ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको महत्त्वलाई ध्यानमा राखी सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका अस्पताल तथा बर्थिङ सेन्टरहरूमा नवजात शिशुको शारीरिक तापक्रमलाई उचित राख्न र हाइपोथर्मिया (अल्पताप)को जोखिमबाट जोगाउन आवश्यक बेबी वार्मर (न्यानो नानी) मेसिनहरू प्रदान गरेको छ। बैंकले सुदूरपश्चिम प्रदेशका पहाडी भेगका अति दुर्गम चार स्थानमा सो मेसिन जडान गरेको छ। दुर्गम क्षेत्रमा सुरक्षित प्रसूति सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले आफ्ना शाखा नभएका यी स्थानहरूमा पनि बेबी वार्मर प्रदान गरेको हो।
ज्योति विकास बैंकको पहलमा बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकास्थित श्रीकोट हेल्थपोस्टमा बेबी वार्मर जडान गरिएको छ। साथै, दार्चुला जिल्लाको लेकम नगरपालिका– ०२, शर्मौली अवस्थित शर्मौली हेल्थपोस्ट र अपि हिमाल गाउँपालिका– ५, सौगन्नामा अवस्थित सौगन्ना आधारभूत स्वास्थ्य केन्द्रमा पनि बेबी वार्मर जडान गरिएको छ। यसका अतिरिक्त, बैंकले बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका– २, ब्रह्मटोल अवस्थित ब्रह्मटोल हेल्थपोस्टमा पनि बेबी वार्मर जडान गरेको छ। बुढीगंगा नगरपालिकाकै पहिलो बेबी वार्मरले उक्त क्षेत्रको प्रसूति सेवामा थप सहजता पुग्ने भएकाले सम्बन्धित निकायहरू पनि थप उत्साहित भएका छन्। विभिन्न कार्यक्रमहरूमार्फत बैंकका मार्केटिङ, ब्रान्डिङ तथा डिपोजिट सेल्स विभाग प्रमुख कुशलजंग अधिकारीद्वारा उक्त स्वास्थ्य चौकीहरूका पदाधिकारीलगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरूको उपस्थितिबिच सो बेबी वार्मर औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । साथै, सोही अवसरमा अस्पतालका डाक्टर, नर्सलगायत सम्बन्धित कर्मचारीहरूलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत यी चारवटा अस्पताल तथा बर्थिङ सेन्टरसहित हालसम्म देशभर ५९ वटा बेबी वार्मर मेसिनहरू प्रदान गरिसकेको छ। यी उपकरणहरूमार्फत हरेक वर्ष करिब दुई हजार ६५ भन्दा बढी नेपाली शिशुलाई यो सुविधा उपलब्ध गराई अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। विशेष गरी ग्रामीण क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र यसका कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई हृदयंगम गर्दै बैंकले उक्त मेसिन प्रदान गर्दै आएको छ। साथै हालसम्मको योगदानले करिब १० हजार ३२५ भन्दा बढी शिशु प्रत्यक्ष रूपमा यस सेवाबाट लाभान्वित भएका छन्। यस्ता जीवन रक्षण गर्ने अत्युत्तम क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत सुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिबद्ध रहेको छ। यस विकास बैंकले राष्ट्रप्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको आर्थिक वर्षमा करिब रु. ४० करोडले राजस्वमा योगदान पुर्याएको छ। साथै, चालू आर्थिक वर्षको पुस मसान्तसम्म करिब रु. १५ करोड राजस्वस्वरूप बुझाइसकेको छ।
ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर तथा ७५ वटा एटिएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।