लुम्बिनीमा उपकुलपतिहरूको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

मंगलबार, १८ चैत, २०८१
डिजिटल संस्करण

लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति र १८औँ न्युज (पूर्व, पश्चिम, उत्तर, दक्षिण) सम्मेलन हुन भएको छ।

चौथो औद्योगिक क्रान्तिका लागि मानव संसाधनको विकास र उच्च शिक्षासम्बन्धी विश्वव्यापी संवादलाई प्रवर्द्धन गर्न यही २० र २१ चैतमा सम्मेलन हुन लागेको हो। उच्च शिक्षामा बौद्ध दर्शन अन्तर्राष्ट्रिकरण, प्राज्ञिक नेतृत्वमा बौद्ध दर्शन र नैतिकता, चौथो औद्योगिक क्रान्तिमा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, नेपालको उच्च शिक्षाका चुनौती र अवसर विषयमा केन्द्रित रही सम्मेलन हुने विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले बताए।

बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालय लुम्बिनीमा हुन लागेको सम्मेलनमा पहिलो दिन उद्घाटनसत्रपछि मानव संसाधन व्यवस्थापनमा बौद्ध दर्शनको उपयोग, श्रमबजारमा कृत्रिम बौद्धिकता (एआई)को प्रयोग, उच्च शिक्षाका लागि क्षेत्रीय सहयोग र सञ्जाल निर्माण तथा मानव संसाधन व्यवस्थापनमा संस्थागत भूमिका विषयमा २४ वटा कार्यपत्र प्रस्तुत हुनेछन्। सम्मेलनमा ११ देशका अध्येताले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

दोस्रो दिन उपकुलपति सम्मेलन हुनेछ। उपकुलपति सम्मेलनमा नेपाल, भारत, जापानका विश्वविद्यालयका उपकुलपतिहरूको सहभागिता रहनेछ। सम्मेलनमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, भारतको नालन्दा विश्वविद्यालय, सिद्धार्थ विश्वविद्यालय, नेपालका मध्यपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, नेपाल विश्वविद्यालय, विदुषी योगमाया हिमालय आर्युवेद विश्वविद्यालयका उपकुलपतिको सहभागिता रहनेछ। त्यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सहभागी हुने तय भएको छ। 

सम्मेलनमा लुम्बिनी प्राविधिक विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, मधेश विश्वविद्यालयका उपकुलपति तथा नेपाल संस्कृत विश्वविद्यालय र काठमाडाैं विश्वविद्यालयका रजिस्ट्रारको सहभागिता रहने जनाइएको छ। त्यस्तै, सम्मेलनमा लुम्बिनी बौद्ध विश्वविद्यालयसहित अन्य विश्वविद्यालयका पूर्वउपकुलपतिहरू पनि सहभागी हुनेछन्।

उपकुलपतिहरूको सम्मेलनमा हुने बौद्ध शिक्षाको विश्वव्यापीकरण तथा उच्च शिक्षाका चुनौती र अवसरका विषयमा हुने छलफलबाट प्राप्त निष्कर्षलाई लुम्बिनी घोषणापत्रका रूपमा सार्वजनिक गरिने लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले जानकारी दिए।

हरेक दिन बिहान ९ बजेदखि साँझ ५ बजेसम्म सम्मेलनका सत्रहरू चल्ने अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक राजेन्द्र घिमिरेले जानकारी दिए। उद्घाटन सत्रमा राष्ट्रिय योजना आयोगका उपाध्याक्ष प्रा.डा. शिवराज अधिकारीसहित संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारका प्रतिनिधिहरू, व्यावसायिक संघसंस्थाका प्रतिनिधिहरू, शैक्षिक संस्थाका प्रमुखहरू, अध्येता, अनुसन्धानकर्ताहरूको सहभागिता रहने जनाइएको छ। सम्मेलनमा नेपाल, कम्बोडिया, चीन, जर्मनी, भारत, जापान, लाओस, म्यानमार, श्रीलंका, थाइल्यान्ड र भियतनामका विज्ञ तथा अध्येताहरूको सहभागिता रहनेछ।

सुझावित समाचार