चालू आर्थिक वर्षको आठ महिनामा वीरगन्ज नाका भएर रु. एक खर्ब २२ अर्ब २० करोडबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टीतेल आयात भएको हो ।
गत आवको आठ महिनाका तुलनामा चालू आवको सोही अवधिमा रु. एक अर्ब ६७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । गत आवको आठ महिनामा रु. एक खर्ब २० अर्ब ५३ करोडको पेट्रोलियम पदार्थ आयात भएको थियो । वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालू आवमा पेट्रोलियम पदार्थको आयात र राजस्व बढेको बताए ।
‘अहिले पूर्वाधार निर्माणको समय भएकाले पनि पेट्रोलियम पदार्थको आयात बढेको देखिन्छ,’ उनले भने । कार्यालयका अनुसार, चालू आवको आठ महिनामा सबै खालका पेट्रोलियम पदार्थको आयातबाट रु. ५० अर्ब १३ करोड राजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा रु. ४४ अर्ब ८० करोड राजस्व संकलन भएको थियो ।
चालू आवको आठ महिनामा रु. ६१ अर्ब ४५ करोडबराबरको ६ लाख ८५ हजार ९९१ किलोलिटर डिजेल आयातबाट रु. २७ अर्ब ३१ करोड राजस्व संकलन भएको प्रमुख भन्सार प्रशासक लामिछानेले बताए । यस्तै, चालू आवको आठ महिनामा रु. २५ अर्ब ३० करोड मूल्यको दुई लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल आयात हुँदा रु. १६ अर्ब ४८ करोड राजस्व संकलन भएको छ ।
चालू आवको आठ महिनामा रु. २४ अर्ब पाँच करोड मूल्यबराबरको २१ करोड ४२ हजार ७८१ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । यसबाट रु. चार अर्ब ५० करोड राजस्व संकलन भएको छ । गत आवको आठ महिनामा भने रु. १९ अर्ब ५२ करोडको १८ करोड ६८ लाख १२ हजार एक सय २० किलोग्राम एलपिजी ग्यास आयात भएको थियो ।