महोत्तरीमा छाडा कुकुरको टोकाइका घटना बढेपछि स्थानीय तहहरूले कुकुरको स्थायी बन्ध्याकरण गर्दै रेबिजविरुद्धको खोप लगाई व्यवस्थापनको काम थालेका छन्।
कुकुरले टोक्ने, लखेट्नेजस्ता घटना बढेको र रेबिजको समेत जोखिम रहेपछि जेन गुडअल इन्स्टिच्युट अफ नेपाल (जेजिआई)को प्राविधिक सहयोगमा महोत्तरीका केही स्थानीय तहले यो तरिका अपनाएका हुन्। स्थायी बन्ध्याकरणले कुकुरको संख्या नियन्त्रण हुने र एक वर्षका लागि रेबिजको जोखिमसमेत नहुने भएपछि अभियान चलाएको बताइएको छ।
महोत्तरीमा ५ चैतदेखि सञ्चालनमा रहेको अभियानमार्फत हालसम्म बर्दीबास नगरपालिकामा दुई सय, औरही नगरपालिकामा २७० र जलेश्वर नगरपालिकामा १६७ छाडा कुकुरमा स्थायी बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाइएको छ।
जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले जलेश्वरमा कार्यक्रम प्रभावकारी रहेको बताए। नगरमा अनियन्त्रित कुकुरले सिर्जना गरेका समस्या बन्ध्याकरण र खोपपछि घट्ने उनको भनाइ छ।
जेन गुडअल नेपालका कार्यक्रम संयोजक वसन्त गौतमले विगत तीन वर्षदेखि महोत्तरीमा एक हजार तीन सय छाडा कुकुरको स्थायी बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइसकेको बताए। उनले यसपटक एक हजार सात सयदेखि एक हजार आठ सय छाडा कुकुरको बन्ध्याकरण र खोप लगाउने लक्ष्य रहेको जानकारी दिए।
यता जलेश्वर नगरपालिका– २ का वडाध्यक्ष बरुणकुमार दाहालले शिविर आयोजनाले छाडा कुकुरको संख्या नियन्त्रण भई विभिन्न जोखिमसमेत घट्ने आशा व्यक्त गरे। अभियानका क्रममा छाडा कुकुरमा देखिएका अन्य किसिमका रोग तथा चोटपटकको समेत उपचार गरिने जेजिआईका पशु चिकित्सक डा. विकास श्रेष्ठले बताए।