प्रधानमन्त्री कपको फाइनल आज : पुलिसविरुद्ध बदला लिने आर्मीलाई अवसर

शनिबार, १६ चैत, २०८१
डिजिटल संस्करण

गत संस्करणको फाइनलमा पुलिससँग व्यहोरेको हारको बदला लिने तयारीमा आर्मी

आठौंँ संस्करणको प्रधानमन्त्री एकदिवसीय क्रिकेट (पिएम कप) प्रतियोगिताको उपाधिका लागि शनिबार दुई विभागीय टोलीबिच प्रतिस्पर्धा हुँदै छ । सिद्धार्थ क्रिकेट मैदानमा नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब फाइनलमा आमने–सामने हुन लागेको हो । पुलिस उपाधि रक्षा गर्ने योजनामा रहँदा आर्मी भने दोस्रोपटक च्याम्पियन दाउमा देखिन्छ । गत वर्ष फाइनलमा आर्मीलाई हराउँदै पुलिसले उपाधि हात पारेको थियो ।

पुलिसका दीपेन्द्रसिंह ऐरी र आर्मीका विनोद भण्डारीले कप्तानी गर्नेछन् । आर्मीले सन् २०२०/०२१ को संस्करण पहिलोपटक जितेको थियो । पुलिसले पहिलोपटक सन् २०१९ मा उपाधि हात पारेको थियो । प्रधानमन्त्री कपको सर्वाधिक विजेता नेपाल एपिएफ क्लब हो । एपिएफले तीनपटक उपाधिमाथि कब्जा जमाएको छ । आर्मीलाई हराउँदै पुलिसले एपिएफको रेकर्ड बराबरी गर्नेछ । आर्मीले फाइनल जित्दा पुलिसको रेकर्ड बराबरी गर्नेछ । 

भैरहवामा हुने उपाधि भिडन्तमा जोकोही विजेता भए पनि रेकर्ड बन्ने निश्चित छ । नेपाल क्रिकेट संघले मोफसलका विभिन्न तीन सहरमा प्रतियोगिता आयोजना गर्दा पुलिसले लगातार आठ खेल जित्दै सुरुमै फाइनल स्थान सुरक्षित गरेको थियो । लिगको अन्तिम खेलमा पुलिसमाथि सानदार जित निकाली आर्मीले अन्तिम दुई स्थान सुरक्षित गर्यो । पुलिस र आर्मीबिचको अन्तिम खेलको नतिजाको प्रतीक्षा एपिएफले गरेको थियो । आर्मी भारी अन्तरले पराजित हुँदा एपिएफले पुलिसविरुद्ध उपाधि भिडन्त पक्का गर्ने थियो । 

तर, आर्मीले एपिएफको चौथोपटक फाइनल खेल्ने योजना बिथोल्दै दोस्रोपटक अन्तिम दुई स्थान पक्का गर्यो । यद्यपि, आर्मीलाई फाइनल त्यति सहज हुनेछैन । उपाधि भिडन्तमा पुगिसक्दा पुलिसले आर्मीविरुद्धको खेलमा कमजोर प्रदर्शन गर्यो । फाइनलअघि शुक्रबार भैरहवामा आयोजित प्रिपोस्ट म्याचमा पुलिस र आर्मीका कप्तानहरूले उपाधि जित्ने दाबी गर्दै एक–आपसमा भिड्न तयार भएको जनाए ।

‘हामी पुनः एकपटक ट्रफी उचाल्न तयार छौँ,’ आर्मीका कप्तान भण्डारीले भने, ‘सबै खेलाडी फर्ममा छन् ।’ पुलिसका कप्तान ऐरीले खेलाडीहरूले फाइनलमा रणनीतिअनुसार खेल्ने बताए । ‘अघिल्लो खेलमा पराजित भए पनि उपाधि भिडन्तमा आर्मीलाई चुनौती दिन तयारी अवस्था हामी छौँ,’ ऐरीले भने । 

खेलाडी उत्साहित
क्यानले पछिल्लो समय महत्वपूर्ण राष्ट्रियस्तरका प्रतियोगिता केन्द्रमा नभएर मोफसलमा गरिरहेको छ । क्यानका संस्थापक अध्यक्ष जयकुमारनाथ शाहको स्मृतिमा आयोजित जय ट्रफी पनि यसपटक मोफसलमै भयो । यसैगरी, महिला राष्ट्रिय प्रधानमन्त्री कप सुदूरपश्चिममा भएको थियो । अब पुरुषतर्फको पिएम कप मोफसलका तीन सहरमा आयोजित भए । पुलिस र आर्मीका कप्तानले मोफसलमा प्रतियोगिता आयोजना हुँदा क्रिकेटमा खेलाडी उत्साहित भएको बताएका छन् । 

‘काठमाडौंबाहिर सबै खेल हुँदा क्रिकेटमा नयाँ उत्साह ल्याएको छ, विगतको भन्दा यसपटक भैरहवाको मैदानको पिच राम्रो रह्यो,’ भण्डारीले भने, ‘नियमित काठमाडौंमा खेल्दा र बाहिरका मैदानमा खेल्दा केही फरक परे पनि आर्मी प्रतिस्पर्धाका लागि तयारी छ ।’ पुलिसका कप्तान ऐरीले क्रिकेट विकेन्द्रीकृत भएर विकास भएकोमा खुसी देखाए । ‘जय ट्रफी भयो, पिएम कप यसपटक लुम्बिनी प्रदेशमा भयो,’ उनले भने, ‘यस्ता धेरै खेल बाहिर भएका छन्, क्रिकेटको विकास र विकेन्द्रीकृत भइरहेको छ ।’

सुझावित समाचार