निरन्तरजसो घटिरहेको सेयर बजारमा बुधबार सुधार देखिएको छ। २६ सय विन्दुबाट तल झरेको नेप्से परिसूचक आज ३९.१३ अंक (१.५१ प्रतिशत)ले बढेर दुई हजार ६२१.८६ विन्दुमा उक्लिएको हो।
यसअघि मंगलबार नेप्से ५८ अंकले घटेको थियो। आज ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.३१ प्रतिशतले बढेको छ।
३१७ कम्पनीका ९१ लाख ४२ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा चार अर्ब २० करोड ४४ लाख आठ हजार रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो दिन पाँच अर्बभन्दा धेरैको सेयर कारोबार भएको थियो।
आज नेप्सेका १३ वटै समूहको सूचक पनि बढेको छ। जीवन बिमा र अन्य समूह दुई प्रतिशतभन्दा धेरैले वृद्धि हुँदा उत्पादन तथा प्रशोधन र म्युचल फन्ड एक प्रतिशतभन्दा कमले उकालो लागेका छन्। बाँकी नौ समूहमा एक प्रतिशतभन्दा धेरैको वृद्धि देखिएको छ।
बढेको बजारमा माउन्टेन हाइड्रो नेपाल, श्वेत गंगा हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यी कम्पनीको मूल्य पाँच प्रतिशतभन्दा धेरैले बढेका छन्। तर, उपकार लघुवित्त र नारायणी विकास बैंक क्रमशः सात र पाँच प्रतिशतभन्दा धेरैले घटेका छन्।