काठमाडौंको सुरक्षा व्यवस्था कडा : नेपाल प्रहरी र सशस्त्रबाट ४५ सय जनशक्ति परिचालन

प्रहरीको १४ सय दस्ता अलर्टमा, सिसि क्यामेरा र ड्रोनबाट सभाको निगरानी

शुक्रबार, १४ चैत, २०८१
डिजिटल संस्करण
काठमाडौंको सुरक्षा व्यवस्था कडा : नेपाल प्रहरी र सशस्त्रबाट ४५ सय जनशक्ति परिचालन

फाइल तस्बिर : जिल्ला प्रहरी परिसर काठमाडौं

समाजवादी मोर्चा र राजावादी पक्षले आज काठमाडौंका दुई छुट्टाछुट्टै स्थानमा शक्ति प्रदर्शन गर्दै छन् । माओवादी, एकीकृत समाजवादी, महेन्द्रराय यादव नेतृत्वको नेसपा र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चाको जनसभा प्रदर्शनीमार्गमा र पूर्वपञ्च नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले तीनकुनेमा सभा गर्दै छन् ।

दुई फरक विचार, पृष्ठभूमि र माग राख्ने पक्षले एकैदिन काठमाडौंलाई नै केन्द्र बनाएर प्रदर्शन गर्ने भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । 

समाजवादी मोर्चाले सभाका लागि भद्रकाली र पुरानो बसपार्कबिच राष्ट्रिय सभातर्फ प्रवेश गर्ने सडकको मुखमै मञ्च खडा गर्ने भनिएको छ । प्रदर्शनमा सहभागी हुनेलाई उत्तरतर्फ पुरानो बसपार्क हुँदै रत्नपार्कसम्म, पूर्वतर्फ राष्ट्रिय सभा अघिल्लोतर्फको सडक हुँदै पद्मोदय मोडसम्म र दक्षिणतर्फ भद्रकालीसम्म राख्ने योजना प्रहरीले बनाएको छ । 

त्यस्तै, राजसंस्था पक्षधरले सभाका लागि तीनकुनेमा मञ्च खडा गर्ने भनिएको छ । त्यहाँको सुरक्षा प्रबन्ध पनि सोहीअनुसार मिलाइएको छ ।  

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले सुरक्षाका सबै प्रबन्ध मिलाइएको बताए । ‘एउटा पक्षको भृकुटीमण्डपमा र अर्काे पक्षको तीनकुनेमा कार्यक्रम गर्न जिल्ला प्रशासनले स्थान तोकेको छ । दुुवै कार्यक्रम शान्तिपूर्ण होस् भन्ने पक्षमा प्रहरी छ,’ उनले भने । 

दुई पक्षलाई जम्काभेट हुन नदिने रणनीतिमा प्रहरी छ । एसपी बोहराका अनुसार दुवै पक्षको भेट हुन नदिन झन्डा र नाराका आधारमा प्रदर्शनकारीको पहिचान गरिनेछ र उनीहरूलाई फरक–फरक सडक प्रयोग गरी सभास्थलसम्म लैजान प्रहरीले भूमिका खेल्नेछ । ‘प्रदर्शनकारीलाई फरक–फरक सडक प्रयोग गराउन सुरक्षाकर्मीले सघाउनेछन् । यसका लागि ट्राफिक प्रहरीको सहयोग लिइएको छ । उनीहरूले प्रदर्शनकारी पहिचान गरी सोहीअनुसार सडकको डाइर्भसन खुलाउनेछन् । सम्भावित दुर्घटना रोक्न प्रहरीको अधिकतम प्रयास रहनेछ,’ उनले भने ।

दुवै सभालाई लक्षित गरी काठमाडौंमा मात्र नेपाल प्रहरी र सशस्त्रबाट ४५ सय सुरक्षाकर्मी खटिनेछन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौंमा प्रहरीको तीन हजार जनशक्ति परिचालन हुनेछ । सशस्त्र प्रहरीबाट पनि एक हजार पाँच सयको जनशक्ति परिचालन हुने भएको छ । प्रहरीले एक हजार चार सय दस्तालाई अलर्टमा राखेको छ । प्रहरीका अनुसार सिभिलमा पनि सुरक्षाकर्मी परिचालन हुनेछन् । उनीहरूले सूचना संकलन गर्नेछन् । त्यसबाहेक राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर पनि सभामा सहभागी हुनेछन् । दुवै सभाको निगरानी सिसिटिभी क्यामेरा र ड्रोनबाट हुनेछ । 

प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगको अपिल 
राष्ट्रिय मानव अधिकार आयोगले प्रदर्शनलाई शान्तिपूर्ण बनाउन दुवै पक्षलाई अपिल गरेको छ । ‘आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय–अन्तर्राष्ट्रिय कानुनमा उल्लेखित प्रावधानको पालनामा संवेदनशील हुँदै अरूको अधिकारमा बाधा पर्नेतर्फ सचेत रहन र आफ्ना प्रदर्शनका कार्यलाई शान्तिपूर्ण बनाउन आयोग प्रदर्शनरत पक्षलाई अपिल गर्दछ,’ आयोगका प्रवक्ता टीकाराम पोखरेलले बिहीबार विज्ञप्तिमा भनेका छन् । 

त्यस्तै, उत्पन्न परिस्थितिको आकलन गर्दै शान्तिसुरक्षाको व्यवस्था मिलाउन पनि आयोगले सरकार र सम्बद्ध सुरक्षा अधिकारीलाई आग्रह गरेको छ । प्रवक्ता पोखरेलका अनुसार आयोगले विभिन्न टोली बनाई मानव अधिकारको कोणबाट प्रदर्शनको अनुगमनसमेत गर्नेछ ।

आयोगले बिहीबार मात्र उपत्यकाको सुरक्षा व्यवस्थाका सम्बन्धमा काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग छलफल गरेको थियो । आयोगका अध्यक्ष तपबहादुर मगरले शान्तिसुरक्षालाई व्यवस्थित गर्न र शान्तिसुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य–मान्यतालाई आत्मसात् गर्न अपिल गरेका छन् । 
 

सुझावित समाचार