विद्युतीय धरापमा परी बालिकाको मृत्यु : जग्गाधनीले बोरामा पोको पारी गाडेका थिए शव

मंगलबार, २५ चैत, २०८१
डिजिटल संस्करण

जंगली जनावरबाट मकै बाली जोगाउन थापेको विद्युतीय धरापमा परेर घाँस काट्न गएकी १३ वर्षीया बालिकाको मृत्यु भएको ठहरसहित धराप थापेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएको छ । 

सिराहाको गोलबजार नगरपालिका– ९ गोविन्दपुर गाउँका करिब २४ वर्षीय वीरबहादुर सार्कीलाई बालिकाको शव भेटिएको १३औँ दिन २४ चैतमा पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । उनका अनुसार सार्कीलाई ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालत सिराहाबाट सात दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर अनुसन्धान भइरहेको छ । 

वीरबहादुर सार्की

गत २९ फागुन बिहानदेखि हराइरहेकी स्थानीय बेचन अलिकी छोरी गुलसना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा घुर्मी खोलाको किनारमा फेला परेको थियो । घरबाट घाँस काट्न जान्छु भन्दै हिँडेकी छोरी हराएको भोलिपल्ट आमा जेहदाले १ चैतमा खोजीका लागि मिर्चैया प्रहरीमा निवेदन दिएकी थिइन् । बालिका हराएको १३औँ दिन १२ चैतमा बोरामा बाँधेको शव सडेगलेको अवस्थामा भेटिएको थियो । सडेगले पनि मृतककी काका पर्ने सफिजुल रहमानले पहिचान र सनाखत गरिदिएका थिए । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव पोस्टमार्टम गरी दाहसंस्कार गरिएको थियो । 

त्यसलगत्तै मिर्चैया प्रहरीसहित केन्द्रीय अनुसन्धान ब्युरोको टोली, मधेश प्रदेश प्रहरी कार्यालयको टोलीले अनुसन्धानको क्रममा २४ चैतमा सार्कीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उक्त घटनामा बरामद दशीका रुपमा बालिकाले घाँस काट्न लगेको हँसिया भेटिएको छ । 

अनुसन्धानको क्रममा २९ फागुनको बिहान करिब ९ बजेतिर सार्कीले जंगली जनावरबाट आफ्नो मकै जोगाउन विद्युतीय धराप लगाएको र केहीबेरमै बालिका चिच्याएको अनुसन्धानको क्रममा पाइएको प्रहरीले जनाएको छ । घटनापछि खैरो कालो सल, कुर्ता–सुरुवाल लगाएकी बालिका तारनजिक लडिरहेको र नजिकै हँसिया, रातो चप्पल, नीलो रंगको बोरा भेटिएपछि सार्कीले बोरामा हालेर शवलाई घुर्मी खोला किनारनजिक खाल्डो खनी पुरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
 

सुझावित समाचार