प्रमुख दलहरूले भने– ताण्डवको मुख्य जिम्मेवार ज्ञानेन्द्र

आइतबार, १६ चैत, २०८१
डिजिटल संस्करण

प्रमुख दलहरूले काठमाडौंमा शुक्रबार भएको ताण्डवमा राजनीतिक र कानुनी रूपमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जिम्मेवार ठहराउँदै उनको सुविधा कटौटीसहित थप कारबाही र प्रतिबन्ध लगाउनुपर्नेमा जोड दिएका छन् । राजवादीहरूले ज्ञानेन्द्रकै परामर्श र समर्थनमा आन्दोलन परिचालन समिति बनाएकाले पनि घटनाको जिम्मेवारी उनकै हुने दलहरूको तर्क छ । अर्कोतर्फ सरकारले उनका सुरक्षामा खटिएको टोली हेरफेर गर्दै थप कारबाहीको सम्भावना संकेत गरेको छ । यसबाहेक नागरिकस्तरबाट ज्ञानेन्द्रलाई पक्राउ गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा अभियान नै चलाइएको छ । समर्थक दलहरू भने ज्ञानेन्द्रको प्रतिरक्षामा उत्रँदै घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।

 कांग्रेसको निष्कर्ष :  तीनकुने घटना प्रतिगमनकारी, अराजक र आपराधिक, पूर्वराजा ज्ञानेन्द्र घटनाका मुख्य जिम्मेवार संसद्को पहिलो दल कांग्रेसले शुक्रबार तीनकुने घटना प्रतिगमनकारी, अराजक र आपराधिक भएको ठहर यसमा पूर्वराजा ज्ञानेन्द्र शाह जिम्मेवार रहेको ठहर गरेको छ । शनिबार साँझ कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरूको बैठकले पूर्वराजा शाहको सरकारी सुविधा खोस्नुपर्ने निष्कर्षसमेत निकालेको छ ।

सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा गर्न बसेको बैठकमा गृहमन्त्री रमेश लेखकले एक घण्टा लामो ब्रिफिङ गरेका थिए । त्यसपछि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूको बैठक बोलाउने निर्णयसमेत कांग्रेसले लिएको छ । ‘पहिला गृहमन्त्रीले शुक्रबारको घटनाका सम्बन्धमा विस्तृतमा ब्रिफिङ गर्नुभयो । नेताहरूले धारणा राखिसकेपछि बैठकले शुक्रबारको घटनामा पूर्वराजा शाह जिम्मेवार रहेको ठहर गरेको छ,’ बैठकमा सहभागी कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नयाँ पत्रिकासँग भने ।

घटना प्रायोजित र संगठित भएको गृहमन्त्रीको भनाइ थियो । उनका अनुसार आइतबार साँझ सभापति देउवानिवास बुढानीलकण्ठमा सरकारमा रहेका र प्रतिपक्षमा रहेका गणतन्त्र पक्षधर सबै दलको बैठक बोलाउने निर्णय भएको छ । देउवा आइतबार गृहजिल्ला डडेल्धुरा पुगेर फर्केपछि साँझ बैठक बस्न लागेको छ । प्रधानमन्त्री केपी ओलीसँग देउवाले समन्वय गरेर बैठक राख्ने सहमति भएको छ । बैठकमा सभापति देउवाले शुक्रबार तीनकुनेमा भएको घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएका थिए । उनले घटनामा दोषी सबैलाई कानुनी कारबाही गर्नुपर्नेमा जोड दिएका थिए । 

बैठकमा पार्टी महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइराला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालगायतले बोलेका थिए । राजतन्त्र अन्त्यको समयमा गृहमन्त्री रहेका सिटौलाले ज्ञानेन्द्रलाई सरकारले तत्कालका लागि दिएको नागार्जुन दरबार खोस्नुपर्ने बताएका थिए । ‘मसँग राम्रै कुरा गरेर उनी बिदा भएका थिए । उनलाई सुरक्षा र नागार्जुननिवास बिदाइका लागि सरकारले दिएको हो । अब नागार्जुननिवास सरकारमातहत ल्याउनुपर्छ,’ सिटौलाले बैठकमा भने, ‘एयरपोर्टमा उनी आउँदा–जाँदा सुरक्षा अधिकारीहरू स्वागत/बिदाइमा जाने गर्नुहुँदैन । गणतन्त्र आइसकेपछि उनी नागरिक हुन् । कानुनबमोजिम सुविधा र दण्ड–सजाय दुवै हुनुपर्छ । उनका गतिविधिमा निगरानी राख्नुपर्छ ।’ 

