पूर्वसचिव सुरेश अधिकारीलाई ३ प्रश्न

सोमबार, १० चैत, २०८१
डिजिटल संस्करण

भ्रष्टाचार निवारण ऐनको संशोधन समग्रमा कस्तो लाग्यो ? 
भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई प्रभावकारी बनाउन कार्यक्षेत्र विस्तार गर्नु जरुरी थियो । यस्ता धेरै जरुरी विषयलाई सम्बोधन गर्नेगरी ऐनमा व्यवस्था गरिएको छ । समग्रमा हेर्दा यो राम्रो व्यवस्था हो । 

निर्णय नगरेर हानि पुर्याउने कर्मचारीलाई पनि भ्रष्टाचारमा अनुसन्धान गर्ने विषय कति उचित हो ?  
योचाहिँ अलि जटिल विषय हो । निर्णय नगर्ने कुराको प्रकृतिलाई कसरी हेर्ने भन्ने पाटो जटिल हुन्छ । यसको अनुसन्धान, अभियोजन र कसुर स्थापित गर्न कठिन हुन सक्छ । यो अभियोजनभन्दा पनि निगरानी गर्नुपर्ने विषय हो । साबिकको अनुचित कार्यसम्बन्धी विषय आउन सकेको भए यस्ता विषयलाई त्यताबाट नियन्त्रण गर्न सकिन्थ्यो ।

रंगेहात पक्राउको व्यवस्था किन ब्युँताइएको होला ? 
सानातिना घुसखोरी नियन्त्रणमा रंगेहात पक्राउको कारबाहीले काम गर्छ । नियमावलीमा टेकेर अख्तियारले गर्दै आएको आफ्नै रकमबाट रंगेहात पक्राउ गर्ने व्यवस्थालाई सर्वोच्चले खारेज गरिदिएको थियो । अहिले यसलाई ऐनमै व्यवस्था गरेर ल्याइएको छ । अख्तियारले रकम नै दिएर रंगेहात पक्राउ गर्ने खालका अभ्यास संसारमा अन्यत्र पनि देखिन्छ । र, यो जरुरी पनि थियो । यसलाई अन्यथा मान्नुपर्दैन ।

सुझावित समाचार