संघीय राजधानी काठमाडौं उपत्यकामा आज हुने फरक–फरक दुई प्रदर्शनलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएको छ । काठमाडौंंका विभिन्न स्थानमा हुने जुलुस र सभास्थलको सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्यले जानकारी दिए। उपत्यकाका प्रमुख चोकहरूमा प्रहरीको बाक्लो तैनाथी छ भने भैपरी आउने परिस्थितिका लागि आवश्यक संख्यामा प्रहरी तम्तयार रहेको उनले बताए ।
उपत्यकामा आज समाजवादी मोर्चा नेपालले गणतन्त्रका पक्षमा काठमाडौं प्रदर्शनीमार्गमा खबरदारी सभा गर्दै छ । त्यसैगरी, राजतन्त्र पक्षधरले नयाँबानेश्वर तीनकुनेमा प्रदर्शन गर्दै छन् । दुवै प्रदर्शनअघि उपत्यकाका विभिन्न स्थानबाट सुरु भएर र्याली जुलुसहरू तोकिएका स्थानमा जम्मा हुने क्रम जारी छ । दुवै समूहको प्रदर्शनले दैनिकीमा अवरोध हुने ठानी सर्वसाधारण सचेत भएर गन्तव्यतर्फ हिँडिरहेका देखिन्छन् ।