कतिपय नेताले पूर्वराजा शाहलाई राज्यले दिएको सुविधा खोस्नुपर्ने र पासपोर्ट रद्द गर्नुपर्ने सुझाव दिएका थिए । शनिबार बिहान कांग्रेस नेता निधिनिवासमा बसेको पूर्वपदाधिकारीको अनौपचारिक बैठकमा पनि शुक्रबारको घटनामा पूर्वराजा दोषी र जिम्मेवार रहेको विषयमा छलफल भएको थियो । बैठकमा पूर्वउपसभापति एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, पार्टीका पूर्वउपसभापति विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री कृणप्रसाद सिटौला, डा. शशांक कोइराला सहभागी थिए । 

 देउवाले भने– तीनकुनेमा उपद्रो मच्चाउनेको नाइके ज्ञानेन्द्र 
कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार राजधानीको तीनकुनेमा उपद्रो मच्चाउनेको नाइके ज्ञानेन्द्र शाह रहेको आरोप लगाएका छन् । नेपाल लेखक संघको आठौँ महाधिवेशनको शनिबार लुम्बिनीमा उद्घाटन गर्दै सभापति देउवाले ज्ञानेन्द्रलाई सुध्रिन नसक्ने पात्रका रूपमा चित्रण गरे । ‘पूर्वराजा ज्ञानेन्द्रका नाममा हिजो जसरी हुलहुज्जत र अराजकता निम्त्याउने काम भयो, त्यसले ज्ञानेन्द्र अहिल्यै यस्तो गर्छन् भने राजा भएपछि के गर्लान् भन्ने स्पष्ट भइसकेको छ । ज्ञानेन्द्र कहिल्यै सुध्रिँदैनन्, उनी सुध्रिने मानिस नै होइनन् । उनी कहिल्यै राजा बन्ने स्वभावका पनि होइनन्,’ देउवाले भने । नेपाली जनता संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेकाले वर्तमान व्यवस्था कायम रहने बताए । कसैले चाहँदैमा अहिलेको व्यवस्था परिवर्तन नहुने भन्दै देउवाले हरेक नेपाली गणतन्त्रका पक्षमा एकजुट हुनुपर्नेमा जोड दिए । 

 अराजकता र लुटपाटका पछाडि ज्ञानेन्द्र शाह : प्रचण्ड 
त्यसैबीच, प्रमुख माओवादी अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार भएको अराजकता र लुटपाटका पछाडि ज्ञानेन्द्र शाह नै रहेको दाबी गरे । राजावादीले तोडफोड गरेको एकीकृत समाजवादीको केन्द्रीय कार्यालयको अनुगमनमा गएका प्रचण्डले ज्ञानेन्द्रलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे । 

‘सरकार र प्रहरीको राम्रो तयारी देखिएन । यहाँ आक्रमण भयो भनेर जानकारी गराएपछि पनि झन्डै ४०–४५ मिनेटसम्म सुरक्षाकर्मी नदेखिनु बडो विडम्बना भन्नुपर्ने हुन्छ । राजधानीको मुटुमा यस्तो तोडफोड र आपराधिक घटना हुँदा सेक्युरिटी टाइममा आउन नसक्नुको सरकारले गम्भीर समीक्षा गरोस् । र, आउने दिनका लागि पूर्ण तयारीमा जाओस्,’ प्रचण्डले भने, ‘यो ताण्डवका पछाडि ज्ञानेन्द्र शाह नै रहेको प्रस्ट भएको छ । ज्ञानेन्द्रको मानसिकता नै आपराधिक छ भन्ने इतिहासमा पनि देखिएको हो । अहिले पनि देखिएकै छ । त्यसैले यही नै समय हो, सरकारले कडा कदम चालोस् । अपराधी सबैलाई छानबिन गरेर कारबाहीको दायरामा ल्याओस् । र, ज्ञानेन्द्र शाहलाई पनि छाडा हुने छुट दिन सकिँदैन । नेपाली जनता त्यसका लागि तयार छैनन् । यसमा पनि सरकार गम्भीर बनोस् ।’

