‘एनआरएनए’को महाधिवेशन तोकिएकै मितिमा हुने

बिहिबार, १३ चैत, २०८१
डिजिटल संस्करण

गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक एवं संघका पूर्वअध्यक्ष डा. शेष घलेले संघको महाधिवेशन तोकिएकै मितिमा हुने बताएका छन् ।  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलद्वारा मंगलबार राजधानी लिस्बनमा आयोजित बृहत् अन्तर्क्रियामा संयोजक घलेले तीन महिनाअगावै महाधिवेशनको मिति घोषणा गरिएको उल्लेख गर्दै तोकिएकै मितिमा संघको महाधिवेशन हुने बताएका हुन् । घलेले भने, ‘तोकिएको मितिमा महाधिवेशन हुन्छ, कुनै पनि हालतमा मिति परिवर्तन हुँदैन ।’

उनले नयाँ संरचनासहितको नयाँ एनआरएनए बनाउने अभियानमा लाग्न सबै अभियन्ताहरूलाई आह्वान गरे। आगामी मे महिनामा काठमाडौंमा हुने महाधिवेशनमा सहभागी भई एकताको महाधिवेशनलाई सफल पार्न घलेले आग्रह गरे । पूर्वअध्यक्ष एवं उच्चस्तरीय समितिका सदस्य कुल आचार्यले सहमतिको पालना नगर्दा संस्थाको यो हविगत भएको बताए । उनले  सर्वोच्च अदालतको परमादेश पालना गर्नुको विकल्प नरहेको बताए । 

संघका पूर्वअध्यक्ष एवं उच्चस्तरीय समितिका अर्का सदस्य विनोद कुँवरले सर्वोच्चको फैसलालाई टेकेर तयार गरिएको कार्यविधिअनुरूप एकताको महाधिवेशन तयारी भइरहेको बताए । संघका अध्यक्ष राजेन्द्रकुमार शर्माले संघलाई एकताबद्ध बनाउने जिम्मेवारी सबै अभियन्ताहरूको काँधमा आएको उल्लेख गर्दै उक्त जिम्मेवारी मिलेर पूरा गर्नुपर्नेमा जोड दिए। 

सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले आगामी मे ३ देखि ५ मा काठमाडौंमा संंघको एकता महाधिवेशनको मिति तय गरिसकेको छ । 
 

See More On

सुझावित समाचार