लघुबिमामार्फत करिब साढे ४० लाख नागरिक जीवन बिमा सेवामा जोडिएका छन् । नेपाल बिमा प्राधिकरणबाट प्राप्त तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०८१/८२ को फागुन मसान्तसम्म ४० लाख ४६ हजार तीन सय ४९ लघु बिमालेख सक्रिय छन् । बिमा पहुँचको बिमा पहुँच मापन सक्रिय बिमालेखकै आधारमा गरिन्छ ।
यद्यपि, कतिपयले दुई वा सोभन्दा बढी संख्यामा लघुबिमा पोलिसी खरिद गरेका पनि हुन सक्छन् । तर, त्यसको तथ्यांक भने प्राधिकरणसँग छैन । लघुबिमामा दोहोरो बिमालेख खरिद गर्ने प्रवृत्ति भने कम भएको कम्पनीहरू बताउँछन् ।
विशेष गरी न्यून आय भएका वर्गलाई विमामा समेट्न लुघबिमाको अवधारणा अघि बढाइएको हो । यसमा बढीमा पाँच लाख रुपैयाँसम्मको बिमांक राखेर बिमा गर्न सकिनेछ । लघुबिमाले न्यून आय भएका वर्गलाई बिमाको दायरामा ल्याउन सहज भएको प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदी बताउँछन् । हाल नेपालमा १४ जीवन बिमा र तीन लघु जीवन बिमा कम्पनी छन् ।
फागुनसम्म सक्रिय जीवन बिमा पोलिसी संख्या एक करोड ४२ लाख ३८ हजार ६ सय ६४ छन् । त्यसमा लघुबिमा पोलिसीको संख्या भने ४० लाख ४६ हजार तीन सय ४९ वटा छ । कुल सक्रिय जीवन बिमा पोलिसीमा लघुबिमाको हिस्सा २८.४१ प्रतिशत देखिन्छ । हिस्साको आधारमा यसलाई नराम्रो भन्न नसकिने प्राधिकरणका अधिकारी बताउँछन् ।
तथ्यांकअनुसार दुई वर्षअघि मात्रै सञ्चालनमा आएका तीन जीवन लघुबिमा कम्पनीमा मात्रै करिब आठ लाख नागरिक आबद्ध भएका छन् । ०७९÷८० को अन्त्यतिरबाट गार्डियन माइक्रो लाइफ, क्रेस्ट माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स सञ्चालनमा आएका थिए । त्यसमा हालसम्म सात लाख ९० हजार चार सय १६ वटा लघुबिमा पोलिसी सक्रिय छन् ।
गार्डियन माइक्रो लाइफका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चिरायु भण्डारीले लघुबिमा कम्पनीमा नागरिकको आकर्षण बढ्दै गएको बताए । ‘लघुबिमा कम्पनीमा एग्रेसिभ आकर्षण नै त छैन । तर, लघुबिमा कम्पनीहरूमा सर्वसाधारणको आकर्षण बढ्दै गएको छ,’ उनले बताए ।तथ्यांकअनुसार गार्डियन माइक्रो लाइफमा पाँच लाख ४३ हजार नौ सय ७८, क्रेस्ट माइक्रो लाइफमा एक लाख ५१ हजार पाँच सय ३१ र लिबर्टी माइक्रो लाइफमा ९४ हजार नौ सय सातवटा लुघ बिमालेख सक्रिय छन् । छोटो समयमा यतिका संख्यामा बिमा पोलिसी बिक्री हुनु सन्तोषजनक भएको प्राधिकरणका अधिकारी बताउँछन् ।
ठुला कम्पनीमा ३२ लाख ५६ हजार लघुबिमा पोलिसी
ठुला जीवन बिमा कम्पनीमा भने ३२ लाख ५५ हजार नौ सय ३३ वटा लुघबिमा पोलिसी सक्रिय छन् । आइएमई लाइफ र राष्ट्रिय जीवन बिमा कम्पनीमा लघुबिमा पोलिसी छैनन् । अन्य १२ कम्पनीमा भने सोबराबरका लघुबिमा पोलिसी सक्रिय छन् । त्यसमा नेसनल लाइफले सबैभन्दा धेरै लघुबिमा पोलिसी बिक्री गरेको देखिन्छ । उक्त कम्पनीमा लघुबिमाको आठ लाख ९७ हजार तीन सय ८९ वटा पोलिसी सक्रिय छन् । यसैगरी, दोस्रो नम्बरमा रहेको सिटिजन लाइफमा सात लाख ५७ हजार ६ सय ३२ र तेस्रो नम्बरमा रहेको सानिमा रिलायन्समा चार लाख ९३ हजार चार सय ७५ वटा लघुबिमाका पोलिसी सक्रिय छन् ।
