नेपाली सेनाको गोरख बक्स गणले अछामको मेल्लेख गाउँपालिकामा विपतजन्य पूर्वाभ्यास गरेको छ । गोरख बक्स गण मंगलसेन ब्यारेकका गणपति प्रमुख सेनानी संगम अधिकारीका अनुसार मंगलबार नेपाली सेनाका ४५ जनाभन्दा बढीको दक्ष समूहले भूकम्प र आगलागीका वेला बच्ने उपाय, घाइतेको उद्धार, प्राथमिक उपचार र राहतबारे मेल्लेखको विन्ध्यवासिनीमा आयोजित कृत्रिम घटना अभ्यासमार्फत स्थानीय सर्वसाधारणलाई सचेतना दिने कार्य गरेको छ ।
जसमा डोरीको माध्यमबाट भिरपहरा र मनसुनका वेला खोलामा हुने घटनाका घाइतेको उद्धारको अभ्यास पनि देखाइएको गणपति अधिकारीले बताए । उनका अनुसार सेनानी अमृत खड्काको कमान्डमा तीन दिनसम्म प्रशिक्षण र कृत्रिम घटना अभ्यास गरिएको हो । जसमा कृत्रिम अभ्यासका लागि खर र बाँसबाट नमुना बस्ती निर्माण गरिएको थियो । जहाँ स्थानीय सुन्दरीको चिया पसलबाट आगलागी भएको दृश्य देखाएको थियो भने भूकम्पले सो बस्तीको वैद्यनाथ आधारभूत विद्यालयसहित स्थानीयका घरमा क्षति गरेको र घाइतेलाई प्राथमिक उपचारपश्चात् एम्बुलेन्समार्फत अस्पताल लगिएको दृश्य देखाएर उद्धार र उपचारबारे पूर्वाभ्यास गरी स्थानीयलाई सचेत पारिएको थियो ।
जमदार सुवर्ण खड्काको संयोजनमा गरिएको कृत्रिम घटना अभ्यासमा हुद्दा भेषराज बोहरा, रामबहादुर विक र सुशान्त खिलिङ, अमल्दार प्रेम देवकोटा, सुरेन्द्र शाही, टेकबहादुर खड्का, नेत्रबहादुर मास्की, प्युठ सुमित शाही, नेत्र पराजुली, सुजन बरामु, सञ्जु खत्री, सरस्वती चन्द, निर्मला दुवाल र सिपाहीहरू साधना विष्ट, गीता राना, नन्दा वली र सूर्यबहादुर जोगी तथा स्थानीय अप्सराकुमारी बोहरासहित विद्यार्थीहरूले समेत अभिनयमार्फत घटना प्रस्तुत गरेका थिए ।
कृत्रिम घटना अभ्यास अवलोकनपश्चात् मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृपबहादुर खड्काले नेपाली सेनाले पहिलोपटक आफ्नो ठाउँमा पुगेर यस्तो सचेतनामूलक कार्यक्रममार्फत सर्वसाधारणलाई सचेत पारेको भन्दै खुसी व्यक्त गरे। उनले यसले विपतका वेला हुने घटनाले ठुलो रूप लिनबाट जोगाउने बताए । कृत्रिम घटनाका क्रममा देखाइएको आगो लाग्नेबित्तिकै कसरी निभाउने, भूकम्प आइहाले कसरी जोगिने, घाइतेको तत्काल उद्धार र प्राथमिक उपचार गर्ने विधिजस्ता उपायले सामान्य मानिसको जीवनमा समेत फाइदा हुने उपाध्यक्ष खड्काले बताए ।
यसप्रकारका अभ्यास नियमित गरिदिन उनले सेनालाई आग्रह गरे । मेल्लेख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मतबहादुर बुढाले सचेतनाका लागि देखाइएको यो घटना अभ्यासले विपतका वेला निकै ठुलो सुरक्षा गर्ने बताए । यस्ता कार्यका लागि गाउँपालिकासमेत प्रतिबद्ध रहेको भन्दै आगामी दिनमा पनि यसैगरी नागरिकलाई सचेत पार्ने कार्यमा सम्बद्ध निकायसँगको समन्वय थप मजबुत पारिने उल्लेख गरे ।