पत्रकार रजकको शरीरमा गोली भेटिएन, पोस्टमार्टमको प्रक्रिया अघि बढ्यो

बुधबार, १९ चैत, २०८१
डिजिटल संस्करण

तीनकुनेमा राजवादीले गरेको प्रदर्शनका क्रममा आगजनीमा परी मृत्यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोलीको दाग भेटिएन । मंगलबार साँझ गरिएको एक्सरेपछि उनको शरीरमा गोली लागेको दाग नभेटिएको हो । यससँगै शवको पोस्टमार्टम प्रक्रिया अघि बढेको छ ।

रजक एभिन्युज टेलिभिजनमा कार्यरत थिए । प्रदर्शनको भिडियो खिच्ने क्रममा आगलागीमा परी उनले ज्यान गुमाएका थिए । उनी गत १५ चैतमा राजावादी समूहले आयोजना गरेको प्रदर्शनको भिडियो संकलन गर्न तीनकुनेस्थित एक निजी घरमा पुगेका थिए । एभिन्युज टेलिभिजनका सम्पादक सुशील पाण्डेले शवको एक्सरे भएको र गोलीको दाग शरीरमा नदेखिएको बताए । 

रजकको शव महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । रजक परिवारले घटनाको स्वतन्त्र अनुसन्धान हुनुपर्ने, उनलाई सहिद घोषणा गरिनुपर्ने र क्षतिपूर्तिको व्यवस्थासमेत हुनुपर्ने माग राखेका छन् ।

तीनकुने घटनामा ज्यान गुमाउने कीर्तिपुरका सविन महर्जनको भने मंगलबार साँझ दाहसंस्कार भएको छ । पशुपतिनाथ आर्यघाटमा उनका बाबु श्रीकृष्ण महर्जनले दागबत्ती दिए ।

शुक्रबार राजावादीको प्रदर्शनका क्रममा तीनकुनेमा प्रहरीको गोली लागेर उनको मृत्यु भएको थियो । प्रहरीले पोस्टमार्टमका लागि उनको शव शिक्षण अस्पताल लगेको थियो । उनको दायाँ हातको कुनामा गोली लागेको पाइएको छ । 

सुझावित समाचार