त्यस्तै, प्रचण्डले आत्मसमीक्षा गरेर अगाडि बढ्न गणतन्त्रवादी दलहरूलाई अपिल गरेका छन् । उनले सत्तामा रहेका दलहरूलाई आफ्नो व्यवहारमा समीक्षा गर्न अपिल गरेका छन् । प्रेस सेन्टर नेपालको महाधिवेशनलाई शनिबार राजधानीमा सम्बोधन गर्दै प्रचण्डले गणतन्त्रको मूल्य र मान्यतालाई आत्मसात् गरेर विगतका कमजोरी, भ्रष्टाचारी र दलालहरूको पक्षमा उभिने, बिचौलियाको इच्छाअनुसार चल्ने काम बन्द गरे गणतन्त्रवादीहरूको एकता सम्भव हुने बताए ।
‘आउनुस् सबै बसेर आत्मसमीक्षा गरौँ, संविधान कार्यान्वयनमा कहाँ त्रुटि भयो हेरौँ र सच्चिने संकल्प गरौँ । जनतातिर फर्किन तयार भए फेरि पनि सहकार्य हुन सक्छ,’ उनले भने, ‘विगतका कमजोरी, भ्रष्टाचारी र दलालहरूको पक्षमा उभिने र बिचौलियाको इच्छाअनुसार चल्ने काम बन्द गरे गणतन्त्रवादीहरूको एकता सम्भव छ ।’

एनले राजावादीहरू अराजकता र आपराधिक क्रियाकलाप गर्ने षड्यन्त्रको साथ आएको आरोप लगाए । राजावादीको अराजक समूहले दुईजनाको ज्यान लिनुका साथै थुप्रै घर, गाडी र पार्टी कार्यालय जलाएको बताए । प्रचण्डले समाजवादी मोर्चाले पचासौँ हजार जनता गणतन्त्रको पक्षमा उतारेका कारण राजावादीको अराजकता कम भएको दाबी गरे ।

त्यसैबीच, समाजवादी मोर्चाका नेताहरूले राजावादीले तोडफोड गरेको एकीकृत समाजवादीको केन्द्रीय कार्यालयको अनुगमन गरेका छन् । राजावादीको आन्दोलनका क्रममा अराजक समूहले एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै लुटपाट र आगजनी गरेको थियो ।अनुगमनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेसपा अध्यक्ष महिन्द्र राय यादवलगायत आलोकनगर पुगेका थिए । मोर्चाले एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, जिल्ला कार्यालय, विभिन्न सञ्चारमाध्यम र निजी सम्पत्ति तोडफोड र लुटपाटको भत्र्सना गरेको छ । 

 राजावादीमा आपराधिक चरित्र देखिएको छ, कानुनबमोजिम कारबाही हुन्छ
गृहमन्त्री रमेश लेखकले शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीले पूर्वयोजनाअनुसार आक्रमण गरेको र घटनामा संग्लनलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् । राजावादीले तोडफोड गरेका पार्टी कार्यालय र मिडिया हाउसको निरीक्षण गर्न गएका गृहमन्त्री लेखकले व्यवस्थाविरुद्धको उद्दण्डतामा सबै एकाकार भई प्रतिवाद गर्नुपर्नेमा जोड दिए ।

 ‘जुन तोडफोड र आगजनी भएका छन्, यसमा राजनीतिक दर्शन, आदर्श, सिद्धान्त, मान्यता र चेतनासँग टाढाटाढाको पनि साइनो छैन । आपराधिक घटना भएको छ । आततायी र अमानवीय ढंगले घटना गराइएका छन् । फलना–फलना ठाउँमा आक्रमण गर्ने भनेर घोषणा गरेर आक्रामण भएका छन्,’ उनले भने, ‘सञ्चारमाध्यममा आगजनी गर्ने, गणतन्त्रवादी नेताका घर र पार्टी कार्यालयमा छानीछानी आक्रमण गर्ने, निजी र सरकारी सम्पत्ति ध्वस्त गरेर जुन चरित्र प्रदर्शन भएको छ, त्यो आपराधिक चरित्र हो । त्यसमा कानुनबमोजिम कारबाही हुन्छ ।’

