चैत १० गते राति रामेछापको सदरमुकाम मन्थलीबाट सम्पर्कविहीन भएका छिमेकी सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका– ७ मझुवाका २६ वर्षीय शिवशरण विक पाँच दिनपछि मृत अवस्थामा भेटिएका छन् ।
विकको शव रामेछापको मन्थली नगरपालिका– ६ भलुवाजोरस्थित बोक्सेको भिरमा शुक्रबार बिहान फेला परेको हो । उनको शवसँगै उनले चलाउँदै आएको बा.२६प ६०५९ नम्बरका मोटरसाइकल समेत प्रहरीले फेला पारेको छ । उनी चैत १० गते राति आफ्नो फेसबुकमा एउटा मार्मिक स्टाटस लेखेर रामेछापको सदरमुकाम मन्थलीबाट सम्पर्कविहीन भएका थिए ।
उनी सम्पर्कविहीन भएको खबर उनका परिवारले खोजबिन गर्ने क्रममा फेला पार्न नसकेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले विकको खोजी गर्ने क्रममा चैत ११ गते मन्थली नगरपालिका– ६ भलुवाजोरस्थित बोक्सेको पहराको सडकछेउमा मोबाइल, पर्स, हेलमेटलगायतका सामग्रीहरु फेला पारे तापनि विक फेला परेका थिएनन् ।
हराएका विकको केही सामग्री फेला परे पनि उनलाई फेला पार्न नसकेपछि प्रहरीले उनको खोजतलास गर्दै आएकोमा उनको सामग्री भेटिएकै स्थानभन्दा मुनि ठुलो अक्करे भिरको खोल्सामा मोटरसाइकलसहित शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिए ।
विकको शव घटनास्थलबाट निकाली पोस्टमार्टमका लागि सदरमुकामस्थित मन्थली अस्पतालमा लगिएको छ । मृतक विकको कति कारणले मृत्यु भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।