संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति कांग्रेसको प्रतिबद्धता

सरकारका कामप्रति असन्तुष्टि, जनताका आवश्यकता सम्बोधन र सुशासनको पक्षमा काम अहिलेको प्राथमिकता रहेको निष्कर्ष

सोमबार, १० चैत, २०८१
डिजिटल संस्करण

संसद्को सबैभन्दा ठुलो दल कांग्रेसले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीप्रति प्रतिबद्धता दोहोर्याउँदै संवैधानिक परिधिभित्रबाट समस्याको समाधान खोज्नुपर्ने निर्णय गरेको छ । राजतन्त्र पक्षधर शक्तिका गतिविधि बढेका वेला आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा पुनः प्रतिबद्धता जनाएको हो । गणतन्त्रका लागि कुनै मोर्चाबन्दी आवश्यक नरहेको स्पष्ट पार्दै कांग्रेसले जनताका आवश्यकता सम्बोधन र सुशासनको पक्षमा काम अहिलेको प्राथमिकता हुनुपर्नेमा पनि जोड दिएको छ । सरकारको प्रभावकारिता, जनताको असन्तुष्टि र राजावादी आन्दोलनलगायतका मुद्दामा छलफल गर्न कांग्रेसले यसै महिना केन्द्रीय कार्य समिति बैठक बोलाउने निर्णय लिएको छ । 

‘सार्वभौम नेपाली जनताले निर्वाचित जनप्रतिनिधिमार्फत स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा कांग्रेस पूर्ण प्रतिबद्ध छ,’ बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नयाँ पत्रिकासँग भने, ‘यही राजनीतिक प्रणालीबाट जनताको आवश्यकता सम्बोधन सम्भव छ र सम्बोधन गर्नुपर्छ भन्ने निर्णय गरेका छौँ । हामी गणतन्त्रका लागि कुनै पनि प्रकारको मोर्चाबन्दीका पक्षमा छैनौँ । सरकारले सुशासनमा ध्यान दिनुपर्नेमा बैठकको जोड छ ।’

पार्टी महामन्त्री गगनकुमार थापाद्वारा पेस भएको र बैठकले पारित गरेको राजनीतिक प्रस्तावमा लोकतान्त्रिक गणतन्त्रप्रति दृढता व्यक्त गरिएको छ । ‘नेपाली जनतामा निहीत सार्वभौमसत्ताको प्रयोग गर्दै जनताले चुनेका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागितामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भएको हो,’ प्रस्तावमा, ‘नेपाली कांग्रेस यो संविधान र यो संविधानमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रप्रति निरन्तर र पूर्ण प्रतिबद्ध रहेको र रहिरहने दृढता व्यक्त गर्दछ ।’ 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत भन्छन् – संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा कांग्रेस पूर्ण प्रतिबद्ध छ । यही राजनीतिक प्रणालीबाट जनताको आवश्यकता सम्बोधन सम्भव छ र सम्बोधन गर्नुपर्छ । 

कांग्रेस कार्यबाहक मुख्यसचिव डा. प्रदीप पराजुलीद्वारा जारी विज्ञप्तिमा अहिलेको संविधानबाटै जनताका अपेक्षा र आवश्यकता सम्बोधन गर्न सकिने उल्लेख छ । ‘संविधानको संरक्षण, संवद्र्धन र कार्यान्वयनमार्फत मुलुकलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त, सामाजिक विकृति र विसंगतिबाट मुक्त गराउँदै जनताको निरन्तर प्रगतिको अपेक्षा र आवश्यकता सम्बोधन गर्न सकिन्छ भन्नेमा नेपाली कांगेसको दृढ विश्वास छ,’ विज्ञप्तिमा छ, ‘यही विश्वासका साथ अघि बढ्नु नै आजको मुख्य राष्ट्रिय जिम्मेवारी ठान्दै कांग्रेस यसका निम्ति आवश्यक अग्रसरता लिने निर्णय गर्दछ ।’

बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेस गणतन्त्रको पक्षमा रहेको उल्लेख गर्दै यसबाट तलमाथि नहुने बताएका थिए । सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्रमा संवैधानिक राजा हुने हैसियत नभएको र उनलाई बोकेबापत राप्रपाले पनि भविष्यमा पछुताउनुपर्ने धारणा राखेको महतले बताए । बैठकमा कांग्रेस नेताहरू डा.शेखर कोइराला, फरमुल्लाह मन्सुर, जीवन परियार, महेन्द्र यादव, विलमेन्द्र निधि, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. महत, एनपी साउद, सुजाता कोइराला, डा. नारायण खड्का र ज्ञानेन्द्रबहादुर कार्कीले बोलेका थिए । 