गृहमन्त्री लेखकले माओवादी र एकीकृत समाजवादीको पार्टी कार्यालयका साथै कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्टको कार्यालय, भाटभटेनी सुपरमार्केट र क्षतिग्रस्त घरको निरीक्षण गरेका हुन् । एकीकृत समाजवादीको पार्टी कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ‘तपाईंको आदेश प्रहरी प्रशासनले नमानेको हो भनी प्रश्न गरेका थिए । समयमै खबर गर्दा पनि प्रहरी नआएका कारण कार्यालयमा क्षति पुगेको नेपालले बताएका छन् ।शनिबार नै माओवादी पार्टी कार्यालयमा पुगेका गृहमन्त्री लेखकले व्यवस्थाविरुद्धको उद्दण्डतामा सबै एकाकार भई प्रतिवाद गर्नुपर्ने बताएका छन् । निरीक्षणका क्रममा लेखकले माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटासहितका नेतासँग संक्षिप्त कुराकानी गरेका थिए ।

 आयोग बनाउन माग
रास्वपा र जसपा नेपालले तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा भएको घटनाको छानबिनका लागि आयोग बनाउन एवं संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन् । शनिबार केन्द्रीय सचिवालयको भर्चुअल बैठकमार्फत रास्वपाले र विज्ञप्तिमार्फत जसपा नेपालले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । रास्वपा बैठकले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको हो । चैतमा केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक बोलाउने पनि निर्णय भएको रास्वपाले जनाएको छ । 

त्यस्तै, जसपा नेपालले पनि उच्चस्तरीय न्यायिक छानबिन तथा जाँचबुझ आयोग गठन गरेर घटनाको छानबिन गर्न माग गरेको छ । जसपा नेपालका प्रवक्ता मनीष सुमनले विज्ञप्ति जारी गरेर छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् । ‘काठमाडौंको कोटेश्वर, जडीबुटी, तीनकुनेलगायत स्थानमा भएको लुटपाट, तोडफोड, आगजनी, हिंसा र हत्याका सम्बन्धमा अधिकारसम्पन्न उच्चस्तरीय न्यायिक छानबिन तथा जाँचबुझ आयोग गठन गरी छानबिन तथा अनुसन्धान गरिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता घटनामा संलग्न दोषी वा जिम्मेवार व्यक्तिलाई कानुनबमोजिम दण्ड–सजाय दिलाउनुपर्छ ।’

कुनै पनि बहानामा हिंसात्मक गतिविधि 
स्वीकार गर्न नसकिने भन्दै जसपा नेपालले सरकार शान्ति सुरक्षा कायम गर्न, जनधनको सुरक्षा गर्न र हिंसात्मक गतिविधि रोक्न असफल र अक्षम साबित भएको बताएको छ । ‘गैरराजनीतिक एवं आपराधिक हिंस्रक क्रियाकलापको जनता समाजवादी पार्टी, नेपाल घोर निन्दा गर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकार शान्ति सुरक्षा कायम गर्न, जनधनको सुरक्षा गर्न र हिंसात्मक गतिविधि रोक्न असफल र अक्षम साबित भएको छ ।’

 पूर्वराजालाई राजनीतिक विवादमा नतान्न राप्रपाको आग्रह
शुक्रबार तीनकुने क्षेत्रमा भएको हिंसा, आगजनी र तोडफोडको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिक विवादमा तान्ने प्रयास नगर्न राप्रपाले आग्रह गरेको छ । गणतन्त्र पक्षधर दलहरूले घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा शाहकै हुनुपर्ने बताइरहँदा राप्रपाले भने उनलाई विवादमा तान्न नहुनेमा जोड दिएको हो । घटनामा मारिएका दुवैजनालाई सहिद घोषणा गर्न राप्रपाको माग छ । 

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजालाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिए । ‘तीनकुने क्षेत्रमा भएको हिंसा, आगजनी र तोडफोडको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिक विवादमा तान्ने प्रयास नगर्न आग्रह गर्छौँ,’ उनले भने, ‘न्यायिक छानबिन समिति गठन गरियोस् र हिंसा भड्काउन उद्यतलाई कारबाही होस् । उहाँ (ज्ञानेन्द्र शाह)लाई सरकारले पक्राउ गरेर देखाओस् न त, हामी चुनौती दिन्छौँ ।’ 

