सबै ऊर्जा कम्पनीले यस्तो प्रमाणपत्र लिनुपर्नेमा जोड दिए । ऊर्जा कम्पनीहरूले अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्ने प्रवृत्तिको विकास गरियो भने ऊर्जा क्षेत्रमा देखिएको आशंका र आलोचनालाई न्यूनीकरण गर्न सहयोग गर्ने उनको भनाइ छ । 

कार्यक्रममा अतिथिका रूपमा सहभागी भएका प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने गरी पहिलेदेखि नै काम गर्दै आइरहेको भिजन लुम्बिनीले अहिले प्रमाणपत्र पाएर त्यसलाई पुष्टि गरेको बताए । उनले अन्तर्राष्ट्रिय गुणस्तर चिह्न र प्रमाणपत्र पाएपछि भिजन लुम्बिनीमा गरिएको लगानी दुरुपयोग हँुदैन भन्ने सुनिश्चितता भएको उल्लेख गरे । देशमा विश्वसनीय, पारदर्शी र अन्तर्राष्ट्रिस्तरमा काम गर्ने कम्पनीहरू पनि छन् भन्ने सन्देश दिन भिजन लुम्बिनी सक्षम भएको धारणा उनले राखे । नेपालमा भिजन लुम्बिनीजस्ता व्यवस्थित र पारदर्शी कम्पनीहरू पनि धेरै छन् भन्ने सन्देश दिएर नेपाली सञ्चारमाध्यमले व्यावसायिक विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए । 

कार्यक्रममा प्रमाणपत्र प्रदान गर्नका लागि मूल्यांकनको जिम्मेवारी लिएको संस्थाका प्रतिनिधि सन्तोष गिरीले तीन महिनासम्म कम्पनीको सर्वपक्षीय मूल्यांकन गरेर मात्रै अन्तर्राष्ट्रिय गुणस्तर चिह्न र प्रमाणपत्र प्रदान गरिएको जानकारी दिए ।

सुझावित समाचार