पूर्वराजा ज्ञानेन्द्र शाहलाई महानगरको सात लाख ९३ हजार जरिवाना

आन्दोलनकारीले गरेको फोहोर उठायो महानगरले

आइतबार, १६ चैत, २०८१
डिजिटल संस्करण
पूर्वराजा ज्ञानेन्द्र शाहलाई महानगरको सात लाख ९३ हजार जरिवाना

राजावादी समूहले तोडफोड र आगजनी गरी थुप्रिएको फोहोर शनिबार सफा गर्दै काठमाडौं महानगरका कर्मचारी । तस्बिर : अमुल थापा/नयाँ पत्रिका

काठमाडौं महानगरपालिकाले शुक्रबार राजावादीले गरेको हिंसात्मक आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई मुख्य जिम्मेवार देखाउँदै तीनकुनेलगायत क्षेत्रका सडकपेटीमा गरेको फोहोर तथा रुख, बिरुवा र रेलिङ तोडफोडको जरिवाना उनैको नाममा गरेको छ । महानगरपालिकाले विभिन्न शीर्षकमा शाहको नाममा सात लाख ९३ हजार जरिवाना तोकेर पत्र काटेको हो । 

क्षति र घटनाका आधारमा विभिन्न आठ कसुरमा जरिवाना तिराएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए । महानगरले जरिवाना तोकिएको बिल इमेलमार्फत् शनिबारै निर्मलनिवासमा पठाएको र आइतबार कार्यालय खुलेपछि कागजातसहित महानगरको टोली जानकारी गराउन निर्मलनिवास जाने जनाएको छ ।

‘आन्दोलनमा महानगरका विभिन्न स्थानमा भौतिक क्षतिका घटना भएका छन् । निर्मल निवासलाई हामीले विभिन्न आठ शीर्षकमा जरिवाना तोकेका छौं,’ मेयर बालेन्द्र शाहका स्वकीय सचिव भुपदेव शाहले भने, ‘यसबारे निर्मल निवासमा आइतबार प्रत्यक्ष रुपमै पुगेर जरिवानाबारे जानकारी गराउँछौं, पत्र दिन्छौं ।’

महादेवस्थानको सडक तथा सडकपेटीमा फोहोर गरेकोमा एक लाख, कोटेश्वरको सडक तथा सडकपेटीमा फोहोर गरेकोमा एक लाख, तीनकुनेको सडक तथा सडकपेटीमा फोहोर गरेकोमा एक लाख, जडीबुटीको सडक तथा सडकपेटीमा फोहोर गरेकोमा एक लाख, बालकुमारीको सडक तथा सडकपेटीमा फोहोर गरेकोमा एक लाख, सिनामंगलको सडक तथा सडकपेटीमा फोहोर गरेकोमा एक लाख, महानगरको दमकल तोडफोड गरेकोमा एक लाख ३० हजार र तीनकुनेमा रुख, बिरुवा र रेलिङ तथा आइल्यान्ड तोडफोडमा ६३ हजारको बिल महानगरले पूर्वराजाको नाममा काटेको छ । 

थप क्षतिको वास्तविकता पत्ता लगाउन महानगरपालिकाले अध्ययन टोलीसमेत खटाएको छ । टोलीले स्थलगत रूपमा अध्ययन गरेर घाटा र क्षतिको लेखाजोखा गरेपछि थप जरिवाना तिराउनेसमेत बताइएको छ । पत्रकार सुरेश रजक र कीर्तिपुरका युवा सविन महर्जनको ज्यान जाने गरी भएको हिंसात्मक आन्दोलनमा घरमा लगाइएको आगो निभाउन पुगेको महानगरका दमकल नै तोडफोड गरिएको थियो । सडकका ट्राफिक बत्ती र सिसिक्यामेरा फुटाउनेदेखि फुटपाथका टायल, रेलिङ र बोटबिरुवा तोडफोड गरिएको थियो ।

महानगरले यसअघि भएका राजनीतिक प्रदर्शन तथा आन्दोलनमा फोहोर गरेको र बोटबिरुवामा क्षति पु¥याएकोमा एमाले, राप्रपालगायत पार्टीलाई समेत १÷१ लाख जरिवाना तिराएको थियो । आन्दोलनकारीले फोहोर गराएको सडक महानगरले नै सफा गरेको छ ।

सुझावित समाचार