नेपाल र उज्वेकिस्तान एकै समूहमा

शुक्रबार, १४ चैत, २०८१
डिजिटल संस्करण

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एएफसी महिला एसियन कप २०२६ छनोट खेलमा बलियो उज्वेकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ । बिहीबार सार्वजनिक गरेको ‘ड्र’अनुसार नेपाल र उज्वेकिस्तान समूह ‘एफ’मा छन् । यस समूहमा नेपालले उज्वेकिस्तानबाहेक श्रीलंका र लाओससँग प्रतिस्पर्धा गर्नेछ । एएफसीका अनुसार समूह ‘एफ’का सबै खेल उज्वेकिस्तानमै हुनेछन् । छनोट खेल २३ जुनदेखि ५ जुलाईसम्म हुनेछ ।

नेपाली महिला टोलीले लगातार दोस्रोपटक महिला एसियन कप छनोट खेल्न लागेको हो । सन् २०२२ मा भारतमा भएको महिला एसियन कप छनोटमा नेपालले पहिलोपटक भाग लिएको थियो । त्यसवेला नेपालले फिलिपिन्स र हङकङविरुद्ध प्रतिस्पर्धा गरेको थियो । नेपालको समूहबाट फिलिपिन्स छनोट भयो । यसपटक एएफसीले छनोट खेल्ने एसियाका ३४ टोलीलाई विभिन्न पाँच पटमा विभाजन गरी ‘ड्र’ गरेको हो । 

उज्वेकिस्तान फिफा वरीयतामा ५०औँ स्थानमा छ । त्यसपछि नेपाल ९९औँ, लाओस १०७औँ र श्रीलंका १५८औँ स्थानमा छन् । नेपाल र उज्वेकिस्तानबिच तीनपटक प्रतिस्पर्धा भएको छ । नेपालले सबै खेल गुमाएको छ । सन् १९९९ मा महिला एसिया कपमा नेपालले पहिलोपटक उज्वेकिस्तानसँग खेलेको थियो । उज्वेकिस्तानले पहिलो भेटमै नेपालमाथि ६–१ को सानदार जित निकाल्यो । 

सन् २०१९ को नादेज्दा कपमा नेपाल र उज्वेकिस्तानबिच दुई खेल भए । समूह चरणमा उज्वेकिस्तानसँग २–० ले हारेको नेपाल फाइनलमा ३–२ ले पराजित भयो । समूह ‘एफ’मा नेपालको अर्को प्रतिद्वन्द्वी श्रीलंका हो । नेपालले श्रीलंकाविरुद्धको आठ अन्तर्राष्ट्रिय खेलमा जित निकालेको छ । नेपालको नयाँ प्रतिद्वन्द्वी लाओस हो । समूहमा विजेता एसियन कपमा छनोट हुनेछ । 

See More On

सुझावित समाचार