फ्रेन्चाइज कर्णाली याक्सले दोस्रो संस्करण सशक्त भएर आउने तथा टिम बिक्रीमा नभएको समर्थकहरूलाई प्रस्ट पारेको छ। नेपाल प्रिमियर लिग (एनपिएल) क्लब कर्णाली याक्सले बुधबार वक्तव्य जारी गर्दै गलत सूचनाको पछि नलाग्न अनुरोध गरेको छ।
‘भ्रमपूर्ण समाचारहरूबारे प्रतिक्रिया दिनु आवश्यक थिएन । तर, समर्थकहरूको साथमा नयाँ योजनासहित दोस्रो संस्करणमा अझ सशक्त रूपमा प्रस्तुत हुन लाग्दा नियोजित रूपमा फैलाइएको भ्रम चिर्नु क्लबको दायित्व ठान्दछौँ,’ क्लबमा मालिक गृहेन्द्र घिमिरेले भनेका छन्, ‘कर्णाली याक्सका सम्पूर्ण शुभचिन्तकहरूलाई यस्ता भ्रामक समाचारहरूको पछि नलाग्न अनुरोध गर्दछौँ ।’
मंगलबार सामाजिक सञ्जालमा कर्णाली याक्स बिक्रीमा रहेको तथा मालिक परिवर्तनको अफवाह फैलिएपछि कर्णाली याक्सले त्यस्ता सूचनाको खण्डन गरेको हो । कर्णाली याक्सले कर्णालीवासीको भावनासँग खेलिएको पनि जिकिर गरेको छ । उनले भनेका छन्, ‘हाम्रो टिमबारे विना कुनै आधार सार्वजनिक गरिएका यस्ता भ्रामक समाचारहरूले हाम्रो क्रिकेट प्रतिबद्धता, कर्णालीवासीको भावना र नेपाली क्रिकेटमा कर्णाली याक्सले एकै सिजनमा निर्माण गरेको पहिचानमाथि अन्याय गरेको अनुभूति भएको छ।’
एनपिएलको पहिलो संस्करण जनकपुरले जित्दा कर्णाली प्लेअफ खेलेको थियो । सोमपाल कामी मार्की रहेको टिममा पूर्वविश्वच्याम्पियन भारतीय चर्चित खेलाडी शिखर धवनसमेत खेलेका थिए । उनले भने, ‘पहिलो संस्करणमा हाम्रो परिणाम अपेक्षाभन्दा राम्रो रह्यो । समर्थकहरूको साथले दोस्रो संस्करणमा झन् बलियो रूपमा उपस्थित हुन प्रेरित गरेको छ । कर्णाली याक्सले एक प्रदेशको प्रतिनिधित्व गर्ने क्रममा भारतीय राष्ट्रिय टोलीका विश्वच्याम्पियन ओपनर शिखर धवनलाई अनुबन्ध गर्दै केवल नेपाली क्रिकेटमा मात्र योगदान गरेन, देशको खेल पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण प्रभाव पार्यो। धवनजस्ता खेलाडीलाई नेपाल ल्याउनु हाम्रा लागि गर्वको विषय रह्यो ।’