प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमण चैत १९ गतेदेखि

बुधबार, १२ चैत, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले यही चैत १९ गतेदेखि थाइल्यान्डको भ्रमण  गर्ने भएका छन् ।  थाइल्यान्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन उनी  त्यसतर्फ जाने कार्यक्रम तय भएको हो ।

यही चैत २२ गते बैंककमा बिमस्टेकको छैटौँ शिखर सम्मेलन सुरु हुँदै छ । प्रधानमन्त्री ओलीबाट थाइल्यान्डका समकक्षी फेथोङथान सिनावात (पैटोङटार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा थाइल्यान्डको औपचारिक भ्रमण हुन लागेको हो । शताब्दीयौँ पुरानो सभ्यता र सांस्कृतिक सम्बन्ध रहे पनि नेपालका सरकार प्रमुखबाट अहिलेसम्म दक्षिण पूर्वी एसियाली मुलुक थाइल्यान्डको औपचारिक भ्रमण भएको थिएन । सन् १९८३ मा थाइल्यान्डका तत्कालीन प्रधानमन्त्री प्रेम तिनसुलानोन्डाले नेपाल भ्रमण गरेका थिए । 

यही चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्यान्डको औपचारिक भ्रमण तथा बिस्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुने प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमणलाई नेपाल सरकार, मन्त्रिपरिषद्को यही चैत ११ गतेको बैठकले स्वीकृत गरिसकेको छ । मन्त्रिपरिषद्को निर्णयअगावै परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायले भ्रमणको तयारीका कामहरू प्रारम्भ गरेको थियो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव कृष्णप्रसाद ढकालले नेपाल र थाइल्यान्डबिच सांस्कृतिक गतिविधि तथा आर्थिक सम्बन्ध थप प्रगाढ बढाउन यस भ्रमणले योगदान गर्ने अपेक्षा गरिएको बताए । उनले बुद्ध धर्मलगायत अन्य सांस्कृतिक र व्यापारिक सम्बन्धले दुुई देशबिच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गरे । 

मन्त्रिपरिषद्को बैठकले नेपाल र थाइल्यान्डबिच हस्ताक्षर हुने ‘कल्चरल एग्रिमेन्ट विटविन द गभर्मेन्ट अफ नेपाल एन्ड द गभर्मेन्ट अफ किङडम अफ थाइल्यान्ड’ विषयको सम्झौता स्वीकृत गरेको छ । 
 

सुझावित समाचार