कुलमान बर्खास्तीबारे माओवादीले भन्यो–आयोग गठनको सहमतिसँग जोडेर दुष्प्रचार गरियो

मंगलबार, ११ चैत, २०८१
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङको बर्खास्तीको निर्णय बदनियतपूर्ण र आपत्तिजनक भएको भन्दै विरोध जनाएको छ।

बिचौलिया र दलालहरूको स्वार्थमा सरकारले कुलमानलाई हटाएको आरोप लगाउँदै माओवादीले विज्ञप्तिमार्फत भनेको छ, ‘यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास सिर्जना गर्ने उद्देश्यले गरिएको छ। यस प्रकारको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ।’

उक्त विषयलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी आयोग गठनको सहमतिसँग जोडेर प्रायोजित दुष्प्रचार भइरहेको माओवादीले प्रस्टीकरण दिएको छ।

यस्ता दुष्प्रचारबाट भ्रमित नहुन आग्रह गर्दै माओवादीले भनेको छ, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी आयोग गठन गर्ने सहमतिसँग जोडेर पार्टी अध्यक्षप्रति गरिएको दुष्प्रचारलाई हाम्रो पार्टी खारेज गर्दछ। आमनागरिकमा भ्रम सिर्जना गर्ने यस्ता दुष्प्रचार तत्काल बन्द गर्न हामी कडा चेतावनी दिन चाहन्छौँ।’

सुझावित समाचार