संसद्का दुवै सभामा प्रधानमन्त्री ओलीको सम्बोधन तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्र शाह जिम्मेवार, उन्मुक्ति नदिइने

मंगलबार, १८ चैत, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले शुक्रबार काठमाडौंमा भएको ताण्डवका लागि पूर्वराजा ज्ञानेन्द्र शाहलाई मुख्य जिम्मेवार ठहर्याउँदै उनीमाथि थप कारबाही हुन सक्ने संकेत गरेका छन् । सोमबार संघीय संसद्को दुवै सदनलाई छुट्टाछुट्टै सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनकुने घटनाको जिम्मेवार जुनसुकै भूमिका र पृष्ठभूमिका व्यक्ति भए पनि सरकारले कारबाही गर्ने बताए । 

प्रधानमन्त्री ओलीले घटनाको मूल जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने उल्लेख गरे । ‘यी सबै घटनाका मूल जिम्मेवार ज्ञानेन्द्र शाह हुन्, उनले यसको जिम्मा लिनुपर्छ । छानबिन र कारबाहीको प्रक्रिया अघि बढिरहेको छ,’ ओलीले भने, ‘आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनुहुँदैन । पूर्वराजा शाहले पनि उन्मुक्ति पाउनुहुन्न ।’

प्रधानमन्त्री ओलीले घटनाबारे पूर्वराजा शाहले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताए । घटनाबारे पूर्वराजा ज्ञानेन्द्रले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृंखलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ? मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमान्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक छन् । धनजनको क्षति र लुटपाट भएको छ । शासक बन्ने मनसुवा बोक्ने व्यक्ति यी घटनामा सिरकभित्र चुपचाप कसरी हुन सक्छ ?’ ओलीले प्रश्न गरे । 

नागरिकको हैसियतमा शान्त जीवन बिताउने सहमति ज्ञानेन्द्रले तोडेको प्रधानमन्त्री ओलीको आरोप छ । ‘प्रारम्भिक अध्ययनमा यी सबै घटनाले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन गर्नुभएको स्पष्ट छ,’ उनले भने । नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी नागरिकको हैसियतमा शान्त जीवन बिताउने र पूर्वराष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने सहमति तोडिएको छ ।’

प्रधानमन्त्री ओलीले १५ चैतको घटनाको तयारी एक वर्षदेखि भएको भन्दै घटनाक्रम उल्लेख गरे । ‘सरकार, व्यवस्था र संविधानप्रति अनास्था, घृणा र भ्रम फैलाउन एउटा तत्व त्यसै वेलादेखि क्रियाशील थियो र मौका खोजिरहेको थियो,’ उनले भने, ‘धर्म, संस्कृति, परम्पराजस्ता संवेदनशील विषयमा अनावश्यक टिप्पणी गरी साम्प्रदायिक सद्भाव बिथोल्ने र खास समुदायमाथि आक्रमणमा उक्साउने काम गर्दै थियो । ऋण तिर्न पर्दैन भन्दै ऋणीहरूको भावनात्मक संवेदनामाथि खेल्ने र बैंक वित्तीय संस्था ध्वस्त पार्ने खेतीमा त्यो तत्व सक्रिय थियो ।’

यसैबिच पूर्वराजा शाहले ७ फागुनमा ‘अघि बढ्ने, साथ देऊ’ भन्दै वक्तव्यबाजी गरेको, लगत्तै ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउन थालिएको, २५ फागुनमा कथित ‘स्वागत–सवारी’ आयोजना गरिएको र १४ चैतमा समाज बिथोल्न लागिपरेका एकजना अवाञ्छित व्यक्ति (दुर्गा प्रसाईं) लाई आफ्नै निवासमा डाकेर कथित जनकमान्डर तोकेर हिंसात्मक वारदातका लागि खटाएको ओलीले उल्लेख गरे । 

