तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शन : थप १८ जनालाई राज्यविरुद्धको कसुर र आपराधिक उपद्रव मुद्दा

बुधबार, १९ चैत, २०८१
डिजिटल संस्करण
तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शन : थप १८ जनालाई राज्यविरुद्धको कसुर र आपराधिक उपद्रव मुद्दा

काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेका थप १८ जना व्यक्तिहरु । तस्बिर : नेपाल प्रहरी

आगजनीले थलिएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी
 

१५ चैतमा राजावादी प्रदर्शनकारीले आगजनी गरेपछि खण्डहर बनेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

गत शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप १८ जनाविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका १८ विरुद्ध म्याद मिलान गर्न मंगलबार जिल्ला अदालत काठमाडौं लगेको थियो । अदालतले थप अनुसन्धानका लागि तीन दिनको म्याद मिलान गरेको छ । जसमध्ये आठजनालाई राज्यविरुद्धको कसुर र संगठित अपराधअन्तर्गत म्याद मिलान भएको छ । बाँकी दशजनालाई आपराधिक उपद्रव र संगठित अपराधमा म्याद मिलान भएको छ । 

  • एसपी अपिलराज बोहरा प्रवक्ता, जिल्ला प्रहरी परिसर काठमाडौं
  • तीनकुने घटनामा पक्राउ परेका १८ जनाविरुद्ध तीन दिनको म्याद मिलान भएको छ । जसमध्ये आठजनाविरुद्ध राज्यविरुद्धको कसुर, संगठित अपराध र बाँकी दशजनाविरुद्ध आपराधिक उपद्रव र संगठित अपराध कसुरमा म्याद मिलान भएको छ । उनीहरूविरुद्धको अनुसन्धान प्रक्रिया अघि बढेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले पक्राउ परेकामध्ये आठजनाविरुद्ध राज्यविरुद्धको कसुर, संगठित अपराध र बाँकी दशजनाविरुद्ध आपराधिक उपद्रव र संगठित अपराध कसुरमा म्याद मिलान भई अनुसन्धान प्रक्रिया अघि बढेको बताए । ‘तीनकुने घटनामा पक्राउ परेका १८ जनाविरुद्ध तीन दिनको म्याद मिलान भएको छ । जसमध्ये आठजनाविरुद्ध राज्यविरुद्धको कसुर, संगठित अपराध र बाँकी दशजनाविरुद्ध आपराधिक उपद्रव र संगठित अपराध कसुरमा म्याद मिलान भएको छ । उनीहरूविरुद्धको अनुसन्धान प्रक्रिया अघि बढेको छ,’ उनले भने ।

प्रहरीका अनुसार राज्यविरुद्धको अपराध र संगठित कसुरअन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाइएकामा कुमार बस्नेत, अनिलकुमार थापा, तारानाथ बोहरा, दानबहादुर न्यौपाने, उमेश तामाङ, भानुभक्त पौडेल, विष्णुजंग बस्नेत र देवीप्रसाद संग्रौला छन् । त्यस्तै, आपराधिक उपद्रवतर्फ लोकबहादुर बस्नेत, सरिता केसी, सीतादेवी राई, रविरञ्जनकुमार सिंह, आशिककुमार महतो, प्रेमकुमार सिंह, राधेश्याम यादव, वरुण यादव, गोविन्द राय र दिनेश खड्का छन् । यसअघि अदालतले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवलशमशेर राणासहित ४१ विरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधमा म्याद थप गरेको थियो । उनीहरूविरुद्ध थप गरिएको म्याद मंगलबार राति १२ बजे सकिँदै छ । उनीहरूविरुद्ध थप अनुसन्धानका लागि बुधबार म्याद मिलान हुनेछ । कसुर प्रमाणित भए पक्राउ परेकाविरुद्ध साढे सात वर्ष कैद र ७५ हजार रुपैयाँसम्मको जरिवाना हुने सक्नेछ । 

