गोर्खाली फिटनेसका उमेश राईले १७औँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । उनले उपाधि रक्षा गरेका हुन् । प्रतियोगिताको ओभरअलतर्फ उमेशले ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै च्याम्पियनसिप ट्रफी हात पारे । उनले १२ लाखसहित ११ किलोको ट्रफी चुमेका छन् । उपविजेता बनेका धिमालले ६ लाख र तेस्रो भएका दाङका माधव सुवेदीले तीन लाख जितेका छन् ।
धर्मश्री दुईपटक जित्ने रमेश तेस्रो खेलाडी हुन् । यसअघि नरेश महर्जन र सानु गुरुङले दुईपटक उपाधि जितेका थिए । नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्रीअन्तर्गत ८० केजीमाथिको तौल समूहमा पहिलो हुँदै उमेश ओभरअल राउन्डमा प्रवेश गरेका थिए । ६ तौल समूहमा भएको प्रतिस्पर्धाबाट प्रत्येक तौल समूहका विजेता खेलाडीले अन्तिम चरणमा उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् ।
चौथो भएका मसल्स एन्ड फिटनेसका असीमबाबु गुरुङले दुई लाख हात पारे । प्लाटिनियमका विनोद सुनुवारले पाँचौँ स्थानमा रहँदै एक लाख ८० हजार रुपैयाँ जिते । तौल समूहअन्तर्गत ६० केजीमा नर्भ द फिटनेस स्टेसनका सिद्धान्त जसरोटिया पहिलो भए । महिलामा भक्तपुर डिस्पिराडोकी तारा खाइजू पहिलो भइन् । उनले कम्प्लिट हेल्थ क्लबकी शान्ता पालिखेलाई निराश पार्दै उपाधि हात पारेकी हुन् ।