तीनकुनेमा राजावादीले उत्तेजक प्रदर्शन गरेको, अराजनीतिक नारा लगाएको, प्रदर्शनको कथित जनकमान्डर आफैँले हाँकेको गाडी प्रहरीमाथि नै चढाउने गरी निषेधित क्षेत्र तोड्न दौडाएको भन्दै आलोचना गरे । भिड नियन्त्रण गर्न प्रशासनले गरेको प्रयासका विरुद्ध, प्रहरीमाथि आक्रमण गर्ने, ढुंगामुुढा गर्ने, प्रहरीको बन्दुक खोस्ने, गुन्डागर्दी र कुटपिट गर्ने, लुटपाट गर्नेजस्ता वारदात गरिएको ओलीले उल्लेख गरे । 

‘हुँदा–हुँदा निजी व्यक्तिको घर, सार्वजनिक भवन, सञ्चार गृह, पार्टी कार्यालय, औषधि कारखाना र सवारीका साधनमाथि ढुंगामुढा गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने र डिपार्टमेन्टल स्टोरहरू लुटपाट गर्नेजस्ता आपराधिक घटना सुरु गरियो । निजी व्यक्तिको घरमा आगजनी मात्रै गरिएन, मानिसलाई भित्रै थुनेर बाहिरबाट ताला लगाई जिउँदै डढाउने हिंस्रक, आतातायी कार्य भयो । प्रहरीका सवारीसाधन मात्रै हैन, आगो निभाउन आएका दमकलमाथि आक्रमण गरियो,’ उनले भने, ‘यी सबै निन्दनीय र खेदजनक कार्य हुन् । यस्ता घटनामा संलग्नहरूमाथि जोसुकै होऊन्, जुनसुकै कभरमा किन नहोऊन्, कडा प्रशासनिक कारबाही हुन्छ ।’ 

घटनाको विस्तृत विवरण उपयुक्त समयमा गृहमन्त्रीले सदनमा जानकारी गराउने पनि ओलीले सुनाए । ‘घटनामा संलग्नहरूमाथि छानबिन सुरु भएको छ,’ ओलीले भने, ‘योजनाकार र संलग्नहरू अनुसन्धानबाट पत्ता लागेपछि विस्तृत प्रतिवेदन आउँछ ।’ओलीले १५ गते दुइटा राजनीतिक कार्यक्रम भएको र सामाजवादी मोर्चाले प्रदर्शनीमार्गमा शालिन जुलुससहित भव्य सभा गरेर संविधान र व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता जनाएको भन्दै धन्यवाद दिए । 

प्रधानमन्त्री बोल्दा राप्रपा सांसदले नियमापत्ति गरेका थिए । प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नियम २१ र २६ उल्लेख गर्दै नियमापत्तिका लागि होहल्ला गरे पनि प्रधानमन्त्री रोकिएनन् । सभामुखले एकछिन रोकिनुस् प्रधानमन्त्रीभन्दा पनि ओली लिखित भाषण पढेर अगाडि बढेका थिए । राप्रपा सांसद उभिएर विरोध गरिरहेका थिए । सम्बोधन सकिएपछि सभामुख देवराज घिमिरेले शाहीलाई नियमापत्तिका लागि समय दिए । 

शाहीले पूर्वराजाको ‘स्वागत–सवारी’लाई प्रधानमन्त्रीले कथित भनेकामा नियमापत्ति गर्दै यो असंसदीय शब्द भएकाले रेकर्डबाट हटाउन माग गरेका थिए । त्यसपछि सत्तापक्ष एमाले सांसद उठेर प्रतिवाद गरेका थिए । प्रधानमन्त्री बोल्दै गर्दा अवरोध गरिएको भन्दै एमाले मुख्य सचेतक महेश बर्ताैलाले अवरोध गर्दाका शब्द रेकर्डबाट हटाउन माग गरेका थिए । 

आफू बोल्दा राप्रपाले होहल्ला गरेपछि प्रधानमन्त्री ओलीले अन्तिममा प्रतिवाद गरेका थिए । ‘संसद् संविधानसभा जसले लोकतान्त्रिक प्रणालीलाई व्यवस्थित ग¥यो, गणतन्त्र घोषणा गर्यो, राजतन्त्रलाई बिदा गर्यो, त्यो गरिमामय संसद्मा आएर फेरि राजतन्त्रलाई ब्युँताउँछुु भन्ने, लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको विरोध गर्ने, संघीय लोकतन्त्रको विरोध गर्ने र गणतन्त्रको विरोध गर्ने संसद्मा संविधानसम्मत हुँदैन । असंवैधानिक क्रियाकलाप गर्ने थलो संसद् हुन सक्दैन,’ उनले भने । 

