धनकुटाको चौबिसे गाउँपालिका– ४ बजथलामा डढेलोले रामबहादुर पाख्रिन र हिरेन्द्र निरौलाको घरगोठ जलेर नष्ट भएका छन्। वनमा लागेको डढेलो बस्तीमा पस्दा दुई घर जलेर नष्ट भएका हुन्।
देउराली सामुदायिक वनबाट लागेको डढेलो बस्तीमा पस्दा घर तथा गोठमा भएको अन्नपात, लत्ताकपडा र फर्निचर जलेर नष्ट भएको प्रहरीले बताएको छ। आगलागीबाट करिब सात लाख रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।
आगलागीपीडितलाई राहत वितरणको प्रक्रिया अगाडि बढाएको वडाध्यक्ष लोकेन्द्र मगरले बताए।
यसैबिच, जिल्लाको साँगुरीगढी गाउँपालिका– ५ स्थित तारेभिर सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ। धरान उपमहानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा डढेलो नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। उक्त डढेलोबाट भने कुनै मानवीय तथा चौपायामा क्षति नभएको प्रहरीले जनाएको छ।