यसैगरी, नेपाल लाइफमा चार लाख १२ हजार दुई सय ४५, सूर्यज्योति लाइफमा तीन लाख ४८ हजार पाँच सय २६, मेट लाइफमा दुई लाख ३२ हजार ८६ र प्रभु महालक्ष्मी लाइफमा एक लाख दुई हजार नौ सय ५९ वटा लघुबिमा पोलिसी सक्रिय छन् । यसैगरी, सन नेपाल लाइफमा ५३ हजार ४५, रिलायबल लाइफमा २८ हजार ६९, एसियन लाइफमा २४ हजार २७, एलआइसी नेपालमा आठ हजार ४५ र हिमालयन लाइफमा एक सय ३५ वटा लघुबिमाका पोलिसी सक्रिय छन् ।
ठुला कम्पनीले लघुबिमा कारोबार गर्दा सानालाई चुनौती
ठुला कम्पनीले पनि लघुबिमाको कारोबार गर्दा लघुबिमा कम्पनीलाई भने व्यवसाय विस्तार गर्न चुनौती भएको देखिन्छ । लघुबिमा कम्पनीहरू स्थापना भएको दुई वर्ष मात्रै भएको छ । उनीहरूले पाँच लाख रुपैयाँसम्मको लघुबिमा मात्रै गर्न पाउँछन् । त्यस्तो लघुबिमा ठुला कम्पनीले पनि गर्दै आएका छन् । त्यसले गर्दा नयाँ लघुबिमा कम्पनीलाई व्यवसाय विस्तार गर्न चुनौती भइरहेको गार्डियन माइक्रोका सिइओ भण्डारी बताउँछन् । ‘ठुला बिमा कम्पनीहरू पहिलादेखि नै बजारमा स्थापित छन् । उनीहरूले पनि लघुबिमाको कारोबार गरिरहेछन् । त्यो अवस्थामा हामी नयाँ कम्पनीले लघुबिमा गर्ने सवालमा वर्षाैँदेखि स्थापित ठुला कम्पनीसँग प्रतिस्पर्धा गर्नुपरेको छ,’ उनले भने, ‘यसमा नियामक निकायले केही नीतिगत सहजीकरण गरिदिएमा सहज हुने थियो ।’
लघुबिमा कम्पनी स्थापना नहुँदा ठुला बिमा कम्पनीले नै यसको कारोबार गर्दै आएका थिए । लघुबिमा कम्पनीलाई प्रवद्र्धन गर्न केही समयका लागि ठूला कम्पनीलाई यस्तो कारोबारमा रोक लगाउनुपर्ने सरोकारवाला बताउँछन् । ‘केही समय ठुला बिमा कम्पनीलाई लघुबिमा कारोबार गर्न नदिए हुन्थ्यो । त्यसले हामीजस्ता लघुबिमा कम्पनीलाई बजारमा स्थापित हुन सहज हुने थियो,’ एक माइक्रो इन्स्योरेन्सका सिइओले भने, ‘लघुबिमा कम्पनी स्थापित भइसकेपछि खुला छाड्दा पनि भयो ।’
४४.१७ प्रतिशत जनतामा बिमा पहुँच
प्राधिकरणको तथ्यांकअनुसार फागुन मसान्तसम्म बिमाको पहुँच ४४.१७ प्रतिशत पुगेको छ, जुन पछिल्लो समय बढ्दै आएको देखिन्छ । असार ८० सम्म ४४.३८ प्रतिशत नागरिक बिमाको पहुँचमा थिए । तर, त्यसपछि त्यो घट्दै आएको थियो । असार ०८१ सम्म आउँदा त्यो ४३.२७ प्रतिशतमा सीमित भएको थियो । त्यसयता भने बिमा पहुँच निरन्तर बढ्दै आएको छ । यद्यपि, यसको उच्चतम विन्दु ४४.३८ प्रतिशतसम्म भने पुगिसकेको छैन ।
गार्डियन माइक्रो लाइफका सिइओ चिरायु भण्डारी भन्छन्– ठुला बिमा कम्पनीहरू पहिलादेखि नै बजारमा स्थापित छन् । उनीहरूले पनि लघुबिमाको कारोबार गरिरहेछन् । त्यो अवस्थामा नयाँ कम्पनीले लघुबिमा गर्ने सवालमा वर्षाैँदेखि स्थापित ठुला कम्पनीसँग प्रतिस्पर्धा गर्नुपरेको छ । यसमा नियामक निकायले केही नीतिगत सहजीकरण गरिदिएमा सहज हुने थियो ।