‘कुलमान बर्खास्ती मामुली कुरा’
सिंगो देशको ध्यान खिचेको र अदालती प्रक्रियामा समेत गैसकेको नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ बर्खास्ती प्रकरणलाई प्रधानमन्त्री केपी ओलीले सामान्यकरण गर्ने प्रयास गरेका छन् । प्रधानमन्त्री ओलीले कुलमानलाई कार्यकालको चार महिनाअगावै हटाउनुको स्पष्ट कारण भने खुलाएनन् । ‘अहिले यो विषय सम्मानित अदालतमा विचाराधीन छ । यसमा थप चर्चा–परिचर्चा गर्न विधिसम्मत हुन्न,’ उनले भने, ‘त्यसैले यस विषयमा थप बहस नगरौँ । अहिलेको परिस्थिति स–साना विषयमा ठुलो बहस चलाउने परिस्थिति पनि होइन, अवस्था पनि छैन ।’

प्रधानमन्त्री ओलीले कर्मचारीहरूको गुण/दोष टिप्पणी गर्ने स्थल संसद् नभएको र त्यसको छुट्टै प्रक्रिया भएको टिप्पणी गरे । ‘राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई कारबाही गर्ने विधि यसै सदनले निर्धारण गरेको छ,’ उनले भने । ओलीले कर्मचारी विभागीय मन्त्रीप्रति बफादार हुनुपर्ने पनि बताए । ‘यति चाहिँ भनौँ, सामान्यतः कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने चेन अफ कमान्डले काम गर्दैन । लोयल्टी देखिएन भने कारबाहीको विषय बन्छ,’ ओलीले भने, ‘विभागीय मन्त्रीको फिलिङ सही कि गलत ? मन्त्रिपरिषद्ले गरेको कारबाही ठीक छ/छैन ? जाँच्ने निकाय छन् । त्यसको पनि परीक्षण ठाउँमै होला,’ उनले भने । निर्णयमा चित्त नबुझ्ने पक्षले कानुनी उपचारको हक राख्ने ओलीको भनाइ थियो । 

ओलीले कर्मचारीको विषयमा संसद्मा बहस गर्नुभन्दा यो परिस्थिति आउन नदिने गरी राजनीतिक नियुक्तिहरू सरकार फेरिनेबित्तिकै फेरिने विधि बनाउन प्रस्ताव गरे । ‘बरु अबदेखि लोकसेवाबाट नियुक्ति हुनेबाहेक अन्य प्रक्रियाबाट सरकारले नियुक्त गरेका व्यक्तिहरू सरकार फेरिँदा स्वतः पदमुक्त हुने विधि अपनाए हुन्छ, त्यो गरौँ,’ उनले भने, ‘सल्लाहकारदेखि, महान्यायधिवक्ता र राष्ट्रिय योजना आयोगसम्म त अहिले पनि प्रधानमन्त्री फेरिँदा स्वतः फेरिने व्यवस्था गरेका छौँ । खासगरी लोकसेवाले नियुक्त गरेकाबाहेक अरू त्यही विधिमा जाऔँ । यसमा सल्लाह गरौँ ।’

कुलमानलाई कार्यकालअगावै बर्खास्ती प्रकरणमा प्रधानमन्त्रीको जवाफ मागेर विपक्षी दलहरूले १३ चैतदेखि संसद्मा अवरोध गरेको पाँचौँ दिनमा ओलीले प्रतिनिधिसभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै जवाफ दिएका हुन् । प्रधानमन्त्रीको जवाफसँगै सदनको गतिरोध हटेको छ भने सोमबार ६ विधेयक पारित भएका छन् । आफ्नो सम्बोधनमा प्रधानमन्त्री ओलीले आफ्नो मंगलबारदेखि (१९–२३ चैतसम्म) हुन लागेको थाइल्यान्ड भ्रमण, १५ चैतको राजावादी हिंसात्मक प्रदर्शन र ११ चैतमा मन्त्रिपरिषद्ले कुलमान घिसिङलाई गरेको बर्खास्तीबारे स्पष्टीकरण दिएका थिए । 