नेता डा. कोइरालाले सरकारमा पार्टीको भूमिका र कार्यक्षमताबारे छलफल हुनुपर्ने बताए । ‘जनता सरकारको कारबाहीबाट असन्तुष्ट छन् । यसको कारण खोजौँ । सरकार र पार्टी दुवैको कार्यक्षमताबारे छलफल गरौँ,’ कोइरालालाई उद्धृत गर्दै एक नेताले भने । कतिपय नेताले निर्णय गरेर मात्रै वर्तमान परिस्थितिको असन्तुष्टि सम्बोधन नहुने बताएका थिए । ‘अहिलेको परिस्थिति सम्बोधन गर्न निर्णय गरेर मात्र पुग्दैन । हाम्रै कारण गणतन्त्र आएको हो । अहिले देखिएको असन्तुष्टि सम्बोधन गर्न सरकारलाई कार्यक्रम दिनुपर्छ भन्ने कुरा उठ्यो,’ कांग्रेस नेता निधिले नयाँ पत्रिकासँग भने, ‘पार्टीले पनि यही कुरालाई पुनः जोड दिएको छ ।’ 

नेता केसीले बैठकमा लिखित धारणा पेस गर्दै अहिले भ्रष्टाचार, कुशासन, आर्थिक अराजकता, विधिविहीनता र दण्डहीनताविरुद्ध जनआक्रोशमार्फत सडकमा कोलाहल पोखिएको भन्दै यसको समाधान भाषण र प्रतिक्रियाले मात्रै नहुने बताएका थिए । ‘सडकको कोलाहल भ्रष्टाचार, कुशासन, आर्थिक अराजकता, विधिविहीनता र दण्डहीनताको एकमुस्ट जनआक्रोश हो,’ उनले भने, ‘यो वर्तमान व्यवस्थाविरुद्ध भन्दा पनि अवस्थाविरुद्धको आवाज हो । आक्रोशित जनतालाई आकर्षित गर्न अब भाषण र प्रतिक्रियाले मात्र पुग्दैन । यी विकृतिको कठोरताका साथ अन्त्य गर्ने युद्धस्तरीय कार्यक्रमले मात्र सम्भव छ ।’ 

विदेशी नागरिकता लिएकालाई क्रियाशील सदस्यतामा बन्देज
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठकले विदेशी नागरिकता लिएका पूर्वनेपालीलाई विदेशस्थित पार्टीनिकट जनसम्पर्क समितिको नेतृत्व तहसम्म पुग्ने अवसर कायम राखेको छ । तर, पार्टीको क्रियाशील सदस्यतामा भने उनीहरूलाई कांग्रेसले बन्देज लगाएको छ । ‘नेपाली नागरिकले मात्रै पार्टीको क्रियाशील सदस्य हुन पाउने र नागरिकता नभएका मानिस क्रियाशील सदस्य नै बन्न नपाउने भएकाले महाधिवेशन प्रतिनिधि हुन पाउने कुरै भएन । यो नयाँ निर्णय हो,’ घिमिरेले भने । यसअघि कांग्रेसमा जनसम्पर्क समितिका अध्यक्ष महाधिवेशन प्रतिनिधि स्वतः हुने व्यवस्था थियो । विगतमा विदेशी नागरिकले लिएको क्रियाशील सदस्यता अब जनसम्पर्क समितिका सदस्यमा बदलिने कांग्रेसको निर्णय छ । चैत मसान्तभित्र कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गरिसक्ने र त्यसपछि नयाँ सदस्यता वितरण गर्ने पनि निर्णय गरेको छ । सभापति देउवाले तोकिएको समयमा महाधिवेशन हुने बताए । महाधिवेशनको कार्यक्रम तय गर्नुपर्ने कांग्रेस नेता अर्जुननरसिंह केसीको प्रस्तावको जवाफमा देउवाले भने, ‘मैले भनिसकेँ, महाधिवेशन समयमै हुन्छ ।’ 

ज्ञानेन्द्रबारे देउवाको टिप्पणी यिनमा संवैधानिक राजा हुने चरित्र छैन, जसले बोक्छ उसले दुःख पाउँछ
ज्ञानेन्द्र संवैधानिक राजा हुनै सक्दैनन् । यिनमा संवैधानिक राजा बन्ने चरित्र नै छैन । मैले यिनलाई सबै कुरा गर्दागर्दै मलाई नै थुनेर जेलमा हाले । त्यसकारण यी संवैधानिक राजा बन्नेवाला छैनन् । त्यसैले उनलाई बोक्ने राप्रपा पनि पछि पछुताउँछ । राप्रपाले बरु उनलाई पार्टी सभापति बनाए हुन्छ । राजनीति नै गर्नु छ भने उनी आफैँ पार्टी खोलेर सभापति भए भैगो । तर, उनको पार्टीमा लाग्नेहरूले चाहिँ दुःख पाउँछन् ।

सुझावित समाचार