राप्रपा हिंसात्मक क्रियाकलापको विपक्षमा रहेको भन्दै उनले तीनकुने घटनामा सरकार र प्रधानमन्त्री केपी ओलीको संलग्नता रहेको आरोप लगाए । ‘बिहीबार प्रधानमन्त्रीले युवा संघका कार्यकर्तालाई आन्दोलनविरुद्ध जाइलाग्न निर्देशन दिनुभयो । भोलिपल्ट शान्तिपूर्ण कार्यक्रम भइरहेका वेला तीनकुनेमा सुनियोजित रूपमा टियर ग्यास प्रहार भयो,’ उनले भने, ‘सरकारले कार्यक्रम बिथोल्न चाहेको थियो भन्ने यी घटनाबाट स्पष्ट हुन्छ । प्रहरीलाई भड्काउनेलाई पक्राउ नगर्ने, तर शान्तिपूर्ण रूपमा आन्दोलनमा रहेकालाई पक्राउ गर्ने कार्यको विरोध गर्छौँ ।’ 

यस्तै, राप्रपाले नेताद्वय रवीन्द्र मिश्र र डा. धवलशमशेर राणा एवं अधिवक्ता स्वागत नेपाल संलग्न नभएको जिकिर गर्दै उनीहरूलाई २४ घण्टाभित्र रिहा गर्न माग गरेको छ । उनीहरूलाई रिहा नगरे आन्दोलन गर्ने राप्रपाको चेतावनी छ । पार्टी बैठकपछि राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘शान्तिपूर्ण प्रदर्शनमा सहभागी पार्टीका नेताहरूलाई पक्राउ गरेर फसाउने योजना सरकारले बनाएको छ । उनीहरूलाई २४ घण्टाभित्र विनासर्त रिहाइ गरियोस् । रिहाइ भएन भने देशैभरि विरोध प्रदर्शन गर्नेछौँ ।’ 

शनिबार राप्रपा अध्यक्ष लिङ्देन तथा पूर्वअध्यक्षद्वय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले काठमाडौं प्रहरी परिसर भद्रकालीमा रहेका नेतालाई भेटेका थिए । अपराह्न पार्टी कार्यालयमा बैठक बसेको थियो । राप्रपाले राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको नजरबन्द र समितिका कमान्डर तोकिएका दुर्गा प्रसाईंबारे भने बोलेको छैन । 

अध्यक्ष लिङ्देनले विवादास्पद मेडिकल व्यवसायी प्रसाईंलाई पक्राउ गर्नुपर्नेमा आफ्ना नेता पक्राउ भएको संकेत गर्दै घटनाको निष्पक्ष छानबिनमा दोषी भेटिए आफ्नै पार्टीका नेता–कार्यकर्तामाथि कारबाही गर्न आग्रह गरे । राप्रपाले २६ चैतमा जनप्रदर्शनसहित बागमती प्रदेशस्तरीय सभा आयोजना गर्दै छ । ७ वैशाखदेखि उपत्यकाकेन्द्रित आन्दोलन दैनिक रूपमा गर्ने राप्रपाको निर्णय छ । 

