सिराहाको नवराजपुर गाउँपालिका–१ की १७ वर्षीया बालिकाको सामूहिक बलात्कार र शंकास्पद मृत्युसम्बन्धी घटना दबाउन गाउँमै पञ्चायती बसेका वडासदस्यलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
सिराहा जिल्ला अदालतका मुख्य न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले मंगलबार पञ्चायतीमा बसेका वडासदस्य नथुनी साहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको स्रेस्तेदार निरज पोखरेलले जानकारी दिए। उनका अनुसार घटनामा संलग्न मुख्य आरोपी सांकेतिक नाम ०८१ लहान (ण) लाई नाबालक रहेकाले संरक्षकको जिम्मामा छोडिएको छ भने फरार रहेका दुईजनाको हकमा कानुनबमोजिम हुने गरी म्याद जारी भएको छ। संरक्षकको जिम्मा लगाइएका नाबालक र फरार रहेका दुईसहित तीनजनाविरुद्ध अपहरण तथा शरीर बन्धक, जबर्जस्ती करणी, जातीय छुवाछूत तथा भेद्भाव र आत्महत्या दुरुत्साहन मुद्दा दायर भएको थियो।
६ जनासँग जनही डेढ लाख धरौटी माग
गत २७ माघमा शौच गर्न घरबाट निस्किएकी रिंकु सदायलाई अपहरण गरी सामूहिक बलात्कार गरेको घटना दबाउन २९ माघमा गाउँमै पञ्चायती बसेर एक लाख ५१ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय सुनाइएपछि आरोपी पक्षको आग्रहबमोजिम ११ हजार रुपैयाँ छुट गरी एक लाख ४० हजार रुपैयाँ तिर्नुपर्नेबारेमा पुनः भोलिपल्टको पञ्चायतीमा पञ्चहरूबिच नै कुटाकुट भएको थियो। त्यही साँझ किशोरी आफ्नो घरको कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।
पञ्चायतीमा संलग्न स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, रामदेव सदा, कारी भन्ने करिया मुसहर, सांकेतिक नाम ०८१ लहान ण ३ र ०८१ लहान ण ११ गरी छ ६ जनाबाट जनही एक लाख ५० हजार धरौटी माग गरिएको स्रेस्तेदार पोखरेलले बताए। उनका अनुसार पञ्चायतीमा संलग्न रहेका रामविनोद मण्डल र कमलेशकुमार दासलाई भने साधारण तारेखमा छोडिएको छ। उनीहरूविरुद्ध जबर्जस्ती करणी मुद्दामा मिलापत्रको आरोप थियो। धरौटी माग गरिएकामध्ये पाँचजनाले धरौटी रकम बुझाएर साधारण तारेखमा रिहा भएको एकजनाले धरौटी रकम बुझाउन नसक्दा थुनामै रहेको उनले बताए।
जाहेरीमा नाम रहेका चार अझै फरार
त्यसअघि प्रहरीले २३ फागुनसम्म किटानी जाहेरीमा नाम रहेका तीन किशोरमध्ये एक र पाँचजना पञ्चमध्ये तीनजनासहित अन्य ६ गरी १० जनालाई पक्राउ गरी अदालतमा पेस गरेको थियो। पछिल्लोपटक वडासदस्यबाहेक दुईजना साधारण तारेखमा थुनामुक्त, मुख्य आरोपी किशोर संरक्षकको जिम्मा र ६ जनाबाट धरौटी माग गरिएको थियो। त्यसबाहेक अपहरण तथा जबरर्जस्ती करणीमा संलग्न दुई आरोपी किशोर पञ्चायतीमा बसेका दुईजनासहित चारजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
गत २७ माघ राति शौच गर्न घरबाहिर निस्केकी रिंकुलाई स्थानीय तीन किशोरले अपहरण गरी सामूहिक बलात्कार गरेको घटना गाउँमै दबाउन २९ र ३० माघमा दुईपटक जनप्रतिनिधिकै रोहबरमा पञ्चायती गरी पीडित परिवारलाई प्रहरीमा जान नदिएको सार्वजनिक भएको थियो।
१ फागुनमा एकजनाविरुद्ध प्रहरीले आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दर्ता गरेको थियो। त्यसको एक सातापछि ८ फागुनमा इलाका प्रहरी कार्यालय लहानमा मृतककी आमाले सामूहिक बलात्कारमा संलग्न तीनजना र पञ्चायत बसेका पाँचजना गरी आठजनाविरुद्ध कर्तव्य ज्यान, बलात्कार र अपहरण तथा शरीर बन्धक, पञ्चायतीद्वारा लेनदेन गरी मिलापत्र गर्न खोजेको कसुरमा पूरक जाहेरी दिएकी थिइन्।