पोखरामा पहिलोपटक अटो सो

शुक्रबार, १४ चैत, २०८१
डिजिटल संस्करण

दुईपांग्रे र चारपांग्रे गरी ३३ ब्रान्डका सवारीसाधन प्रदर्शनीमा

काठमाडौंबाहिरको पहिलो बृहत् अटो सो पोखरामा सुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुति र पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनको आयोजनामा ‘प्रथम नाडा प्रेजेन्ट्स वाडा अटो सो २०२५’ बिहीबार सुरु भएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अटो सोको उद्घाटन गरे । १७ चैतसम्म सञ्चालन हुने अटो सोमा दुईपांग्रे र चारपांग्रे गरी ३३ ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन् । 

पोखरा– १२ स्थित अमरसिंह चौरमा सुरु सोको गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका प्रवद्र्धक, पोखरा उद्योग वाणिज्य संघ, युनाइटेड क्लब पोखरा र अमरसिंह मावि सहयोगी संस्थाका रूपमा रहेका छन् । नवीनतम सवारीसाधनका मोडेल, आधुनिक प्रविधि तथा यस क्षेत्रका अन्य सेवाप्रदायकलाई एकै थलोमा प्रदर्शन गर्ने उद्देश्यसहित अटो सो गरिएको आयोजकले जनाएको छ । 

सोमा १९ ब्रान्डका चारपांग्रे, ६ ब्रान्डका लाइट कमर्सियल, सात ब्रान्डका दुईपांग्रे सवारीसाधनसँगै लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एसोसेरिज रहेका छन् । बैंक तथा वित्तीय संस्थाका २० वटा स्टलसमेत रहेका छन् । अटो सोमा विद्युतीय चारपांग्रेतर्फ बिवाइडी, एक्स्पेङ, काई, दीपल, हुन्डाई, टाटा, एमजी, स्काइवेल, रिडारा, सेरेस, ओमोडा, जेको, सिट्रोन, जिकर, नामी, किया, लिपमोटर रहेका छन् ।

आइसतर्फ टोयोटा, सुजुकी, किया, इसुजु, निशान, महिन्द्रा रहेका छन् । हुन्डाई, टाटा, कियाको इभीसँगै आइस गाडीहरू सोमा राखिएका छन् । दुईपांग्रेतर्फ एथर, टिभिएस, यामाहा, बजाज, ट्राइम्प, रोयलइन्फिल्डलगायतका ब्रान्ड रहेका छन् । कामा, न्यु गो नाउ, स्काइवर्थ, हाइगर र डङफेङलगायतका लाइट कमर्सियल गाडीसमेत रहेका वाडाका उपाध्यक्ष एवं सोका संयोजक निरन केसीले जानकारी दिए ।

आयोजक वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाले अटो सोमा स्थानीय एवं देशभरबाट डिलर, उत्पादक, विक्रेता एवं ग्राहकको भेलाले गण्डकी प्रदेशमा सवारीसाधन र सम्बन्धित सम्पूर्ण क्षेत्रको विकास, बजारीकरण र विस्तारका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । 

पोखरामा टाटाका नयाँ इभी सार्वजनिक
‘वाडा अटो सो–२०२५’ मा सिप्रदी ट्रेडिङले नयाँ इलेक्ट्रिक गाडी कर्भ इभी एसयुभी कुपे र नेक्सन के३ इभी सार्वजनिक गरेको छ । पोखरा महानगर प्रमुख धनराज आचार्य, सिप्रदीका सिइओ राजनबाबु श्रेष्ठ, सिओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापति, टाटा मोटर्स रिजनल कस्टमर केयर (दक्षिण एसिया) हेड रनधीरकुमार चौधरी र टाटा मोटर्स कन्ट्री म्यानेजर प्रसन्न रंगनाथनले संयुक्त रूपमा नयाँ इभी सार्वजनिक गरेका छन् । 

टाटा नेक्सन के३ इभीमा १९० मिमि ग्राउन्ड क्लियरेन्स, ६ एयरब्याग, ३६०–डिग्री क्यामरा, १२–इन्च टचस्क्रिनजस्ता विशेषता रहेका छन् । यसले नेपाली भौगोलिक अवस्थाअनुरूप सहज यात्रा दिने विश्वास गरिएको छ । यस गाडीको सुरुवाती मूल्य ४८.९९ लाख रुपैयाँ तोकिएको छ ।

कर्भ इभीमा ५५ किलोवाट आवरको ब्याट्री प्याक र ९८ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको छ । ५०० लिटरको बुटस्पेस र १८६ एमएमको ग्राउन्ड क्लियरेन्स भएकाले नेपाली बाटोमा सजिलै आरामदायी यात्रा गर्न सकिनेछ । जसको टप भेरियन्टको मूल्य ५६.९९ लाख रुपैयाँ रहेको छ ।
 

See More On

सुझावित समाचार