कांग्रेस बैठकमा गृहमन्त्रीको ब्रिफिङ 
‘अराजकता मच्चाएर सिंहदरबार र एयरपोर्ट कब्जा गर्ने राजावादीको दुस्साहस थियो, सबै गतिविधिको कारक पूर्वराजा ज्ञानेन्द्र हुन्’
पार्टी बैठकमा गृहमन्त्री रमेश लेखकले पूर्वराजावादीहरूले कुनै आकस्मिक वा स्वस्फूर्त नभई योजनाबद्ध रूपमा अराजकता मच्चाएको ब्रिफिङ गरेका छन् । ‘शुक्रबारका घटना प्रतिगमनकारी, अराजक र आपराधिक छन् । यो गतिविधिको कारक पूर्वराजा ज्ञानेन्द्र शाह नै हुन्, उनले सबै जिम्मा लिनुपर्छ,’ लेखकको भनाइ उद्धृत गर्दै एक नेताले भने । राजावादीहरूले तीनकुनेमा सुनियोजित रूपमा नै अराजकता मच्चाउने तयारी गरेको लेखकको भनाइ थियो । ‘नागरिक उड्डयन प्राधिकरण र एयरपोर्टमा आगो लगाउने, संसद् भवन र सिंहदरबार तोडफोड एवं आगजनी गर्नेसम्मको तयारी रहेछ,’ उनले भनेका थिए, ‘तीनकुने मञ्चबाटै उनीहरूले घोषणा गरेर यस्तो अराजक कृत्य गरेका रहेछन् । त्यो कुनै आकस्मिक वा स्वस्फूर्त थिएन । सम्पूर्ण रूपमा पूर्वनियोजित थियो ।’ गृहमन्त्री लेखकले ज्ञानेन्द्रले नै आन्दोलनको ढाँचा र नेतृत्व तय गरेको बताएका थिए । ‘निर्मलनिवासमा बैठक राखेर ज्ञानेन्द्रले नवराज सुवेदीलाई आन्दोलन समितिको संयोजक, दुर्गा प्रसाईंलाई कमान्डर र धवलशमशेर राणालाई परिचालन समितिको संयोजक बनाएका हुन् । त्यहीअनुसार शुक्रबार कार्यक्रम थियो,’ गृहमन्त्री लेखकले बैठकमा सुनाए, ‘प्रसाईंले रोयल टास्क फोर्स र पिपुल्स डिफेन्स फोर्स नामको अराजक झुन्ड तयार गरेको समेत सूचना छ ।’ प्रसाईंले प्रमुख जिल्ला अधिकारीलाई शान्तिपूर्ण आन्दोलन गर्ने प्रतिबद्धता जनाएर अनुमति लिएको, तर मञ्च हेर्दा भाषण गर्ने उद्देश्यले बनाएको नदेखिएको गृहमन्त्रीको भनाइ थियो । 

ज्ञानेन्द्रकै आह्वानमा आन्दोलन भएकाले उनले जिम्मा लिनुपर्छ
लोकराज बराल, विश्लेषक

पूर्वराजा ज्ञानेन्द्र शाह आफैँले आह्वान गरेकाले यसको जिम्मेवारी उनले लिनुपर्छ । उनी नेताकै रूपमा वक्तव्य, भाषण र भेटघाट गरिरहेका छन् । उनले आह्वान गरेकै कारण प्रदर्शन भएको हो । पूर्वराजा यति महत्वाकांक्षी भएर आए, ठाउँठाउँमा मिटिङ पनि गरे । दुर्गा प्रसाईंले पूर्वराजालाई भेटेर आएपछि आन्दोलनको कमान्डर उनैलाई तोकियो । पूर्वराजाकै कारण यी सबै घटना भएकाले उनले जिम्मा लिनुपर्छ । अर्को कुरा राजतन्त्र अहिले फर्किन सम्भव छैन । संसार कहाँ आइपुग्यो । नवराज सुवेदी र दुर्गा प्रसाईंहरूले भनेकै भरमा राजतन्त्र फर्किंदैन । उनीहरूले भनेर मात्र हुँदैन, जनताले मान्नुपर्छ ।

 ज्ञानेन्द्रका सुरक्षाकर्मी फेरिए
सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा 

खटाएको सशस्त्र प्रहरीको टोली नै हेरफेर गरेको छ । शुक्रबार राजावादीहरूले काठमाडौंमा मच्चाएको उपद्रोमा पूर्वराजा शाहलाई जिम्मेवार ठह¥याएका गृहमन्त्री रमेश लेखकले उनको सुरक्षा टोली शनिबार हेरफेर गरेका हुन् । स्रोतका अनुसार डिएसपी जगदीश हमालको टोलीको ठाउँमा गृहले प्रमोदप्रकाश पाठकको टोली खटाएको छ । तर, उनलाई दिइएको सुरक्षाकर्मीको संख्या भने यथावत् नै राखिएको छ ।

 प्रसाईं अझै फरार
तीनकुनेमा भिड अराजक बनाउन उत्प्रेरित गर्ने राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईं अझै पक्राउ परेका छैनन् । भिडलाई अराजक बनाएर उनी कार्यक्रमस्थलबाट सुटुक्क निस्किएका थिए । काठमाडौं परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले घटनामा १०५ जना पक्राउ परेको भए पनि प्रसाईं फरार रहेको बताए । ‘प्रसाईं अहिलेसम्म फरार छन् । उनको खोजी कार्य तीव्र पारिएको छ,’ उनले भने । 

सुझावित समाचार