मकवानपुरको कैलाश गाउँपालिका– २ मा अवस्थित कैलाशडाँडा र वैकुण्ठ क्षेत्र अहिले पर्यटकीय गन्तव्यका रूपमा विकास भइरेको छ । प्राकृतिक सौन्दर्यता, हावापानी र धार्मिक तथा पर्यटकीय महत्वको कैलाश वैकुण्ठमा डाँफे–मुनाल पार्क निर्माण गरिएको छ ।
मकवानपुरको पालुङबाट करिब तीन घण्टाको कच्ची सडक यात्रापछि कैलाशको वैकुण्ठ पुग्न सकिन्छ भने धादिङको मलेखु र आदमघाटबाट पनि वैकुण्ठ पुग्ने सडक बनिसकेको छ । राक्सिराङ गाउँपालिकाको खैराङबाट पनि वैकुण्ठसम्म पुग्न सकिने गरी सडक निर्माण भइसकेको छ । हिउँदयाममा मकवानपुरको मनहरीबाट करिब साढे दुई घण्टामै वैकुण्ठ डाँडा पुग्न सकिन्छ ।
ऐतिहासिक गाउँका रूपमा रहेको वैकुण्ठमा तामाङले घाटु नाच नाच्ने प्रचलन छ । घाटु नाच गुरुङको संस्कृति भए तापनि वैकुण्ठ गाउँमा मात्रै तामाङ जातिले घाटु नाच नाच्ने संस्कृति विकास गरेका छन् । यहाँ हरेक वर्ष जेठको चण्डीपूर्णिमामा मेला लाग्नुका साथै तामाङ जातिको घाटु नाच देखाइने गरिन्छ । संघीयता कार्यान्वयनमा आएपछि स्थानीय तहले विकट क्षेत्रमा रहेको सो स्थानलाई पर्यटनको केन्द्र बनाउने गरी अघि बढाएको गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले बताए । हाल उक्त क्षेत्रमा पदयात्रा गर्नेहरूको आवागमन बढेको उनले बताए ।
धादिङ, मकवानपुर र चितवनबाट घुम्न आउने पर्यटकको संख्या पनि बढ्दो रहेको उनले बताए । वैकुण्ठमा करिब एक करोडको लगानीमा जिपलाइन निर्माणको कामसमेत अन्तिम चरणमा रहेको उनको भनाइ छ । ऐतिहासिक विष्णु कुण्ड, गुफा, तामाङ जातिको परम्परागत सांस्कृतिक सम्पदा रहेका कारण पर्यटकीय हिसाबले वैकुण्ठ निकै महत्वपूर्ण मानिएको अध्यक्ष मुक्तानले बताए ।
अध्यक्ष मोक्तानका अनुसार प्रदेश सरकारले २० लाख लगानी गरिदिएपछि डाँफे–मुनाल पार्कनजिकैको डाँडामा आकर्षक डम्फुपार्क निर्माण गरिएको छ । ऐतिहासिक वैकुण्ठ डाँडामै गाउँपालिकाले २२ लाख लगानी गरी टासी फर्पे छोयलिङ गुम्बा निर्माण गरेको उनले बताए । डाँफे–मुनाल पार्ककै तलपट्टि अग्लो डाँडाको समथल ठाउँमा सधैँ पानी जमिरहने पोखरीलाई विष्णु कुण्डको नाम दिइएको उनको भनाइ छ । सो विष्णु कुण्डलाई संरक्षण गर्दै कुण्डको बिचमा गाउँपालिकाले १५ लाख खर्चिएर राखेको बौद्ध धर्मका धर्मगुरु पद्म सम्भवको आकर्षक मूर्तिले पनि पर्यटकलाई उत्तिकै लोभ्याउँछ ।