कुलमान बर्खास्तीबारे प्रधानमन्त्रीको जवाफमा विपक्षी सांसदहरूले असन्तुष्टि 
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलार्ई बर्खास्ती गर्ने सरकारको निर्णयबारे प्रधानमन्त्री केपी ओलीले सदनलाई दिएको जवाफमा विपक्षी सांसदहरूले असन्तुष्टि जनाएका छन् । माओवादी सांसद रेखा शर्मा र रास्वपा सांसद मनीष झाले कुलमानको बर्खास्ती प्रकरणमा प्रधानमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको बताए । कांग्रेस सांसद विश्वप्रकाश शर्माले यसमा सरकारले गल्ती गरेको र अदालतमा गैसकेकाले पर्खनुपर्ने धारणा राखे । 

‘जसले घाटामा रहेको विद्युत् प्राधिकरणलाई मुनाफामा लगे, ९९ प्रतिशत घरमा बिजुली पुर्याए । यो योगदानलाई नजरअन्दाज गरेर कुनै तथ्यविना प्रधानमन्त्री एउटा कर्मचारी हटाएको र अर्काे नियुक्त गरेको भनेर जसरी सामान्य रूपमा बोल्नुभयो, त्यो खेदजनक छ,’ रेखा शर्माले भनिन्, ‘सरकार देशभक्त कर्मचारीको विपक्षमा गइरहेको हो भने यसले लोकतन्त्र र संविधान थप कमजोर बनाउँछ ।’ 

रास्वपा सांसद मनीष झाले पनि कुलमान घिसिङ बर्खास्ती प्रकरणमा प्रधानमन्त्रीको जवाफमा आपत्ति जनाए । ‘प्रधानमन्त्रीले एउटा कर्मचारीको सरुवा हुँदा ऊ मन्त्रीप्रति लोयल नहुँदा हो भन्नुभयो । म सोध्न चाहन्छु, कर्मचारी राज्यप्रति लोयल हुने कि मन्त्रीप्रति ? मन्त्रीको चाप्लुसी गर्न कोही कर्मचारी आउँछ । संस्थाप्रति लोयल हुने कर्मचारी हामीलाई चाहिएको हो, मन्त्रीप्रति होइन,’ उनले भने । झाले तीनकुने घटनाको उच्चस्तरीय न्यायिक आयोग बनाएर छानबिन गर्न माग गरे । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कुलमानलाई हटाएर सरकारले गल्ती गरेको बताए । ‘कुलमान घिसिङलाई बाँकी अवधि काम गर्न दिनुपथ्र्यो । सरकारले हटाएर गल्ती गरेको छ,’ उनले भने, ‘अब यसबारेमा अदालतको फैसला पर्खिनुपर्छ । अदालतमा हुने फैसला नै लोकतन्त्रमा सर्वोपरि हुन्छ ।’

एमाले सचिव योगेश भट्टराईले निर्मलनिवासबाट लफंगाहरूलाई माला लगाएर पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुनेमा जनताको घर जलाउन पठाएको टिप्पणी गरे । शाहले सरकारसँग भएको सहमति तोडेकाले उनलाई राज्यले दिएको सेवा–सुविधा रोक्नुपर्ने उनको भनाइ थियो । ‘पूर्वराजा शाहलाई सरकार पूर्वराष्ट्राध्यक्षको हिसाबले यो राज्यले सेवा सम्मान दिन्छ भनेर दिएको हो । आज त्यो सम्झौता पनि उहाँले भंग गर्नुभयो । अब उहाँलाई दिएको सेवा–सुविधा कायम हुन्छ कि हुँदैन ?’ उनले सोधे । 

माओवादी सांसद रेखा शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताइन् । गणतन्त्रमा सबै गर्ने छुट नभएको, जनतालाई सेवा, सुशासन दिनुपर्ने उनको भनाइ थियो । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले तीनकुने घटनामा आन्दोलनकारी मात्रै नभई राज्यले पनि नागरिकमाथि ज्यादती गरेको बताए । लिङ्देनले घटनाको छानबिनका लागि न्यायिक आयोग गठनको माग गरे । घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूलाई सहिद घोषणा गर्न पनि माग गरे । 

सुझावित समाचार