गाउँब्लक जग्गा अद्यावधिक गर्न मालपोतलाई विद्युतीय सामग्री सहयोग

बुधबार, १२ चैत, २०८१
डिजिटल संस्करण

सिराहाको लहान नगरपालिका क्षेत्रमा पर्ने गाउँब्लक जग्गासम्बन्धी काम अद्यावधिक गर्न मालपोत कार्यालय लहानलाई विद्युतीय सामग्री सहयोग उपलब्ध गराइएको छ । नगरपालिकाले मालपोतका शाखा अधिकृत अर्जुनकुमार मण्डललाई दुई–दुई थान कम्प्युटर र प्रिन्टरसहितको विद्युतीय सामग्री हस्तान्तरण  गरेको हो । गत माघको अन्तिम साता लहान नगर क्षेत्रमा पर्ने गाउँब्लक जग्गा फुकुवा माग गर्दै मालपोतमा धर्ना, प्रदर्शनलगायतका आन्दोलन भएको थियो । आन्दोलनपछि मालपोतले जग्गा फुकुवाका लागि अद्यावधिक गर्ने काम अगाडि बढाउने सहमति गरे पनि विद्युतीय उपकरण र जनशक्ति नभएको समस्या देखाएपछि नगरपालिकाले सामग्री सहयोग गरेको नगर प्रमुख महेशप्रसाद चौधरीले बताए । 

गाउँब्लक नगर संघर्ष समितिका संयोजक अरुण केसीले नगरको विद्युतीय उपकरण सहयोगले जग्गा फुकुवाका लागि मालपोतले काम गर्न सजिलो भएकाले आफूहरूको समस्या समाधान हुनेमा ढुक्क भएको बताए । उनका अनुसार विगतमा पनि पटक–पटक मालपोतलाई गाउँब्लक जग्गाको लालपुर्जा पाएका किसानले पनि हक हस्तान्तरण, बिक्री, बैंक वित्तीय संस्थामा राख्न सकिने गरी श्रेस्ता प्रयोगको पहल गरिदिन लिखित मौखिक आग्रह गर्दै आएको भए पनि मालपोतले उपकरण जनशक्तिको अभाव देखाउँदै आलटाल गर्दै आएको थियो । लहान मालपोतले नापी कार्यालयबाट प्राप्त भएको श्रेस्ता आफूहरूको कम्प्युटरमा प्रविष्टी गर्न नपाउँदा समस्या भएको बताउँदै आएको थियो । 

साबिक १६ गाविसमा लालपुर्जा वितरण
आफ्नो कार्यक्षेत्रमा पर्ने साबिकका ४८ गाविसमध्ये तरेगना गोविन्दपुर, विष्णुपुरकट्टी, अयोध्यानगर, भगवानपुर, पोखरभिण्डा र सखुवानन्कारकट्टी गरी ६ वटा गाविसको फिल्डबुक तयार गरी हकदाबीका लागि सूचना जारी भइसकेको गाउँब्लक जग्गा लहान नापीले जनाएको छ । नापी टोली प्रमुख सजनप्रसाद साहका अनुसार नापीले काम गर्दै आएको गाविसहरूमा आ.व. ०७२/७३ देखि नै जोतभोगको आधारमा गाउँब्लक जग्गाको नापी भइसकेको छ । त्यही नापीको आधारमा जग्गा नापजाँच ऐन २०१९ ले गरेको व्यवस्थाअनुसार आवश्यक प्रक्रिया पूरा गरी साबिकका १६ गाविस क्षेत्रका गाउँब्लकको जग्गाधनी दर्ता प्रमाणपुर्जा बाँडिएको उनले बताए ।    

उनका अनुसार सिंगराही, मटियर्वा, लहानगोठ, पडरिया, बस्तीपुर, सिसवनी, ढोढना, हनुमाननगर प्र.ध., मोहनपुर कमलपुर, चैनपुर नैनपुर, फुलकहाकट्टी, सोनमती मझौरा, भवानीपुर प्र.ध., भदैया, ब्राह्मण गोर्छाडीमा गाउँब्लक जग्गाको लालपुर्जा बाँडिएको छ भने २६ गाविसमा नापीबाहेकको काम गर्न बाँकी रहेको छ। 
 

सुझावित समाचार