प्लाई उद्योगमा लागेको आगो तीन दिनपछि नियन्त्रण

मंगलबार, ११ चैत, २०८१
डिजिटल संस्करण

दाङको घोराही उपमहानगरपालिका–९, खैरास्थित सांग्रिला प्लाई उद्योगमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा आएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जिसीका अनुसार मंगलबार दिउँसोदेखि आगो नियन्त्रणमा आएको हो। ‘प्लाईको कच्चा पदार्थबाट अलिअलि धुवाँ निस्के पनि आगो नियन्त्रणमा आइसकेको छ,’ उनले भने, ‘अब जोखिम छैन।’

आगो नियन्त्रणमा आइसकेकाले बाहिरी जिल्लाबाट आएका दमकल फिर्ता पठाइएको उनको भनाइ छ। उनका अनुसार बर्दियाको बाँसगढी नगरपालिका, बाँकेको कोहलपुर नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र रुपन्देहीको दमकललाई पठाइसकिएको छ। दाङको घोराही र तुलसीपुर उपमहानगरपालिका तथा लमही नगरपालिकाको दमकल भने अझै सोही स्थानमा छन्। 

आइतबार बिहान १ बजेतिर आगलागी सुरु भएको थियो। तर, लामो समयसम्म आगो नियन्त्रण हुन नसकेपछि चौतर्फी आलोचना भएको थियो। सोमबार बिहानसम्म पनि नियन्त्रणमा नआएपछि आलोचना अझै बढेको थियो। यसले ठुला आगलागीका घटना हुँदा समयमै नियन्त्रण गर्न समस्या हुने कुरालाई पुष्टि गरेको थियो। आगलागीबाट भएको क्षतिको विवरण अझै आएको छैन। करोडौँको क्षति भएको अनुगमन गरिएको छ। प्लाई उद्योगमा रहेका सबै मेसिन, कच्चापदार्थ जलेर नष्ट भएकाे छ। उक्त उद्योगमा पाँच सयभन्दा बढी कर्मचारीले काम गर्छन्।  

सुझावित समाचार