मुलुकी अपराध संहिता ऐन, २०७४ भाग २ को फौजदारी कसुर परिच्छेद १ मा राज्यविरुद्धको कसुरलाई व्याख्या गरिएको छ । ऐनको दफा ४९ मा को उपदफा ४ मा सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा प्रादेशिक अखण्डता, राष्ट्रिय वा राष्ट्रिय एकता, नेपालको स्वाधीनता, स्वाभिमान वा संघीय इकाइबिचको सुसम्बन्ध खलल परे राज्यविरुद्धको अपराध ठहरिन्छ । ‘कसैले नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता वा राष्ट्रिय एकता, नेपालको स्वाधीनता, स्वाभिमान वा संघीय इकाइबिचको सुसम्बन्ध खलल पर्न सक्ने गरी वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरू कुनै आधारमा घृणा, द्वेष वा अवहेलना उत्पन्न हुने कुनै कामकारबाही गर्न वा गराउन वा त्यस्तो गर्ने उद्योग गर्न वा दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने षड्यन्त्र गर्न वा विभिन्न जात वा सम्प्रदायबिचको सुसम्बन्ध खलल गर्नु वा गराउनु हुँदैन,’ ऐनमा भनिएको छ । 

पत्रकार रजकको शरीरमा गोली भेटिएन, पोस्टमार्टमको प्रक्रिया अघि बढ्यो
तीनकुनेमा राजवादीले गरेको प्रदर्शनका क्रममा आगजनीमा परी मृत्यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोलीको दाग भेटिएन । मंगलबार साँझ गरिएको एक्सरेपछि उनको शरीरमा गोली लागेको दाग नभेटिएको हो । यससँगै शवको पोस्टमार्टम प्रक्रिया अघि बढेको छ । रजक एभिन्युज टेलिभिजनमा कार्यरत थिए । प्रदर्शनको भिडियो खिच्ने क्रममा आगलागीमा परी उनले ज्यान गुमाएका थिए । उनी गत १५ चैतमा राजावादी समूहले आयोजना गरेको प्रदर्शनको भिडियो संकलन गर्न तीनकुनेस्थित एक निजी घरमा पुगेका थिए । एभिन्युज टेलिभिजनका सम्पादक सुशील पाण्डेले शवको एक्सरे भएको र गोलीको दाग शरीरमा नदेखिएको बताए । 

रजकको शव महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । रजक परिवारले घटनाको स्वतन्त्र अनुसन्धान हुनुपर्ने, उनलाई सहिद घोषणा गरिनुपर्ने र क्षतिपूर्तिको व्यवस्थासमेत हुनुपर्ने माग राखेका छन् । तीनकुने घटनामा ज्यान गुमाउने कीर्तिपुरका सविन महर्जनको भने मंगलबार साँझ दाहसंस्कार भएको छ । पशुपतिनाथ आर्यघाटमा उनका बाबु श्रीकृष्ण महर्जनले दागबत्ती दिए । शुक्रबार राजावादीको प्रदर्शनका क्रममा तीनकुनेमा प्रहरीको गोली लागेर उनको मृत्यु भएको थियो । प्रहरीले पोस्टमार्टमका लागि उनको शव शिक्षण अस्पताल लगेको थियो । उनको दायाँ हातको कुनामा गोली लागेको पाइएको छ । 

घाइते सबैको उपचार सरकारले गर्ने 
तीनकुने घटनामा घाइते भएका सबैको उपचार सरकारले गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले घाइतेको उपचार सरकारले गर्ने निर्णय गरेको हो । घटनामा प्रहरी र प्रदर्शनकारीतर्फ गरी ७० भन्दा धेरै घाइते छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले घाइतेको उपचार सरकारले गर्ने र उपचारको प्रबन्ध मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन भएको बताए । राजावादीको प्रदर्शनमा सहभागी नहुन पनि सरकारले अपिल गरेको छ । मंगलबार साँझ रास्वपा सांसदहरूले तीनकुने घटनामा गोली लागेर घाइते भई सिभिल अस्पतालमा उपचाररत रेविका खत्रीलाई भेटेका छन् ।

See More On

सुझावित समाचार