लागुऔषध दुर्व्यसन र ओसारपसारविरुद्ध तीन महिने अभियान थालनी

शुक्रबार, २१ चैत, २०८१
डिजिटल संस्करण

लागुऔषध दुर्व्यसनले व्यक्तिको स्वास्थ्य, परिवार तथा समाजलाई पुर्‍याउने क्षतिसँगै त्यसको कुलतमा परेका व्यक्तिबाट हुन सक्ने आपराधिक घटना, त्यसको नकारात्मक असरबारे जनचेतना विस्तार गर्ने उद्देश्यले शुक्रबारदेखि सिराहामा लागुऔषध दुर्व्यसन र ओसारपसारविरुद्ध तीनमहिने अभियान थालिएको छ ।

जिल्ला प्रशासन कार्यालयको संयोजनमा प्रहरी, स्थानीय सरकार, सामाजिक संघसंस्थालगायतको सहकार्यमा शुक्रबार जिल्ला सदरमुकाम सिराहाबाट अभियान थालिएको हो । जिल्ला प्रहरी कार्यालयअगाडि थाना चोकबाट शुक्रबार बिहान थालिएको शुभारम्भ र्‍यालीमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधि, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधि, विद्यार्थीहरूको सहभागिता रह्यो । 

सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार आगामी २९ जेठ ०८२ सम्म लागुऔषध दुर्व्यसनविरुद्ध काम गरिरहेका संघसंस्था, स्थानीय प्रहरी र स्थानीय तहको संयोजनमा जिल्लाका १७ वटै पालिकामा अभियान सञ्चालन गरिनेछ । अभियानअन्तर्गत हरेक पालिकाका कम्तीमा पाँचवटा विद्यालयमा लागुऔषध दुर्व्यसन र ओसारपसार, त्यसले पार्ने असरलगायतको विषयमा छलफल गरिने र सडकनाटकसमेत प्रदर्शन गरिने उनले बताए । 

त्यसबाहेक अभियान अवधिका लागि गोलबजार र सिराहास्थित पुनर्स्थापना केन्द्र र सुरक्षा निकायको समन्वयमा जिल्लाको मुख्य नाकाको रूपमा रहेको माडरमा लागुऔषध दुर्व्यसन र ओसारपसारविरुद्ध सचेतना डेस्क सञ्चालन गरिने जनाइएको छ । 

सुझावित समाचार